१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

बलात्कार अभियोग लागेका सिद्धबाबाले पाए सफाइ

आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरिलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ। गिरीलाई जिल्ला अदालतले सफाइ दिएको यो तेस्रो पटक हो।

सिद्ध बाबा गिरीलाई अभियोग दाबी नपुग्ने भएकाले गर्दा बुधबार जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाले गरेको फैसलाले सफाइ दिने ठहर गरेको जिल्ला अदालत सुनसरीले जनायो। यसअघि २०७७ साल मंसिर २२ गते तत्कालीन मुख्य जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाले गिरीलाई दोस्रो पटक सफाई दिने फैसला गरेका थिए।

उच्च अदालत विराटनगरले गिरीको जिल्ला अदालतले गरेको फैसलालाई उल्टाएर फेरि निर्णय लिन जिल्ला अदालतमा पठाएको थियो। त्यसपछि फेरि जिल्ला अदालतले आवश्यक प्रमाण जुटाउँदा पनि नपुगेपछि सफाई दिने फैसला गरेको अदालतका तहसिलदार भरतमणि पोखरेलले बताए।

२०७७ साल मंसिर २२ गते जिल्ला सरकारी वकिल कार्यालयले पेसी सार्न माग गर्दै निवेदन दिएको थियो। तर, आरोपित पक्षको मात्र बयान सुनेर एकतर्फी सुनुवाइकै आधारमा फैसला गरेको भन्दै उच्च अदालतमा पुनरावेदन गरिएको थियो। उच्च अदालतले जिल्लाको निर्णयलाई उल्टाएर पुनः निर्णय गर्न जिल्लालाई भनेको थियो।

त्यतिबेला जिल्ला अदालतको न्यायप्रति महान्यायाधिवक्ता कार्यालयले पनि गम्भीर आपत्ति जनाएको थियो। तत्कालीन महान्यायाधिवक्ता अग्नि खरेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई भेटेर आपत्ति जनाएका थिए। पीडित महिलाले पनि प्रधानन्यायाधीशको सचिवालयमा पुगेर न्यायका लागि याचना गरेकी थिइन्।

गिरीले आफ्नै अनुयायीलाई आश्रममा बोलाएर बलात्कार गरेको घटनामा सुरुमा २०७६ कार्तिकमा काठमाडौं प्रहरी परिसरमा उजुरी परेको थियो।  त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले घटनाबारे अनुसन्धान गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीलाई जिम्मा दिएको थियो। प्रहरीले कृष्णदासलाई पक्राउ गरेर अनुसन्धान थाले पनि बिरामी भएको वाहाना गरेर विराट नर्सिङ्होम विराटनगरमा भर्ना भएका थिए ।

उनी अस्पतालमै भएका वेला तत्कालीन जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीशश राधाकृष्ण उप्रेतीले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएका थिए । त्यस आदेशउपर पनि जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको थियो । जसमा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजलासले कृष्णदासलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।

उच्च अदालतले गर्ने आदेशकै दिन उनी आफ्नो सुरक्षा गार्डलाई जोगवनी छेउमा छाडेर भारत भागेका थिए। पछि अदालतमा हाजिर भएर क्षेत्रीय कारागार झुम्कामा चलान गरिएको थियो। कारागारमा केही समय बसेर उनी छुटे पनि मुद्दा टुंगो लागेको थिएन। सोही मुद्दाको सुनुवाइ बुधबार जिल्ला अदालत सुनसरीले गरेको हो।

प्रकाशित: २७ भाद्र २०८० १५:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App