२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बिरामी कुरुवा घर निर्माण

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा बिरामी कुरुवा घर निर्माण गरिएको छ। लायन्स क्लब इन्टरनेशनल फाउण्डेशन र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आर्थिक सहयोगमा कुरुवा घरको निर्माण गरिएको हो।

कुरुवा घर निर्माण गर्न लायन्स इन्टरनेशनको एक करोड ११ लाख ५६ हजार रुपैयाँ तथा अस्पतालको ३७ लाख ६५ हजार रुपैयाँ खर्च भएको लायन्स क्लब अफ नेपालगञ्ज खजुराका अध्यक्ष कृष्ण भण्डारीले बताए। भवन बनेपछि उपचारका लागि आउने बिरामीका कुरुवालाई सहज हुनेछ।

‘खास गरी जटिल प्रकृतिका बिरामीका कुरुवालाई धेरै सहज हुनेछ’, उनले भने, ‘कुरुवा घर निर्माणपछि बिरामी र आफन्तलाई होटलमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ।’

कुरुवा घरमा १५ कोठा रहेका छन्। अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लका अनुसार अस्पतालमा अहिले बहुप्रतिक्षित लिन्याक मेसिन सञ्चालनको काम अन्तिम चरणमा पुगेको छ। लिन्याक मेसिन विकीरणका माध्यमबाट सेकाइ गरेर उपचार गर्ने उपकरण हो। करिब २७ करोड रुपैयाँ मूल्यको उक्त मेसिनले पाठेघरको मुख, स्तन, नाक, कान, घाँटी लगायत शरीरका विभिन्न अङ्गमा हुने क्यान्सरको उपचार गर्न मद्दत पुग्छ।

अहिले उक्त मेसिनको सेवा लिन बिरामी भरतपुर र भक्तपुर क्यान्सर अस्पताल धाउन बाध्य छन्। भरतपुर र भक्तपुरमा पनि उक्त मेसिनको सेवा लिन एक महिनादेखि ४५ दिनसम्म पालो पर्खनुपर्ने हुन्छ। अस्पतालमा हाल २० विशेषज्ञ चिकित्सकसहितको टोलीले बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको छ। एक सय शय्याको स्वीकृति पाएकामा अस्पतालले हाल ५७ शय्यामार्फत सेवा दिइरहेको छ।

प्रकाशित: ३० भाद्र २०८० ०७:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App