१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

धन्नेश्वरी गुफा संरक्षणमा आमा समूह

वर्षौँदेखि ओझेलमा रोटाङको साकेलास्थित धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल धन्नेश्वरी गुफाको संरक्षण र विकास गर्न स्थानीय आमा समूह कम्मर कसेर लागिपरेको छ। गाउँपालिकाका ऐतिहासिक तथा धार्मिक महत्त्वका ठाउँमध्ये प्रमुख मानिएको सो गुफाको संरक्षण र विकास गर्न सके पर्यटन विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षाका साथ गुफा संरक्षणमा समूह लागिपरेको हो।

सो उद्देश्यअनुसार साकेला गाउँपालिका–२ रतन्छास्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र मानिने सो गुफा र परिसरको स्थानीय धन्नेश्वरी र लालिगुराँस आमा समूहको अगुवाइमा बुधबार सरसफाइ गरिएको छ। केही दशकयता ओझेमा पर्दै गएको सो गुफा स्थानीय तह पुनर्संरचनापछि गाउँपालिकाको धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण र विकास गर्ने योजनाअनुसार संरक्षण, विकास र प्रवद्र्धन गर्ने कार्यक्रम अघि बढाइएको हो। गाउँपालिकाको संरक्षण सूचीमा परेको यो गुफा त्यो भेगकै अत्यन्त सुन्दर र धार्मिक महत्त्वको रहेकाले स्थानीयले नै सक्रियता बढाउनुपर्ने आमा समूहको ठहर छ।

गाउँपालिकाले सञ्चालन गरिरहेको ‘पूर्ण सरसफाइ घोषणा कार्यक्रम’कै सिलसिलामा आमा समूहले गुफाभित्र र परिसर सरसफाइ गरेको हो। सरसफाइको क्रममा गुफाभित्र र बाहिर उम्रेका झारपात, रुखबिरुवा, बुट्यान हटाउँदा कुरूप भएको सो ठाउँ चिटिक्क र सुन्दर बनेको छ। गाउँपालिकाको पूर्ण सरसफाइ कार्यक्रम अभियानमा वडाले आमा समूहमा आबद्ध स्थानीयलाई परिचालन गरी सरसफाइ गरेको छ। सरसफाइमा समूहका पदाधिकारी, सदस्य, वडाध्यक्षलगायत वर्तमान तथा पूर्वजनप्रतिनिधि, कर्मचारी, प्रहरी र सर्वसाधारण सक्रिय भएर लागेको वडाध्यक्ष जितेन्द्रकुमार राईले बताए।  

सरसफाइ टोलीले मूल सडकदेखि गुफासम्म पुग्ने बाटो, गुफा र परिसरक्षेत्र सबै सरसफाइ गरेको छ। गाउँले मिली यस वर्षको तीज पनि गुफामै मनाउने तयारी गरेर सरसफाइ गरेको स्थानीयले बताए। महिला दिदीबहिनी सामूहिक व्रत बस्ने, दर खाने र अन्य विविध तीज विशेष कार्यक्रम गर्ने योजनाले गुफाको सरसफाइ गरिएको वडाध्यक्ष राईले बताए। व्रत बस्ने नारीले बिहानैदेखि धन्नेश्वरी मन्दिरमा पूजा आराधना गर्ने र दिनभर नाचगान तथा सांस्कृतिक कार्यक्रम गर्ने योजनाअनुसार मन्दिरसम्म पुग्ने बाटो र गुफा भित्रबाहिर पूर्ण रूपमा सरसफाइ गरिएको उनको भनाइ छ।  

गाउँपालिका अध्यक्ष रविप्रकाश राईले स्थानीय धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेका स्थानको संरक्षण, विकास र प्रवद्र्धन गर्ने योजनाअनुसार धन्नेश्वरी गुफा प्राथमिकतामा राखेर अघि बढ्न लागेको बताए। गाउँपालिकाभित्र पर्ने अत्यन्त  महत्त्वपूर्ण स्थानमध्ये धन्नेश्वरी गुफा प्रचारप्रसार अभावमा ओझेलमा परेको हुनाले अब त्यसको संरक्षण र दिगो विकासका लागि अल्पकालीन र दीर्घकालीन दुवैखाले योजना बनाएर अघि बढ्ने अध्यक्ष राईले प्रतिबद्धता जनाए। गुफाको धार्मिक महत्त्व, पुरातात्त्विक अर्थ र पर्यटन विकासको सम्भावना धेरै रहेकाले साकेला गाउँपालिकालाई आन्तरिक स्रोतमासमेत योगदान गर्न सक्ने भएकाले यसलाई प्राथमिकतामा राखिएको उनले बताए।

पूर्वको प्रख्यात पर्यटकीय तथा त्रिधार्मिकस्थल हलेसीपछि धन्नेश्वरी गुफा जिल्लाको दोस्रो ठुलो धार्मिक र पर्यटकीय सम्भावना बोकेको ठाउँ रहेको स्थानीयको भनाइ छ। तिन दशकअघिसम्म तीज, वैशाख पूर्णिमा, मंसिर पूर्णिमा, राम नवमी, बाला चतुर्दशी र शिवरात्रिजस्ता पर्वमा भव्य जमघटका साथ पूजाआराधना र घुइँचोका साथ मेला लाग्ने गरेको पनि स्थानीय बताउँछन्। पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको यो स्थान प्रचारप्रसार अभावमा ओझेलमा परेको हो। 

स्थानीय वृद्धवृद्धाका अनुसार धनेश्वर गुफा परापूर्वकालदेखि प्रसिद्ध धार्मिकस्थल हो। प्रत्यक्षदर्शी स्थानीयका अनुसार ढुंगाको कापबाट भित्र छिर्न सकिने गुफाभित्र ठुलो ढुंगे भित्ता रहेको र त्यसमा ठुलाठुला नाग हिँडेको पाइला अंकित चित्र रहेको छ। सो प्राकृतिक ढुंगे चित्रमा नाग हिँडेको आकृति देख्न सकिन्छ। गुफाभित्रैबाट तल र माथि जाने सुरुङ पनि रहेको प्रत्यक्षदर्शी बताउँछन्। तर भित्री सुरुङ कहाँसम्म पुगेर टुंगिन्छ भन्ने कुराको यकिन भने आजसम्म कसैले गर्न सकेका छैनन्।  

सो गुफाको संरक्षण र विकासमा स्थानीय सरकारले तत्काल केही कामको सुरु गरिहाल्न ध्यानाकर्षण गराएको वडाध्यक्ष राईले बताए। तत्कालका लागि गुफाभित्रसम्म विद्युत् लाइन उपलब्ध गराउन गाउँपालिकालाई आग्रह गरेको उनले बताए। विद्युत् सेवा पुगेमा भक्तजन तथा पर्यटकलाई गुफाभित्रको दृश्यावलोकन गर्न सहज हुने हुनाले सो आग्रह गरेको र गाउँपालिकाले पनि तत्काल त्यति काम गरिदिने आश्वासन दिएको उनको भनाइ छ। यसै वर्षदेखि गुफामा शिवरात्रि, राम नवमी, बाला चतुर्दशी, एकादशी, तीजलगायत पर्वमा भव्य र व्यवस्थित मेला लगाउने गरी वडाले योजना बनाइररहेको छ।  

प्रकाशित: २९ भाद्र २०८० ०१:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App