२४ पुस २०८१ बुधबार
image/svg+xml
समाज

खोलाले खेत कटान गर्दा किसान चिन्तामा

रौतहटको गरुडा नगरपालिका ९, ८, ४ र २ हुँदै बग्ने चानी खोलाले धमाधम खेत कटान गरिरहेको छ। 

गत वर्ष नै खोलाले करिब एक कट्ठा खेत कटान गरेको गरुडा नगरपालिका २ गेडही गुठीका जेमिलाल साहले बताएका छन्। साहले गत वर्ष नै कर्मैयामा रहेको बागमती सिँचाइ कार्यालयमा रोकथामका लागि निवेदन दिएका थिए तर सम्बन्धित निकायले एक पटक निरीक्षणसमेत नगरेको गुनासो साहको छ।

यस वर्षको बाढीले कटान गर्दा थप एक कठ्ठाभन्दा बढी खेत कटान गरिसकेको छ। पूरै उब्जनी हुने करिब दुई कट्ठा आफ्नो मात्र खेत चानी खोलाले कटान गरिसकेको साहको दाबी छ। साहसँगै अन्य तीन जनाको खेतमा पनि कटान गर्दै खोलाले क्षति पु¥याएको छ।

खोला किनारमा लगाइएको बाँसको घारीका साथै सिमल, सिसौ र अन्य प्रजातिका गरी करिब एक सय रुखलाई नदीले कटान गरिसकेको साहको भनाइ छ।

खोलाले निरन्तर कटान गरेपछि साहले करिब तीन हप्ता पहिले कर्मैया पुगेर फेरि निवेदन दिएका छन्। निवेदन दिएको करिब तिन हप्ता भइसक्दा पनि हालसम्म कोही कर्मचारीले निरीक्षणको लागि सम्पर्क नगरेको साहको भनाइ छ।

बागमती सिँचाइ आयोजनामा गत वर्ष निवेदन दर्ता गराएदेखि दर्जनौँ पटक आफू त्यहाँ धाइसकेको तर कर्मचारीले हुन्छ भनेर आश्वासन मात्र दिएको साहको आरोप छ। आफूलाई लाखौँको क्षति भएको र अन्य किसानलाई पनि खोलाले क्षति पु¥याइरहेकोमा आयोजनाले समयमा निरीक्षण गरी खोलाले गरिरहेको कटान रोकथामका लागि आवश्यक कारबाही गर्न साहले अनुरोध गरेका छन्।

परेको निवेदनमाथि आयोजनाले विचार गर्नुपर्नेमा निवेदन दिएर ताकेता गर्न पनि आयोजना बेखबर जस्तो बन्दा किसानहरु निराश बन्न थालेका छन्। बागमती सिँचाइ आयोजनाले सर्वसाधारण किसानको समस्या नबुझेको गुनासो किसानहरुको रहेको छ।

यस विषयमा आयोजनाका साइट इन्जिनियर नवलकिशोर साहलाई सम्पर्क गर्दा उनको फोन भने उठेन।

प्रकाशित: २२ भाद्र २०८० १२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App