भक्तपुरको कटुञ्जेस्थित गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना समिति परिसरमा गणेशमान सिंहको एक हजार दुई सय किलोग्रामको १२ फिट अग्लो ढलोटको प्रतिमा निर्माण भएको छ।
प्रतिमाको मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट अनावरण गराउने कार्यक्रम तय भएको छ। ड्रोनमार्फत सिंहको प्रतिमा अनावरण हुने बताइएको छ।

साढे दुई दशकभन्दा बढीको अथक प्रयासपछि गणेशमान सिंह स्मृति वाटिकाको औपचारिक रूपमा उद्घाटन हुने भएको हो। २०४६ सालको जन आन्दोलन कमाण्डर लौह पुरुष गणेशमान सिंहको प्रतिमा अनावरण हुन लागेको गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिका सभापति माथबरसिंह बस्नेतले जानकारी दिए।
प्रतिमास्थल र वाटिकाको झन्डै २३ वर्षअघि पूर्व प्रधानमन्त्री एवं सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईले प्रतिमाको शिलान्याससँगै गरेका थिए।
हालको सूर्य विनायक नगरपालिकाको वडा नं–५ र ६ मा पर्ने ऐतिहासिक र धार्मिक महत्त्व बोकेको सुवर्णेश्वर डाँडामा नजिकै रहेको छ। यो ठाउँ भक्तपुरको सूर्यविनायकबाट करिब एक किलोमिटर दक्षिण गुण्डु जाने बाटोमा पर्दछ। वाटिका अरनिको राजमार्गको कोटेश्वर सूर्य विनायक खण्डमा पर्ने चुनदेवी वा पाण्डुबजारबाट करिब डेढ किलोमिटर दक्षिणमा पर्छ।
यो वाटिकाबाट उपत्यकाका कान्तिपुर, कीर्तिपुर, ललितपुर, मध्यपुर, भक्तपुर र शङ्करापुरसम्मको मनोरम दृश्यावलोकन गर्न सकिन्छ।
कुल १७५ रोपनी जग्गामा फैलिएको वाटिकामा पश्चिमतर्फ पर्ने ऐतिहासिक महत्वको सुवर्णेश्वर मन्दिर परिसरलाई समेत समेटिएको छ। वाटिका निर्माण परियोजनाको सम्पूर्ण कार्य पूरा गर्नका लागि करिब ३३ करोड रुपियाँ खर्च हुने अनुमान समितिले गरेको छ।
वाटिकामा लालीगुराँस लगायत विभिन्न प्रजातिका फूल, काफल, कटुस, ऐँसेलु, चुत्रो जस्ता जङ्गली फल र विभिन्न प्रजातिका बोटबिरुवा, करिब ९९ प्रकारका चराचुरुङ्गीको अध्ययन गर्न सकिने भएको जनाइएको छ। यसले खोज तथा अनुसन्धान गर्नेहरूका लागि महत्त्वपूर्ण स्थल हुनसक्ने समितिका सचिव पूर्णसिंह विसन्खेले बताए।
बाटिकालाई गणेशमान सिंहका संघर्ष र त्यागका कथाका अतिरिक्त प्रजातन्त्रका शहीदहरुका जीवन र संघर्षका बारेमा अध्ययन, अनुसन्धान गर्ने, गराउने, प्रजातन्त्रका आदर्श, मूल्य र मान्यतामाथि विज्ञ र अनुभवीहरूबाट प्रवचन गराउने, छलफल चलाउने र त्यसका निष्कर्षलाई प्रकाशित गराएर भविष्यका पुस्तालाई प्रजातन्त्रप्रति जागरूक तुल्याउने बाटिकाको लक्ष्य रहेको जनाइएको छ।
२६ औ स्मृतिमा गणेशमान सिंहको प्रतिमा अनावरण गर्ने वाटिकाको तयारी गरेको हो। गणेशमान सिंह स्मृति बाटिका प्रतिमा अनावरण संरक्षण समिति २०५४ सालमै बनेको थियो। माओवादी द्वन्द्व र अन्य विभिन्न कारणले अहिलेसम्म (२६ वर्षपछि) पनि सिंहको प्रतिमा बन्न नसकेको बताइएको छ। सिंहको प्रतिमा अनावरण पश्चात् बाटिका क्षेत्रलाई प्रजातान्त्रिक आन्दोलनका शहीदहरूको जीवनीमा आधारित सामाग्री सङ्ग्रह गर्ने, संग्रहालय, पुस्तकालय, योगपार्क, चिल्ड्रन पार्क, भ्यु टावर, पिकनिक स्थल निर्माणलाई जोड दिने बाटिकाका योजना छन्।
भक्तपुरको सूर्य विनायक मन्दिर परिसरमा बोली फुटाउने क्रममै गणेशमान सिंहको नाम गणेशमान न्वारान भएकोले सूर्य विनायक गणेश मन्दिर परिसरमै लुचु महादेव क्षेत्रमा गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना संरक्षण समिति बनेको चर्चा गरिन्छ।
प्रकाशित: १ आश्विन २०८० ०८:५२ सोमबार





