प्राचीन मानव जीवाश्मलाई गत साता दक्षिण अफ्रिकाले अन्तरिक्षमा पठाएपछि मानव उद्विकास अनुसन्धानकर्ताले यसलाई प्रचारमुखी कार्य भनेर चर्काे आलोचना गरेका छन्।
गत शुक्रबार बिहान भर्जिन गेलेक्टिक स्पेसक्राफ्ट (भिएसएस) पृथ्वीको ८८ किलोमिटरमाथि अन्तरिक्षको किनारासम्म पुगेको थियो। यो स्पेसक्राफ्टमा दुई विमान चालक, तीन यात्रुसहित लाखौं वर्षअघि दक्षिण अफ्रिकालाई आफ्नो बासस्थान बनाएका दुई प्राचीन मानव अस्थिपञ्जरसमेत थिए। उडानको एक घन्टामै मानव अस्थिपञ्जरसहित सबै यात्रु पृथ्वीमा फर्केका थिए।
यो यात्रालार्ई ‘अनैतिक प्रचारप्रसार’को संज्ञा दिँदै पुरातत्त्ववेत्ता, मानवशास्त्री तथा अन्य अनुसन्धानकर्ताले चर्काे आलोचना गरेका छन्। बहुमूल्य मानव अवशेषलाई जोखिममा पारेको र यसले दक्षिण अफ्रिकाको सांस्कृतिक सम्पदाको संरक्षणमा समेत ठुलो प्रश्नचिह्न खडा गरेको ती विशेषज्ञहरूले बताएका छन्।
‘पुर्खाका अवशेषलाई यो कठोर र अनैतिक व्यवहार गर्नुको कुनै वैज्ञानिक आधार छैन। सक्छु भन्दैमा यसरी अन्तरिक्षमा बहुमूल्य सम्पदालाई ब्लास्ट गर्नु किमार्थ स्वीकारयोग्य विषय होइन,’ दक्षिण अफ्रिकाको केपटाउन विश्वविद्यालयका भूगर्भशास्त्री रोविन पिकरिङको भनाइलाई उद्धृत गर्दै नेचर अनलाइनले लेखेको छ।
बहुमूल्य हाड
सन् १९८० यताका विभिन्न अन्तरिक्ष मिसनमा डाइनोसरलगायत अन्य जनावरका जीवाश्म अन्तरिक्ष लग्ने गरिएको छ। तर मानव जीवाश्म अन्तरिक्ष पुर्याइएको यो पहिलोपटक हो। अन्तरिक्षको यात्रामा लगिएका जीवाश्ममध्ये एउटा २५ लाख वर्षअघिको अस्ट्रालोपिथेकस सेडिबा नाम गरेको मानव पुर्खाको प्रजातिको थियो भने अर्काे २ लाख ५० हजार वर्षअघिको होमो नलेडी नामक प्रजातिको थियो। हाल अमेरिकी नेसनल जिओग्राफिक सोसाइटीसँग आबद्ध रहेका अमेरिकी मानवशास्त्री ले–बर्गर र उनको टिमले दक्षिण अफि«काको जोहानेसबर्गनजिक यी दुवै प्रजातिका जीवाश्म फेला पारेका थिए।
दक्षिण अफ्रिकको केपटाउनमा रहेको हेरिटेज रिसोर्सेस एजेन्सी (सहारा) ले गत जुलाईमा बर्गरलाई अस्ट्रालोपिथेकस सेडिबाको काँधको हाड र होमो नलेदीको हातका औंलाका हाडका अवशेषलाई न्युमेक्सिकोस्थित भर्जिन गेलेक्टिक स्पेस्क्र्याफ्ट लग्न अनुमति दिएको थियो। यी दुवै अवशेषलाई अन्तरिक्ष यात्राका यात्रुसमेत रहेका दक्षिण अफ्रिकी व्यापारी टिम नासले जहाजबाट न्युमेक्सिको पुर्याएका थिए।
बर्गरले आफ्नो निवेदनमा जीवाश्ममा वैज्ञानिक अध्ययन गर्न सकिने तर सो उद्देश्य यात्राका नरहेको बताउँदै भनेका छन्, ‘यसको उद्देश्य विज्ञान, अन्वेषण, मानव उत्पत्ति, मानव पुर्खाको अफ्रिकामा उत्पत्ति भएको विषयलाई विश्वव्यापी चेतना ल्याउने हो।’
