२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कागबेनी बाढी: कागखोलालाई पुरानै धारमा बगाइँदै (फोटोसहित)

कागबेनीबारे अध्ययन हुँदै

मुस्ताङको कागबेनीमा एउटै ट्रयाकबाट बगिरहेको कागखोला। बाढीले यत्रतत्र पारेको खोलालाई अहिले एउटै ट्रयाकबाट बग्ने गरि व्यवस्थित गरिएको छ। तस्बिर सौजन्यः फेन्चोक छेप्तेन गुरुङ

झन्डै एक महिना अघि बाढीको चपेटामा परेको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनी बजार र कागबेनी बस्ती हुँदै बगेको कागखोलालाई पुरानै स्वरूपमा फर्काउने प्रयासमा स्थानीय जुटेका छन्।

बाढीले स्थानीयको घरमा क्षति पुर्‍याएपछि आसपासका छिमेकी मात्र नभई सिंगो जिल्लावासी नै तत्कालै राहत र उद्धारमा खटिएका थिए। यतिसम्मकी सरकारी कर्मचारी पनि कागबेनीलाई उठाउने प्रयासमा हातमा हात मिलाएका थिए। सबैको प्रयासपछि कागबेनीको बस्ती उठ्ने प्रयासमा छ। बस्ती मात्र नभई कागखोलालाई पनि पुरानै स्वरूप दिने तयारी भएको छ।

गाउँपालिकाका पूर्व अध्यक्ष फेन्चोक छेप्तेन गुरुङ भन्छन्, ‘कागबेनीको बस्तीलाई उठाउने प्रयास भइरहेको छ। कागबेनीको बस्तीमा क्षति पुर्‍याएको कागखोलालाई पनि उसकै बाटोमा बग्नेगरि डुंगा, गिट्टी पन्छाइएको छ। चारैतिर फैलिएर बगेको खोलालाई एकीकृत गरेर एक ठाउँबाट बग्ने बनाइएको छ।’

अहिले कागखोलाको पानी १५ देखि २० मिटर फराकिलो बनेको ट्रयाकबाट एकीकृत भएर बगेको उनले बताए। ‘हिजो खोला निकै नै साँघुरो ठाउँबाट बगेको थियो। घरले खोलाको ठाउँ मिचेका थिए। तर, अब भने खोलालाई आफ्नै ठाउँबाट बग्न दिने गरी ट्र्याक खोलेका छौ,’ उनले भने, ‘तत्कालका लागि त्रास कम भएको छ। अहिले भन्दा भीषण बाढी आए त भन्न सकिन्न, नत्र तत्कालका लागि डर छैन।’

पूर्व अध्यक्ष गुरुङका अनुसार डोजर लगाएर फराकिलो ट्र्याक बनाइएको छ। छरपस्ट भएर बगेको पानी अहिले एकीकृत भएर बग्न थालेको छ। ‘खोलाको बगरभरि थुप्रिएको ढुंगा, गिट्टी, बालुवा पन्छाएर खोलाको लागि फराकिलो ट्र्याक बनाइएको छ,’ उनले भने, ‘हिजो कागबेनीमा खुम्चिएर बगेको कागखोला अहिले फराकिलो बनेर बगेको छ।’ उनले खोलाले पुरानै स्वरुप पाएको पनि बताए। ‘कागखोलाले पुरानै स्वरुप मागेको हो। हिजो साँघुरो बनाइदिँदा बस्तीमा पस्यो, अब पुरानै आकारमा बग्न दिनुपर्छ,’ उनले भने।

कागबेनीबारे अध्ययन हुँदै

अकल्पनीय बाढीको चपेटामा परेको कागबेनीको बस्तीको अवस्थाबारे अध्ययन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राविधिकहरु कागबेनी पुगेका छन्। कागबेनी पुगेका प्राधिकरणका प्राविधिक विरश मल्लका अनुसार गाउँपालिकाले क्षतिको विवरणसहितको रिपोर्ट पठाएको छ। त्यसबाहेक भौगोलिक रुपमा भविष्यको बसोबासबारे अध्ययन गर्न प्राविधिक टोली कागबेनी पुगेका हुन।

‘कागबेनीमा क्षति हुने गरी बाढी आउनुको कारण थाहा पाउन र भविष्यमा बस्तीको जोखिमबारे अध्ययन गर्न हामी आएका हौ,’ मल्लले भने, ‘बाढी आएको खोलाको मुहान धेरै नै माथि भएकोले तत्काल जान सक्ने अवस्था रहन्न। तर, कागबेनीमाथि भविष्यको जोखिमबारे भने अध्ययन हुनेछ।’

जलवायु परिवर्तनले हरेक वर्ष जोखिम बढाइरहेकोले अहिले भन्दा ठुलो बाढी खोलामा आउन सक्नेतर्फ सचेत भएर बस्ती बिस्तार गर्नुपर्ने उनले बताए। ‘खोलाको दूरी, बस्तीको अवस्था, खोलाबाट बस्तीलाई निम्तिएको जोखिम, भविष्यको सम्भावना लगायतबारे हामीले अध्ययन गर्ने हो,’ उनले भने, ‘भविष्यमा कुनैपनि बेला अहिले भन्दा पनि ठुलो बाढी आउन सक्ने भएकोले त्यसका लागि के गर्ने भन्ने अध्ययन हुनेछ।’ भविष्यमा हुनसक्ने क्षतिलाई कम गर्न अध्ययनले सघाउने उनले बताए।

प्रकाशित: २५ भाद्र २०८० १०:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App