जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भई सजाय पाएका एक फरार अपराधीलाई सर्लाही प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ।
इलाका प्रहरी कार्यालय हरिपुर सर्लाहीका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाको नेतृत्वमा रहेको प्रहरी टोलीले हरिपुर नगरपालिका-५ का ७० वर्षीय सफी महमदलाई पक्राउ गरी जेल चलान गरेको हो।
सर्वोच्च अदालतले महमदलाई ९ वर्ष ११ महिना २८ दिन कैद ठहर गरेको थियो। महमदलाई प्रहरीले पक्राउ गरी सर्लाही जिल्ला अदालतमा पेश गर्दा अदालतले जेल चलान गरेको हो।
महमदलाई सजाय भुक्तानको लागि कारागार कार्यालय सिन्धुली पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी दीपेन्द्र पंजियार थारुले जानकारी दिए।
प्रकाशित: २१ भाद्र २०८० १५:४४ बिहीबार