विभिन्न आठ बुँदे घोषणा पत्र जारी गर्दै कैलालीको टीकापुरमा बालभेला सम्पन्न भएको छ । जिल्लाका विभिन्न पालिकाका ५६ जना बालबालिकाहरुको सहभागिता रहेको भेला दुई दिनसम्म सञ्चालन भएको थियो। भेलामा दिगो विकास लक्ष्य तथा बाल संरक्षणका सवालहरुमा छलफल भएको थियो।
घोषणा पत्रमा बालबालिकाहरुले भोग्दै आएकासमस्या समाधान गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गरिएको छ। बालबालिकाहरुले बढ्दो सामाजिक सञ्जालको दुरुपयोग न्यूनिकरणका लागि जिल्लाका सबै विद्यालयमा अनलाईन सुरक्षा तथा सचेतना सम्बन्धी कक्षा अनिवार्य सञ्चालनको व्यवस्था गर्नुपर्ने घोषणा पत्रमा समेटेका छन्।
पछिल्लो समयमा बढ्दै गैरहेको लागुपदार्थ दुव्र्यसनलाई समेत बालबालिकाहरुले आफ्नो घोषणा पत्रमा समेटेका छन्। उनीहरुले खुल्ला सिमा नाका र साथीहरुको लहैलहमा लागेर थुप्रै बालबालिकाहरु लागुपदार्थ दुव्र्यसनमा फसेको भन्दै न्यूनिकरणका लागि स्थानीय पालिकाहरुको ध्यान जानुपर्ने बताएका छन्।
उनीहरुले स्थानीय पालिकाहरुले आवश्यक कानून, नीति, योजना तथा कार्यक्रम कार्यान्वयन गर्दै कैलाली जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणा गर्नुपर्नेमा समेत जोड दिएका छन्। घोषणा पत्रमा स्थानीय पालिकाहरुले सन् २०३० सम्ममा पूरा गर्नुपर्ने दिगो विकासका लक्ष्य प्राप्तिका लागि आवश्यक कार्यक्रमहरु प्राथमिकताका साथ लागु गर्नुपर्ने उल्लेख छ।
घोषणा पत्रमा बालबालिकाहरु माथि अझै पनि विद्यालय र समुदायमा हिँसा, दुव्र्यवहार, शोषणका घटनाहरुमा कमि नआएको उल्लेख छ। उनीहरुले यसको रोकथामका लागि स्थानीय पालिकाहरुले निर्माण गरेका नीति नियमको कडा कार्यान्वयनको माग गरेका छन्।
उनीहरुले सबै स्थानीय पालिकाहरुमा बालमैत्री शासन र सो सम्बन्धी कार्यक्रमलाई प्राथमिकताका साथ लागु गर्नुका साथै विद्यालयलाई बालमैत्री बनाउन सबै विद्यालयमा मनोविमर्शकर्ता, प्राथमिक उपचार कक्ष तथा विद्यालय नर्सको व्यवस्था हुनुपर्ने कुरालाई समेत घोषणा पत्रमा समेटेका छन्।
घोषणा पत्रमा स्थानीय पालिकाहरुमा अर्थपूर्ण बालसहभागिता सहितको बालबालिकामा लगानीको सुनिश्चितताको लागि योजना तर्जुमा प्रकृयामा वडा र पालिका स्तरिय बालभेला अनिवार्य गर्नुपर्ने उल्लेख छ।
घोषणा पत्र सार्वजनिकका क्रममा बोल्दै बाल सञ्जाल कैलालीकी अध्यक्ष मोनिका साउँदले बालबालिका माथि गरिएको लगानी खेर नजाने बताईन्। उनले आजका बालबालिका नै भोलिको नेतृत्व भएकाले राज्यले बालबालिकाका क्षेत्रमा लगानी गर्न कञ्जुस्याँई गर्न नहुने बताईन्।
‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ यस वर्षको राष्टिय बाल दिवस आज मनाईदै छ ।वल्र्ड भिजनको सहयोगमा बाल कल्याण संघ टीकापुरले बालभेलाको आयोजना गरेको थियो ।
प्रकाशित: २९ भाद्र २०८० ०४:०२ शुक्रबार





