४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

चितवन राष्ट्रिय निकुञ्ज भित्र ‘जिप सफारी’ को तयारी

चितवन राष्ट्रिय निकुञ्ज भित्र जिप सफारी सञ्चालनका लागि सडक मर्मत र सर-सफाई गर्न थालिएको छ। दशैँ अगाडि जिप सफारी गर्नेगरी सडक मर्मत र सर-सफाईको काम थालिएको हो।

बर्खा याममा असार १५ गतेदेखि रोकिएको जिप सफारी असोज १५ गतेभित्र सञ्चालन गर्ने गरी तयारी गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

‘एक सातादेखि जिप गुड्ने सडकहरु मर्मत, सुधार र झाडीहरु पन्छाउने काम भइरहेको छ,’ तिवारीले भने ‘पानी परेन भने असोजको दोस्रो साताबाट जिप सफारी सञ्चालन गछौँ।’

हरेक वर्ष वर्षाका तीन महिना असार, साउन र भदौमा निकुञ्जले जिप सफारी रोक्दै आएको छ। निकुञ्ज भित्र सौराहा, कसरा, माडी, मेघौली, अमलटारी, कुजौली नाकाबाट जिप सफारी हुँदै आएको छ। त्यसमध्ये सौराहादेखि अमलटारीको दुरी सबैभन्दा बढी ५५ किलोमिटर रहेको छ।

निकुञ्जमा गत वर्ष आर्थिक वर्ष सौराहा क्षेत्रबाट ३२, कसाराबाट १६, मेघौलीबाट ९, अमलटारीबाट ५,कुजौलीबाट २ र माडीबाट १ वटा जिपले सफारीका लागि अनुमति लिएका थिए। यस आर्थिक वर्षमा दर्ता प्रक्रियामा रहेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए।

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २ लाख ९९ हजार ४ सय १२ जना पर्यटक प्रवेश गरेका थिए। जिप सफारीबाट ४ करोड ८५ लाख २५ हजार रुपैयाँ राजश्व संकलन भएको थियो।

चितवन राष्ट्रिय निकुञ्जमा लोपोन्मुख एक सिंगे गैँडा, पाटे बाघ, हात्ती, जरायो, मृग, घडियाल गोही लगायतका वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकन गर्न पर्यटक आउने गर्दछन्।

प्रकाशित: २ आश्विन २०८० १४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App