भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका तथा नेपालबाट भारततिर अवैध रुपमा जान लागेको तस्करीका सामानहरु प्रहरीले बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।
रौतहट प्रहरीले आज मात्र करिब २५ लाख बराबरको सामान बरामद गरी भन्सार चलान गरेको हो। बरामद सामग्री सहित प्रहरीले तस्करीमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको छ।
रौतहटका विभिन्न प्रहरी युनिट तथा जिल्ला कार्यालय समेतको टोलीले विभिन्न स्थानबाट माछा, आलु, प्याज, सुजी, चिनी तथा कस्तुरी रक्सी बरामद गरेको हो। प्रहरीले एक पिकअप गाडी र तस्करीमा संलग्न सात मोटरसाइकल समेत नियन्त्रणमा लिई भन्सार चलान गरेको छ।
जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सामग्रीको मूल्य करिब २५ लाख दुई हजार पचास रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी दामोदर केसीले जानकारी दिए।
प्रकाशित: ४ आश्विन २०८० ०९:२५ बिहीबार