१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

वडा कार्यालयका सामान चोर्ने पक्राउ परेनन्

गत साउन अन्तिममा चोरी भएको राप्ती सोनारी गाउँपालिका ६ स्थित वडा कार्यालय

बाँकेको राप्तीसोनारी गाउँपालिका ६ स्थित वडा कार्यालयमा भएको चोरीमा संलग्न व्यक्तिको अझै पहिचान हुन सकेको छैन। गत साउन ३२ को रातमा वडा कार्यालयको ढोकाको ताला फोडेर सबै सामान चोरी भएको थियो।

चोरले कार्यालयमा रहेका कम्प्युटर तीन, सिपियु एक, प्रिन्टर दुई, ई–हाजिरी एक, मल्टिप्लक पाँच, इन्भर्टर एक, ठुलो ब्याट्री दुई, पानी मोटर एक, वाल फ्यान दुई, वाइफाई राउटर एक, वाल घडी एक र एलईडी बल्भ दुई थान लगेका थिए। वडा कार्यालय चोरी भएको एक महिना पुग्दा पनि प्रहरीले चोर पहिचान गर्न नसकेको भन्दै जनप्रतिनिधिले असन्तुष्टि जनाएका छन्। राप्तीसोनारी ६ का वडाध्यक्ष लवराज खरेलले अहिलेसम्म चोरको पहिचान हुन नसकेको दुखेसो पोखे। ‘वडा कार्यालय चोरी भएको एक महिना पुग्न लागिसक्यो, अहिलेसम्म प्रहरीले चोर पत्ता लगाउन सकेको छैन’, उनले भने।

प्रहरीले वडा कार्यालयको चोर पत्ता लगाउन नसकेपछि वडास्थित सर्वदलीय तथा सर्वपक्षीय बैठकमार्फत बुधबार सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। उक्त घटनाको दोषी पत्ता नलागे पुनः सर्वदलीय बैठक बसेर दबाबमूलक कार्यक्रम गरिने वडाध्यक्ष खरेलले विज्ञप्तिमार्फत उल्लेख गरेका छन्।

राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले वडा कार्यालयका घटनामा प्रहरीले गरेको अनुसन्धानमाथि आफूहरूले विश्वास मानेको बताए। ‘प्रहरीलाई हामीले स्वतन्त्रपूर्वक अनुसन्धान गर्न सहयोग गरेका छौं, तर स्थानीय सरकारजस्तो संवेदनशील निकायमा भएको चोरीका घटनामा संलग्न व्यक्तिको अहिलेसम्म पहिचान हुन नसक्नु दुःखद हो’, उनले भने।

इलाका प्रहरी कार्यालय गंगापुर, बाँकेका प्रमुख एवं प्रहरी निरीक्षक राजन रायमाझीले वडा कार्यालयमा भएको चोरीको आवश्यक अनुसन्धान भइरहेको बताए। ‘घटनाको अनुसन्धान भइरहेको छ, अहिलेसम्म घटनामा संलग्नको पहिचान गर्न सकिएको छैन’, उनले भने, ‘तत्कालीन अवस्थामा हामीले सोधपुछ त धेरैसँग गरेका हौं, तर चोरको पहिचान हुन सकेन।’ चोरीका घटनापछि केही दिनसम्म वडा कार्यालयको सेवा ठप्प हुन पुगेको थियो। जनताका कामसँग प्रत्यक्ष जोडिएको वडा कार्यालयमा चोरी हुनु निन्दनीय रहेको वडाध्यक्ष खरेलले बताए।

प्रकाशित: २८ भाद्र २०८० ०३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App