१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

लिखित उत्तीर्ण हुन नसकेका पनि जिल्ला न्यायाधीश

लामो समयदेखि रिक्त रहेका जिल्ला न्यायाधीश पदमा न्यायपरिषद्को बैठकले नियुक्ति र सरुवा गर्ने निर्णय गरेको छ। जिल्ला न्यायाधीशका लागि लिइएको खुला परीक्षामा एकजना मात्रै उत्तीर्ण भएपछि बाँकी रिक्त पदमा नियुक्ति गर्ने न्याय परिषद्ले निर्णय गरेको हो।  

परिषद्को बैठकले न्याय सेवामा कार्यरत कुल ३६ जनालाई जिल्ला न्यायाधीश नियुक्ति गरेको हो। त्यसमध्ये दुईजना महिला रहेका छन्। प्रधानन्यायाधीश एवं न्यायपरिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले जिल्ला न्यायधीशहरूको नियुक्तिको सिफारिस गरेको हो।  

साथसाथै, परिषद्को बैठकले १८ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ। रिक्त रहेका जिल्ला न्यायाधीशमा ज्येष्ठता, योग्यता र कार्यक्षमताको आधारमा नियुक्ति गरेको परिषद्को दाबी छ। योग्यता, कार्य क्षमताको आधारमा सातजना न्यायाधीश नियुक्ति गरेको हो। नियुक्ति हुने न्यायाधीशमा सबै न्याय सेवामा कार्यरत उपसचिव रहेका छन्।

आन्तरिक खुला प्रतियोगिताबाट एकजना मात्रै उत्तीर्ण भएका पारसमणि पोखरेललाई मोरङ जिल्ला अदालतमा नियुक्ति गर्ने परिषद्ले निर्णय गरेको छ। जिल्ला न्यायाधीशमा खुला प्रतियोगितात्मक परीक्षाबाट पूर्ति हुन नसकेको पदमा पनि नियुक्ति गरिएको छ। गत साउन १६ देखि २० सम्म सञ्चालन भएको लिखित परीक्षामा संलग्न दुई सय ११ उम्मेदवारहरू मध्येबाट जम्मा एकजनाले उत्तीर्ण गरेका हुन्। सर्वोच्च अदालतका इजलास अधिकृतहरू, उच्च अदालतका रजिष्टार, जिल्ला अदालतका स्रेस्तेदारलाई जिल्ला न्यायाधीशमा नियुक्ति गरिएको छ। परीक्षामा उत्तीर्ण नसकेर रिक्त रहेका २८ पदमा जिल्ला न्यायाधीश नियुक्ति गरिएको हो। न्यायाधीश नियुक्ति गरिएकामध्ये खुला परीक्षामा भाग लिएका, नलिएका दुवै रहेको न्याय परिषद् सचिवालयले जनाएको छ।  

जिल्ला न्यायाधीशमा खानेपानी मन्त्रालयका कानुन अधिकृत वशिष्टकुमार घिमिरेलाई रूपन्देही जिल्ला अदालत, चितवनका जिल्ला न्यायाधिवक्ता योगनाथ ढकाललाई धनुषा जिल्ला अदालत, विशेष सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता शम्भु गौतमलाई सुनसरी जिल्ला अदालत, दिपायलयका उपन्यायाधिवक्ता राजेन्द्रसिंह भण्डारीलाई नवलपरासी जिल्ला अदालत स्याङजाका जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्मा कास्की जिल्ला अदालत, सर्वोच्च अदालतका इजलास अधिकृत ज्ञानेन्द्र इटेनीलाई सिराहा जिल्ला अदालत, सर्वोच्चकै इजलास अधिकृत कृतबहादुर बोहरालाई कपिलवस्तु जिल्ला अदालतमा न्यायाधीशमा नियुक्ति गरिएको छ।

त्यसैगरी, परीक्षाबाट उत्तीर्ण हुन नसकेका रिक्त पदमा न्याय सेवाका उपसचिवहरू सञ्जीव पोखरेल, इन्द्रबहादुर कठायत, शम्भुप्रसाद बराल, हिरण्यप्रसाद भण्डारी, रुद्रमणि गिरी, दुर्गाप्रसाद खनाल, उपेन्द्रकेशर खनाल, रेशराज शर्मा, लोकबहादुर हमाल, कोशलेश्वर ज्ञवाली,आनन्दराज पन्त, यदुराज शर्मा, उदविर नेपाली, नगेन्द्रकुमार कालाखेती, नगेन्द्रकेशरी पोखरेल, महेश खनाल, जुद्धबहादुर आलेमगर, मोना सिंह, नेत्रप्रसाद भुसाल, रामप्रसाद पौडेल, कुमार मास्के, दीपेन्द्र थापा मगर, रामाकान्त यादव, निलकण्ठ बराल, प्रदीपकुमार उपाध्याय, शिवकुमार पोखरेल, श्यामप्रसाद श्रेष्ठ, उषा श्रेष्ठलाई जिल्ला न्यायाधीशमा नियुक्ति गरिएको छ।

अझै २२ जना जिल्ला न्यायाधीश नियुक्ति हुन बाँकी छन् भने उच्च अदालतका लागि शुक्रबार २७ जना न्यायाधीश नियुक्त भएका छन्। तर अझै २७ जना न्यायाधीश रिक्त छन्।

प्रकाशित: ४ आश्विन २०८० ०५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App