१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

थारू समुदायले अटवारी पर्व मनाउँदै

सुदूरपश्चिम, लुम्बीनी लगायत देशका विभिन्न जिल्लामा आज ‘अटवारी’ पर्व उल्लासपूवर्क मनाइँदै छ।  

आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा लिइने यो पर्व खासगरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने डगौंरा चौधरी समुदायमा परम्परागतरूपमा मानाउने गरिन्छ।

भदौ महिनाको कृष्ण अष्टमीपछिको शुक्लपक्षको पहिलो आइतवारका दिन थारू समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै आज अटवारी पर्व मनाउँदै छन। यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिई दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगोमा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्ने प्रचलन रहेको बाँकेका थारू अगुवा चन्द्र थारूले बताए।

उनका अनुसार व्रतपछि गहुँको पीठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटीलगायत पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई एक भाग छुट्याई बाँकी भाग बर्तालुले खाने चलन रहेको छ।  

अग्रासन दिएर फर्कने क्रममा दिदीबहिनीले दाजुभाइलाई उपहार दिने गर्छन्। अटवारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चालगायत पकवान र माछाको सिद्रा बर्तालुले ग्रहण गर्छन्। यो पर्व थारू समुदायको दशैँपछिको ठूलो पर्वका रूपमा रहेको थारूको भनाइ छ।

थारू समुदायको बसोबास रहेका बाँकेसहित बर्दिया, दाङ, कैलाली, कञ्चनपुरलगायत क्षेत्रमा अटवारी पर्वलाई विशेष महत्वका साथ मनाइन्छ। यो पर्वमा विशेषगरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन्। 

व्रतपछि गहुँको पीठोबाट बनाइएका परिकार र फलफूल चढाई दिदीबहिनीको भाग छुट्याएर बचेको आफूले खाने चलन रहेको थारू अगुवा कृष्ण चौधरीले बताए।

अटवारी पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके र बर्दिया जिल्लाका थारू समुदायलाई आज सार्वजनिक बिदा दिएको छ। विगतमा थारू बाहुल्यता रहेका स्थानीय तहले स्थानीय बिदा दिने गरे पनि अहिले प्रदेश सरकारले नै पर्व मनाउन बिदा दिनु सकरात्मक रहेको बाँकेका थारू अगुवा एवं राप्ती सोनारी गाउँपालिका पूर्वअध्यक्ष लाहुराम थारूले बताए। रासस

प्रकाशित: ३१ भाद्र २०८० ०४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App