कालिकोटको खाडाचक्र–१ मान्मको नावगैराबाट बिहीबार रातिदेखि बेपत्ता भएका आमा छोरा नेपालगन्जमा भेटिएका छन्।
श्रीमानसँग झगडा परेर कालिकोट जिल्ला अदालतमा अंश मुद्दा हालेकी सान्नीत्रिवेणी–१ लुसा माइती भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका ४ वर्षीय छोरा टेकेन्द्र शाही मान्म नावगैरास्थित कोठाबाट बेपत्ता थिए।
उनी मान्म बजारमा व्यवसाय गर्दै आएका दैलेख भगवतीमाई–५ कट्टीका दानबहादुर शाहीकी कान्छी श्रीमती हुन्। बिहीबार राति ९ बजे मान्म बजारको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठा गएका आमा छोरा बिहान नभेटिएपछि कुनै घटनामा परेको शंका गरिएको थियो। उनीहरु शनिबार दिउँसो नेपालगन्जको कारकोदोबाट सम्पर्कमा आएको प्रहरीले जनाएको छ।
कारकादोको एक होटलमा खाजा खान आएको बेला कालिकोटमा रहेकी भाउजूसँग फोनमा कुरा गरेपछि उनीहरुको अवस्था खुलेको हो। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक यज्ञराज जोशीले भने ‘बाँके प्रहरीले नियन्त्रणमा लिएर कालिकोट पठाउने तयारी गरिरहेको छ।’ आफन्तलाई अपहरणमा परेको भने पनि कालिकोट ल्याएपछि सबै प्रस्ट हुने उनले बताए।
बेपत्ता भनिएकी गीताले नेपालगन्जबाट भाउजू नाता पर्ने समिता सुवेदीलाई कालिकोट फोन गरेकी थिइन्। शुक्रबार बिहान ३ बजेतिर चर्पी जान ढोका खोलेको बेला ३ जनाले केही सुँघाएर आफूलाई बेहोस बनाइ अपहरण गरेको उनले फोनमा सुनाएको सुवेदीले बताइन्।
श्रीमानसँग झगडा परेर एक्लै बस्दै आएकी जैसी र उनका ४ वर्षीय छोरा बेपत्ता भएको खबर आएपछि प्रहरी खोजीमा सतर्क भएको डिएसपी अर्जुन केसीले बताए। आमा छोरा बेपत्ता रहँदा उनको मोबाइल कोठामै भेटिनुले घटना रहस्यमय बनाएको छ।
अदालतमा अंश र सम्बन्ध विच्छेदको मुद्दा हालेकी गीतालाई उनका श्रीमान् दानबहादुरले कुटपिट गरेर यातना दिने गरेको आफन्तले बताए। दुई साताअघि गीता र उनका छोरा मारिदिने र गत वर्ष लुसा भीरमा लडेर मरेका उनका बुवाको पनि आफैँले मान्छे लगाएर भीरबाट धकेल्न लगाएर हत्या गरेको फेसबुक म्यासेन्जरमा भनेपछि दानबहादुर प्रहरी हिरासतमा छन्।
प्रकाशित: २३ भाद्र २०८० १२:२७ शनिबार