तीन दिन अघि सुनसरी इनरुवा वडा नं. १ की एक महिलाको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको छ।
इनरुवा वडा नं. १ की २४ वर्षीया निकिता चौधरीको रहस्यमय मृत्यु भएपछि उनका श्रीमान नरेन्द्र भगतलाई प्रहरीले पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको हो।
निकिताको शनिबार राति रहस्यमय ढंगले मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नवीनकृष्ण भण्डारीका अनुसार अहिलेसम्म घटनामा संलग्न भएको आरोपमा नरेन्द्र मात्र पक्राउ परेको र अनुसन्धान भइरहेको छ। उनले अनुसन्धान चाँडै टुंगो लाग्ने बताए।
घटनाक्रम अनुसार निकिता तीज पर्व मनाउन आइतबार (भदौ ३१ गते) माइती घर विराटनगर वडा नं. १७ मा जाने तयारीमा थिइन्। त्यही तयारी स्वरूप निकिता र उनका श्रीमान नरेन्द्र भगतले शनिबार दिउँसो घर परिवारका सबै सदस्यलाई लुगा खरिद गरेर ल्याएका थिए। माइती पक्षकी आमा सरितादेवी चौधरीले शनिबार राति ९ बजेतिर फोन गर्दा आइतबार बिहान ६ बजे नै माइती घर आउने निकिताले बताएकी थिइन्।
आमाले फोन गरेको केही समय लगतै निकिताका भाई राहुलले भिडियो कल गर्दा दिदी र भिनाजु झगडा गरी रहेका थिए।
‘आमाले फोन गरेको केही समयपछि मैले भिडियो कल गर्दा दिदीलाई भिनाजुले यस्तो साडी तिम्रो माइतीले कहिल्यै देखेको थिएनन् भनेर विवाद गरी रहेका थिए,’ राहुलले भने, ‘सार सुहाउँदो मान्छेलाई राति नै डिजाइन गरेर हत्या गरियो।’
राहुलका अनुसार शनिबार राति ११ बजेतिर सुरुमा निकिताकी कान्छी भान्जी गरिमाले माइजू झुन्डिएको सूचना दिएकी थिइन्। लगतै केही छिनपछि जेठी भान्जी डिम्पलले बाथरुममा लडेको सूचना दिइन्। त्यसपछि फेरि जेठानी दिदी गोपीले सिडीबाट लडेर टाउको बजारिएको बताएकी थिइन्।
माइती पक्षकै दबाबमा निकितालाई विराटनगरको विराट टिर्चिङ् हस्पिटल पुर्याएपछि चिकित्सकलाई देखाउन साथ मृत्यु भएको घोषणा गरेका थिए। हुन त निकिता र नरेन्द्रबीच विवाह भएको डेढ वर्षको अवधिमा झैँ–झगडा भएको माइती पक्षलाई जानकारी छैन। निकिता र नरेन्द्रको दश महिनाको छोरा छन्।
माइती पक्षले विवाह गर्दा पनि नरेन्द्रलाई ३२ लाख रुपैयाँ नगद, आठ केजी चाँदी र दुई ट्रक विभिन्न खाले सामान दिएर धूमधामसँग विवाह गरेको निकिताकी आमा सरिताले बताइन्।
‘साडीकै विषयमा झगडा भएर छोरीको हत्या भएको हुनुपर्छ,’ सरिताले भनिन्।
प्रकाशित: २ आश्विन २०८० १४:१६ मंगलबार