१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कमाउन हैन लुम्बिनीको विकासमा योगदान दिन आएको हुँ: उपाध्यक्ष डा. लामा

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफू कमाउनको लागि नभइ लुम्बिनीको विकासमा योगदान दिन आएको बताएका छन्। आफनो कार्यकालमा लुम्बिनीमा महत्वपूर्ण काम गरेर देखाउने भन्दै उनले लुम्बिनी गुरुयोजना सम्पन्न गर्ने र मायादेवी मन्दिर पुनःनिर्माण गर्ने मुख्य उदेश्य रहेको बताए।

कोषको उपाध्यक्ष भएर आएपछि पहिलो पटक रुपन्देही, नवलपरासी र कपिलबस्तुका पत्रकारहरुसंग अन्तरक्रिया गरेका लामाले लुम्बिनीको विकासकालागि राष्ट्रिय अन्तराष्ट्रिय रुपमा आर्थिक श्रोत जुटाएर अगाडी बढ्ने योजन सुनाए। ‘गुरुयोजना सम्पन्न गर्न अझै ६/७ अर्व बजेट चाहिन्छ, तर सरकारी बजेट समयमै उपलब्ध होला नहोला, म बुद्ध धर्मको विश्व समुदायसंग प्रत्यक्ष जोडीएकाले ती फोरममा पुगेर श्रोत जुटाएर भएपनि लुम्बिनीको विकास गर्नेछु’ उपाध्यक्ष लामाले भने।

लुम्बिनीको विकास र प्रबद्र्धनकालागि समय अनुकुल गुरुयोजना परिमार्जन गर्नु पर्ने आवश्यकता रहेको भन्दै उनले त्यसकालागि सम्बन्धित क्षेत्र र निकायसंग परामर्स गर्नुपर्ने बताए। ‘लुम्बिनीमा ३००फिट अग्लो बुद्धमुर्ती बनाउन पाए त्यसले कती पर्यटक आर्कषित हुन्थे होलान तर त्यो गुरुयोजना भित्र पर्दैन,समस्या त्यही छ’ लामाले भने।

पूर्वमन्त्री समेत रहेका लामाले बुद्धत्व झल्किने गरी मायादेवि मन्दिर पुनःनिर्माण गर्नु पर्नेमा पनि जोड दिए। मायादेवि मन्दिर जिर्ण र जोखीमयुक्त बन्दै गएको भन्दै उनले बुद्धत्व झल्किने गरी आकर्षक डिजाइनमा मन्दिर पुनःनिर्माण गर्नु पर्ने बताएका हुन्। त्यसका लागि आफूले  ७ करोड आर्थिक सहयोग उपलब्ध गराउने पनि बताए। आफनो पुस्तेनी सम्पत्ती रहेको र एक्लो ज्यान भएकाले आर्थिक लोभलालच नहरहेको भन्दै उनले लुम्बिनीको विकासका लागि ७ करोड दिने घोषणा गरीसकेकाले सो रकम छिट्टै उपलब्ध गराउने बताए।

लुम्बिनीको विकासका लागि सबै पक्ष पारदर्शी गर्नेमा जोड दिदै उनले कर्मचारीहरुलाई आर्थिक अनुशासन र पारदर्शीता कायम राख्न निर्देशन दिए। कोषका कर्मचारीमा देखिएको काम नगर्ने प्रवृत्तिले पनि लुम्बिनीको विकास पछाडी परेको लामाले बताए। ’कर्मचारीमा आर्थिक पारदर्शीता संगै कामको जिम्मेवारीको पनि पारदर्शीता हुनुपर्यो, कोषमा जागीर मात्रै खाएर भएन जिम्मेवारी अनुरुपको योगदान भयो की भएन त्यसमा पनि पारदर्शी हुनुपर्छ’ लामाले भने।

विश्वमा रहेका डेढ अर्ब बौद्ध धर्मावलम्बीहरु मध्ये केही प्रतिशतलाइ लुम्बिनी ल्याउन सके देश विकासको आधार लुम्बिनी बन्न सक्ने उनले बताए। पर्यटकको बसाइ लम्ब्याउनका लागि लुम्बिनीसंगै कपिलबस्तु,नवलपरासीका बुद्धस्थलहरुलाइ समेटेर बृहत लुम्बिनीको विकासलाई अगाडी बढाइने बताए।

कपिलबस्तुको तिलौराकोट,कुदान,कोटिहवा, नवलपरासीको रामग्रााम,देवदहमा बिहार बनाएर बौद्ध पुजा तथा गतीविधिहरु गरेर पर्यटकको बसाइ लम्ब्याउने योजना रहेको बताए। लुम्बिनी भित्रका गुम्बा बिहारहरुले संचालन गरेको गेष्टहाउसहरु दर्ता गरी करको दायरामा आउनु पर्नेमा जोड दिए।

नेपालसंग अमुल्य लुम्बिनी तथा बुद्धसंग सम्बन्धित थुप्रै सम्पदा भएर पनि त्यसको महत्व बुझन नसक्दा देशले सोचेजती प्रगती गर्न नसकेको उनले बताए। ‘अन्य मुलुकसंग लुम्बिनी भएको भए ती राष्ट्रले सिंगो मुलुकको आर्थिक विकास लुम्बिनीबाटै  गर्न सक्ने गरी विकास र प्रबद्र्धन गर्ने थिए’ लामाले भने ‘तर हामीसंग अमुल्य लुम्बिनीसंगै बुद्धसंग सम्बन्धित थुप्रै सम्पदा भएर पनि तीनको महत्वलाइ समयमै उजागर गर्न नसक्दा पछि परेका छौं।’  

प्रकाशित: २१ भाद्र २०८० ११:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App