१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

संविधान: जसले ल्याए, उनैले बाटो बिराए

संविधान दिवसमा राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय झन्डासहित बालिका । तस्बिर: राजीव खत्री/नागरिक

मध्यपुर थिमि नगरपालिकाका ९६ वर्षीय श्रीगोपाल प्रजापतिले राणाकालदेखि गणतन्त्रसम्मका धेरै उतारचढाव देखे । झन्डै डेढ दशक सक्रिय राजनीतिमा रहेर गाउँ पञ्चायतको प्रमुखसमेत बनेका प्रजापतिले प्रणालीमा परिवर्तन आए पनि प्रवृत्तिमा नआएको बताए । २००७ सालमा प्रजातन्त्र आउँदा खुसीले घरमा नेपालको झन्डा ठड्याएको सम्झना गर्दै प्रजापतिले त्यसपछि त्यति खुसीको क्षण कहिल्यै नआएको सुनाए । ‘दोष व्यवस्थाको भन्दा पनि प्रवृत्तिको रहेको पाएँ,’ चौथोपटकको जंकु (रथारोहण) को तयारीमा रहेका वृद्ध प्रजापतिले भने, ‘मुलुकमा अहिले देखिएको निराशाले त बरु पुरानै ठिक भन्ने पो झल्को दिएको छ ।’  

प्रजापतिको जस्तै धारणा छ, सिन्धुपाल्चोकका ८३ वर्षीय भरत सिंह देउजाको पनि । तर उनी पुरानो व्यवस्थाको पक्षधर भने होइनन् । राजा–महाराजको शासन देखेका उनी फेरि उनीहरूबाटै राम्रो होला भन्ने आशा भने नपालेको सुनाउँछन् । राणाकालको सबै कुरा नभोगे पञ्चायत गणतन्त्रका धेरै कुराको जानकार छन् उनी । पछिल्लो समय विकासका काम भएको तर सोचेजस्तो मुलुकले परिवर्तन नगरेको उनको बुझाइ छ । ‘सिन्धुपाल्चोक थाङपाल धापबाट राजधानी आउँदा तीन दिनको बाटो पनि तय गरेको छु,’ उनले भने, ‘अहिले दिनमा तीनपटक ओहोरदोहोर गर्न सकिन्छ ।’  

सर्वसाधारणले बाटो पाए पनि मुलुकले भने विकास र समृद्धिको बाटो नपाएको उनको भनाइ छ । ‘अब आशाको बाटो देखाउने काम गर्नुपर्छ,’ उनी सुझाउँछन्, ‘त्यसो भयो भने मात्र संविधान दिवस मनाउनुको अर्थ रहनेछ ।’ तर उनका मित्र ७५ वर्षीय घननाथ पौडेल त नेताहरूको लापरबाहीका कारण व्यवस्था बदनाम हुँदै गएकाले बरु पहिलेकै व्यवस्था ठिक भन्ने धारणा राख्छन् । ‘पहिला एउटा राजा थिए,’ उनी भन्छन्, ‘अहिले गाउँपिच्छे राजा आएका छन् ।’ जनतासँग मिठा कुरा गर्ने तर जनताको काम नगर्ने प्रवृत्तिले संविधानले सही बाटो लिन नसकेको उनी बताउँछन् । उति बेला पनि कोदारी, पृथ्वी, महेन्द्र राजमार्गलगायत बाटो बनेको प्रसंग उठाउँदै उनले पछिल्लो समयमा समृद्धिको नयाँ आधार तयार नभएको सुनाए ।  

उनले यसो भन्दै गर्दा काभ्रेका ८० वर्षीय गणेशप्रसाद बास्कोटा भने अझै पनि अहिलेका नेताबाटै आशावादी छन् । ‘देशमा प्रजातन्त्र र लोकतन्त्र ल्याउने अझै पनि ज्युँदै छन्,’ उनी भन्छन्, ‘यसलाई कसरी सही दिशामा लैजाने जिम्मेवारी अझै पनि उनीहरूमाथि नै छ । वर्षमा एक दिन संविधानको पूजा गर्नुभन्दा पनि संविधानले देखाएको बाटोमा मुलुकलाई हिँडाउनु सबैको दायित्व रहेको उनले बताए ।  

यस्तै धारणा राख्छन्, काठमाडौं नाङ्लेभारेका ६८ वर्षीय कृष्णप्रसाद ढकाल पनि । किसानी पेसामा रहेका ढकाल किसानको हकहितमा सरकार जिम्मेवार नरहेको सुनाउँछन् । असली किसानले पाउने सुविधा नेताका नजिक रहेका नक्कली किसानले पाउने गरेको सुनाउँदै उनले हरेक ठाउँमा आफन्तवादको लहरो रहेको सुनाए । ‘जबसम्म सबैलाई समान पहुँच हुदैन, तबसम्म संविधानको मर्म पालना गरेको मानिँदैन ।’ उनी भन्छन्, ‘जनताको मन जित्ने काम गरेको दिन नै साँचो अर्थमा संविधान दिवस हुनेछ ।’

प्रकाशित: ४ आश्विन २०८० ०५:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App