१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

रुपन्देहीमा मजदुरहरु बिच झडप हुँदा एकको मृत्यु

रुपन्देहीको तिलोत्तमामा मजदुरहरु बिच झडप हुँदा एक जनाको ज्यान गएको छ। तीन जना घाइते भएका छन्।

तिलोत्तमा नगरपालिका वडा नं. ९ केउलानीमा सोमबार राती भएको  झडपमा हेटौडा घर भई रुपन्देहीको मंगलापुर बस्ने सुरेश साङताङको मृत्यु भएको हो।

धारिलो हतियार प्रहार गरिएका साङताङलाई उपचारकालागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए। झडपका क्रममा मकवानपुरका राजु तामाङ, हस्तसिंह तामाङ र काठमाडौं उपमहानगर १ का विकास वाइवा गम्भीर घाइते भएका छन्। उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ।

सोमबार राती करिब साढे ८ बजेतिर केउलानी स्थित एसवि रेष्टुरेन्टमा नास्ता खाँदै गरेका मजुदरहरु बिच मदिरा सेवन पछि सुरु भएको भनाभनले झडपको रूप लिएको स्थानीयले बताएका छन्। मदिरा सेवन गरेका मजदुरहरु हतियार सहित झडपमा उत्रेको स्थानीयले बताएका हुन।

ठेकेदारको सम्पर्कबाट ती मजदुरहरु घर निर्माणको कामकालागि काठमाडौं, हेटौडा, नुवाकोट लगायतका जिल्लाबाट रुपन्देही आएको प्रहरीले जनाएको छ। घटना लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलबाट प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ। घटनाको मुख्य कारण मदिरा सेवन देखिए पनि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षण केसीले बताए।

प्रकाशित: ३ आश्विन २०८० ०८:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App