अस्ट्रालोपिथेकस सेडिबाको जीवाश्मको उमेर पहिचान गर्ने कार्यमा संलग्न रहेको केपटाउन विश्वविद्यालयका पिकरिङले यस्ता कार्यले अवशेषमा क्षति पुग्ने र यसप्रकारको तर्कले जोखिमलाई न्यून नगर्ने बताएका छन्।
सो काँधको हाड दक्षिण अफ्रिकामा सबैभन्दा पहिला पत्ता लागेका कारण यो प्रजातिको अध्ययनका लागि निकै महत्त्वपूर्ण मानिएको छ।
यो अभियानले औपनिवेशिक र नवऔपनिवेशक अनुसन्धान प्रथालाई निरन्तरता दिएको केपटाउन विश्वविद्यालयका पुरातत्त्ववेत्ता योनाटन सहले ठान्छन्। यी प्रथाअनुसार पश्चिमा अनुसन्धानकर्ताका इच्छाका अगाडि अफ्रिकी अनुसन्धान निकायहरूले घुँडा टेक्थे।
‘अफ्रिकी नागरिक भएको तथा अफ्रिकी अनुसन्धान निकायमा सम्बद्ध रहेकाले म यसलाई अनुसन्धानको अत्यन्त कुरूप पक्षका रूपमा लिन्छु,’ उनले नेचर पत्रिकालाई भनेका छन्।
मानव उद्विकासको क्षेत्रमा कार्यरत युरोपियन सोसाइटीको पनि एक वक्तव्यमार्फत यो अभियानप्रति प्रश्न गरेको छ। ‘यो परियोजनाको कुनै वैज्ञानिक फाइदा छैन। यसले यो बहुमूल्य सम्पदामा नोक्सान पुग्न सक्ने भएकाले यसप्रकार गतिविधि नगर्न हामी अनुरोध गर्दछौं,’ सोसाइटीले भनेको छ।
प्रवर्द्धनात्मक लाभ
यी आलोचनाप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै दक्षिण अफ्रिकाको केपटाउनमा रहेको आयोजक संस्था हेरिटेज रिसोर्सेस एजेन्सी (सहारा) ले जोखिमभन्दा यसको प्रवर्द्धनात्मक लाभ अधिक रहेको तर्क गरेको छ।
यी अवशेष भण्डारण गरिएको जोहानेसबर्गमा रहेको विट्स विश्वविद्यालयका मानवशास्त्री तथा क्युरेटर वर्नाहार्ड जिपफेलले मानवशास्त्री तथा क्युरेटर वर्नाहार्ड जिपफेलले एक वक्तव्यमार्फत यी अवशेषको त्रिआयमिक स्क्यान गरिएको, कास्ट गरिएको र फोटाहरू लिइएका कारण जोखिम नरहेको दाबी गरे। तर लन्डन युनिभर्सिटी कलेजका पुरात्त्वविद् रासेल किङ उनको तर्कप्रति सहमत छैनन्।
‘राम्रोसँग अभिलेखीकरण गरिएको जीवाश्लाई यसरी नै जोखिममा पार्ने हो भने यो अत्यन्त डरलाग्दो सुरुवात हो,’ किङ भन्छिन्, ‘के दक्षिण अफ्रिकाको कुनै ऐतिहासिक सम्पदालाई अभिलेखीकरण भइसकेको छ भनेर बुलडोजर चलाएर सपिङ मल बनाउन मिल्छ?’
सांस्कृतिक सम्पदा संरक्षणमा अफ्रिकी देशहरूमध्ये दक्षिण अफ्रिकाले यसअघि नेतृत्वदायी भूमिका निर्वाह रहेको चर्चा गर्दै उनी थप्छिन्, ‘सहाराले सुरुमै निजी स्पेसक्राफ्टमा मानव अवशेषलाई लग्ने अनुमति दिनु हुँदैनथ्यो। यसो गर्दा नियामक निकायको भूमिकामा प्रश्न उठेको छ। यो चानचुने विषय होइन।’
प्रकाशित: ३० भाद्र २०८० ००:५८ शनिबार