१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

रगत उपलब्ध गराउन सम्झौता

धरान नगरपालिका ९ का वासिन्दालाई उपचारमा आवश्यक परेमा सेवा शुल्कविना निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखा र वडा कार्यालयबीच सम्झौता भएको छ। नेपाल रेडक्रसको ६१औं स्थापना दिवसको अवसर पारेर मंगलबार रेडक्रस र वडा ९ कार्यालयबीच द्विपक्षीय सम्झौता भएको हो।

सम्झौतामा रेडक्रस सुनसरी शाखाका सभापति उमेश थापा र वडा नं ९ का अध्यक्ष रूपेश आचार्यले हस्ताक्षर गरेका छन्। रेडक्रसको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित ब्लड बैंकमा रगतका विभिन्न परीक्षण, ब्लड ब्याग लगायतका शुल्क एक हजार ५० रूपैयाँ तिर्नुपर्छ। यो सम्झौतापछि वडा नं ९ का वासिन्दाले बिरामी हुँदा रगत आवश्यक परेमा सेवा शुल्कवापत रकम तिर्नुनपर्ने भएको छ।

वडा ९ का अध्यक्ष आचार्यले वडावासीलाई सेवा पुर्‍याउनुका साथै आर्थिक अवस्था कमजोर भएकालाई विशेष राहतका लागि रेडक्रससँग सम्झौता गरिएको बताए। ‘गम्भीर प्रकृतिका बिरामीलाई रगत आवश्यकता पर्दा धेरै समस्या हुन्छ। आर्थिक अवस्था कमजोर भएकालाई राहत दिने पनि उद्देश्य हो’, उनले भने, ‘हामी नपाउने ब्लड ग्रुपको सूची राखेर, दाताको रेकर्ड लिएर जसरी पनि रगत उपलब्ध गराउने छौं।’

सम्झौतामा धरान वडा ९ का वासिन्दालाई उपचारका क्रममा रगत आवश्यक भए रेडक्रसले व्यवस्थापन गर्नुपर्ने उल्लेख छ। रगतको आवश्यकता भएका व्यक्ति धरान वडा ९ बसोवास गर्ने व्यक्ति हुनु पर्ने पत्रमा उल्लेख छ।

प्रकाशित: २० भाद्र २०८० ०३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App