१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

बाल विवाहविरुद्ध बाल सम्मेलन

तस्बिर :ललित /नागरिक

कालिकोटको दुईवटा स्थानीय तहमा बाल विवाहविरुद्ध बाल सम्मेलन गरिएको छ। अब कसैले पनि सामाजिक अपराधका रूपमा रहेको बाल विवाह नगर्ने र नगराउने प्रतिबद्धतासहित तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकामा बाल सम्मेलन गरिएको हो।

‘नगरौं बिहेका कुरा, भएको छैन २० वर्ष पूरा’ भन्ने नाराका साथ तिलागुफा नगरपालिकाको गाल्जे बजारमा आयोजित सम्मेलनमा ११ वटै वडाका तीन सय बढी बालबालिका सहभागी भए भने एक साताअघि शुभकालिका गाउँपालिकामा आठवटै वडाबाट दुई सय बढी बालबालिका सहभागी भए। १० देखि १९ वर्ष उमेर समूहका बाल क्लबबाट प्रतिनिधिका रूपमा छनोट भएर आएका बालबालिकाले बाल विवाहले गर्ने असरबारे मन्तव्य, गीत, गजल, देउडामार्फत मात्र पोखेनन्, नगरका जनप्रतिनिधि, धार्मिक अगुवा, सामाजिक कार्यकर्ता, प्रहरीलगायतका सरोकारवालाको पनि ध्यानाकर्षण गराएका छन्।

बालबालिकाप्रति संवेदनशील भएकाले तिलागुफा नगरले बालबालिकालक्षित कार्यक्रममा जोड दिएको नगर प्रमुख शंकर उपाध्यायले बताए। ‘सधैं वयस्कले मात्र सम्मेलन गर्थे’, उनले भने, ‘यसपटक त बालबालिकाले आफूलाई परेको बाल विवाहको मुद्दामा सम्मेलन गरे।’ उनले तिलागुफा नगरपालिकाले बालबालिकाविरुद्ध हुनै सबैखाले हिंसा अन्त्य गर्न ३१ प्रतिशत बजेट बालबालिकाका क्षेत्रमा विनियोजन गरेको जानकारी दिए।

तिलागुफा नगरपालिकाको समन्वयमा सञ्चालित सहयात्रा परियोजनाको सहजीकरणले पाँच वर्षअघि ५२ प्रतिशत रहेको बाल विवाह हाल आठ प्रतिशतमा झरे पनि भएका बाल विवाहलाई शतप्रतिशत मान्दा अझै पनि ९० प्रतिशत बालबालिका आफैंले भागेर विवाह गर्ने चलन रहेको न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए। ‘बाल विवाह घट्दो अवस्थामा छ’, उनले भने, ‘तर भएका विवाह पनि बालबालिका आफैंले भागेर गर्ने अत्यधिक छ।’ उनले बालबालिकाले सानैमा विवाह गर्दा हुने असरबारे बुझेर लाग्ने प्रतिबद्धतासहित हस्ताक्षर गरेकाले नगरलाई बाल विवाह निषेधित क्षेत्र घोषणा गर्न सहज हुने सुनाए।

विद्यालय तहदेखि नै बृहत् यौनिकता शिक्षाबारे अध्यापन गराउन सके बाल विवाहले हुने हानिनोक्सानी घटाउन सकिने तर्क राख्दै बाल अधिकारकर्मी बाले विश्वकर्माले बाल विवाह घटाउन गुणस्तरीय शिक्षाको सुनिश्चितता सरोकारवालामा जागरण र बालबालिकामा जीवनोपयोगी सीपको खाँचो रहेको बताए।

यस्तै जिल्लाको शुभकालिका गाउँपालिकामा आयोजित बाल सम्मेलनले पनि बाल विवाह नगर्ने र नगराउने बाचासहित छोराछोरीको पढाइमा समान अवसर सिर्जना गरिनुपर्ने, बाल विवाह गर्नेलाई कानुनको दायरामा ल्याउनुपर्ने, साथी शिक्षा शिक्षकमा जोड दिने, विवाह भइसकेका दम्पतीले पनि उमेर नपुगी बच्चा नजन्माउने, सबै किशोरकिशोरीको घरमा पारिवारिक बैठक आयोजना गरी आफ्नो समस्या सुनाउने थलोका रूपमा अभिभावकसँग अन्तरक्रिया गर्ने प्रतिबद्धतासहित बालबालिका र सारेकारवालाले सामूहिक हस्ताक्षर गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख अमृता अधिकारीले बताइन्। उनले बालबालिकामाथि हुने हिंसा रोक्न चारवटा वडामा सेभ द चिल्ड्रेन र किर्डाकको सहयोगमा हिंसारहित अभिभावकत्वको १२ वटा कक्षा सञ्चालन गरिएको जानकारी दिइन्।

उमेर नपुगेर कसैले पनि विवाह नगर्ने वाचा गर्दै दुवै पालिकाको सम्मेलन सकिएको बाल अधिकारकर्मी प्रकाश शाहीले बताए। सम्मेलनमा बालबालिका, धामीझाँक्री, ज्योतिषी, पण्डित र जनप्रतिनिधिले सबै एकजुट भएर लाग्ने प्रतिबद्धता गरेका थिए।दुवै पालिकामा बाल विवाहविरुद्ध सक्रिय ३६ जना बाल अभियन्तालाई सम्मान गरिएको छ।

प्रकाशित: ४ आश्विन २०८० ०७:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App