१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

ग्याङ फाइटपछि तीन टोलको संयुक्त बैठक, प्रहरीले सुरक्षा निगरानी बढाउन माग

वडा १५ को तीन वटा टोलको संयुक्त बैठक। तस्बिर : रोहित राई

धरान १५ मा दुई टोलका युवाहरूबिच ग्याङ फाइट र उपमेयरको घरमा ढुंगामुढाको घटनाले असुरक्षित महसुस गरेका स्थानीयबासीहरुले टोलमा प्रहरीको सुरक्षा गस्ती बढाउन माग गरेका छन्।

खोरिया बस्ती टोल विकास संस्था, सुसन टोल विकास संस्था र धौलागिरी (सुर्यमार्ग) टोल विकास संस्थाको शुक्रवार संयुक्त बैठकमा स्थानीयबासीहरुले प्रहरीको संख्या र गस्ती पनि बढाउनुपर्ने माग गरेका हुन्। उपमेयर अइन्द्रबिक्रम बेघा पनि उपस्थित रहेको बैठकमा स्थानीयहरूले बेरोजगार भएको कारणले पनि गलत बाटोमा हिँडिरहेकोले स्थानीय सरकारले युवाहरूलाई लक्षित योजना, कार्यक्रम ल्याउन माग गरेका छन्। ‘युवाहरू बेरोजगार छन्, यसले उनीहरु गलत बाटोमा हिँडेका छन्,’स्थानीय युवा शान्तिराम राईले भने,‘विद्यार्थी, युवाहरूलाई सृर्जनात्मक बनाउन खेलकुद, साहित्यतिर लगाउन ध्यान दिनुपर्छ, नगर सरकारले रोजगार सृर्जना गर्नुपर्छ।’

स्थानीय श्री बेघाले श्याम चोकमा रहेको प्रहरी चौकीमा २, ३ जना मात्र प्रहरी हुने र ठुलो क्षेत्रमा नियमित गस्ती नहुँदा समस्या भएको बताए। उनले प्रहरीको संख्या वृद्धि गर्नुपर्ने साथै वडा १५ को दक्षिण क्षेत्रमा पनि प्रहरी चौकी स्थापना हुनुपर्ने माग गरे। प्रहरीले सुचना दिने व्यक्तिको गोपनीयता नराख्दा पनि समस्या हुने उनले बताए। केही अभिभावकहरूले आफ्ना छोराछोरीहरू के गर्दैछन् भनेर राम्रो निगरानी गर्नुपर्ने पनि धारणा राखेका थिए।

भविष्यमा मङ्गलवारको जस्तो घटना दोहोरिन नदिन के कस्ता उपायहरू अवलम्बन गर्ने भनेर तीन वटा टोल विकास संस्थाको संयुक्त बैठक आयोजना गरिएको धौलागिरी टिएलओका अध्यक्ष दिनेश राना मगरले जानकारी दिए। उनका अनुसार बैठकले भदौ २६ गते भएको घटनाको अनुसन्धान प्रक्रियालाई आवश्यक सहयोग गर्ने र उक्त घटनाका घाइतेको अभिभावकलाई भेटेर जानकारी लिने निर्णय भएको छ। यस्तै, संवेदनशील क्षेत्रहरूको पहिचान गरी सिसि क्यामेरा जडान गर्न ३ वटै टिएलओका पदाधिकारीहरुले यथाशीघ्र इष्टिमेट गरेर उपमेयर समक्ष अनुरोध गरी पत्राचार गर्ने र आवश्यक स्थानहरूमा उत्तम खालको बत्ती जडानको लागि पहल गर्ने निर्णय भएको उनले बताए। 

यस्तै, शान्ति सुरक्षाको लागि प्रहरीको साथ लिएर प्रक्रिया मिलाएर गस्ती गर्ने, टोलमा नयाँ मानिस देखा परेमा परिचय लिने र पाहुनालाई बाहेक अन्यलाई बुझाएर फर्काउने पनि बैठकले निर्णय गरेको छ। घर भाडामा बस्ने व्यक्तिको पुर्णविवरण टिएलओलाई जानकारी गराउने र परिचय नखुल्ने व्यक्तिलाई घर भाडा दिदा सम्झौता गरेर मात्र दिने पनि बैठकले निर्णय गरेको अध्यक्ष मगरले बताए। आगामी बैठकहरूमा महादेव चोक र गर्वलाल टिएलओलाई पनि जोड्ने तथा वडाका प्रतिनिधिहरूलाई पनि आमन्त्रण गर्ने निर्णय भएको छ। 

मंगलबार धरान १५ खोरिया बस्ती र धौलागिरी टोल (सूर्य मार्ग)का युवाहरूबिच ग्याङ फाइट भएको थियो। उक्त घटनामा खोरियाका उपमेयर अइन्द्रबिक्रम बेघाका भाइ बिष्णु बेघा सामान्य घाइते भएका थिए भने सूर्य मार्गका सन्देश राई गम्भीर घाइते भएका थिए। उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रकाशित: २९ भाद्र २०८० १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App