भारतीय भेस्टिज नामक नेटवर्किङ व्यवसाय चलाएर पश्चिम नेपालका हजारौं नेपाली ठगिइरहेको खुलासा भएको छ। यसअघि युनिटी इन्टरनेसनल, ओरियन्स, विनविनले अवैध नेटवर्किङ व्यवसाय चलाएर सर्वसाधारणबाट लाखौं रूपैयाँ ठगी गरेका थिए।
पश्चिम क्षेत्रको ठूलो सहर नेपालगन्जबाट औषधिलगायतका अन्य सामग्री बजार मूल्यभन्दा तीन गुणा बढी मूल्यमा बेच्न नेपालीलाई एजेन्ट बनाएर कमिसन दिने प्रलोभन पार्दा ग्रामीण भेगका सर्वसाधारण नेपाली ठगिँदै आएको पाइएको छ।
खुलेआम रूपमा नेपालगन्जबाट एजेन्टले औषधिजन्य सामग्री किनेर बर्दियाको गुलरिया र कैलालीलगायतका बाँकेका ससाना बजारमा खुलेआम एजेन्टमार्फत व्यवसाय सञ्चालन गर्दै आएका छन्। एजेन्टलाई भेस्टिजको सामान खरिद गर्दा भ्याट काटे पनि सर्वसाधारणलाई हजारौंमा औषधि बेच्दा एजेन्टले भ्याट बिल नकाट्दा भ्याट छलीमा समेत भेस्टिज नेटवर्क संलग्न देखिन्छ। भेस्टिजको ग्राहक बन्न कम्तीमा पहिलो किस्ता ६ हजार बुझाउनुपर्ने हुन्छ। भेस्टिजको व्यवसाय विस्तारसँगै पछिपछि युटर्न, डिम्याक्सले समेत नेटवर्किङ व्यवसाय अघि बढाएका छन्।
यसअघि युनिटी इन्टरनेसनल हुँदै विनविन इन्टरनेसनलको नेटवर्क व्यवसाय ठगी धन्धा भएको घटना सार्वजनिक भएलगत्तै पश्चिम नेपालका गाउँगाउँमा जालो फैलाउन ओरियन्सको नेटवर्किङ व्यवसाय सफल भएको थियो। तत्कालीन बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले ओरियन्स नेटवर्किङ व्यवसाय संलग्न बर्दिया, बाँके, दाङबाट सदस्य बनेका पाँच सय बढी नेपालीलाई सचेत गर्दै सातजना नाइकेविरुद्ध कानुनी कारबाही अघि बढाएको घटनापछि ओरियन्सको जालो पलायन भए पनि पछिल्लो समय भेस्टिज नामक नेटवर्किङ व्यवसायमार्फत नेपाली ठगी गर्ने गिरोह सक्रिय भएको पाइएको छ।
अधिकांश भेस्टिजका एजेन्ट बन्ने स्थानीय व्यवसायी छन्। कमिसनको प्रलोभनमा परेर गुणस्तर पहिचान नभएको औषधिजन्य सामग्री बिक्री गर्दा अन्य कम्पनीका सामग्री बिक्री वितरण प्रभावित भएको स्वयं व्यवसायी स्वीकार्छन्। भेस्टिजका एजेन्ट कतिजना छन् कसरी जालो फैलाइएको छ भन्ने प्रशासनसँग यकिन तथ्यांक छैन।
यसअघि नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने कम्पनीले सस्तोमा औषधि बिमा पोलिसी बनाएजस्तै भेस्टिजले औषधि बेच्न गरिब बस्तीका सर्वसाधारणलाई सदस्य बनाएको हो। ‘मेरी पत्नीलाई समेत एजेन्ट बनाएर औषधि बेच्न लगाएको नाम नखोल्ने शर्तमा एक व्यवसायीले भने, ‘भेस्टिज नेटवर्किङ नामक व्यवसायले नेपाली ठग्ने उद्देश्यले भारतीयले नेपाली एजेन्ट परिचालन गरिरहेको छ।’
भेस्टिजले भारतको उत्तराखण्ड हरिद्वारमा औषधिजन्य सामग्री उत्पादन गरेर दिल्ली हँुदै नेपाल भिœयाइरहेको छ। भेस्टिजका एजेन्टले औषधि उत्पादन धादिङ जिल्लामा गर्ने गरेको भनी सर्वसाधारणलाई विश्वास दिलाउने गरेको भेटिएको छ। टाठा–बाठालाई एजेन्ट बनाएको भेस्टिजले सर्वसाधारणलाई औषधिलगायतका सामग्री बेचेवापतको कमिसन भुक्तानी दिन थालेपछि गोप्यरूपमा नटवर्किङको जालो गरिब ग्रामीण बस्तीसम्म पुगेको हो। भेस्टिजका एजेन्ट राजनीतिक दलका पहुँचवाला व्यक्ति रहेको खुलेको छ।
गुलरिया नगरपालिका ३ का ४५ वर्षीय सीताराम गोडिया ३० वर्षअघि हात्ती पाइले रोगबाट पीडित रोगी हुन्। १८ हजार रूपैयाँ असुल गरेर भेस्टिज एजेन्टले तीन किसिमका औषधि प्रयोग गर्दा रोग बल्झिएपछि बर्दिया अस्पतालमा भर्ना भएका छन्। पीडित गोडियाका अनुसार भेस्टिजका एजेन्टले दिएको औषधि प्रयोग गर्दा खुट्टा सुनिन थालेपछि अस्पताल भर्ना भएका थिए। एजेन्टले रोग सञ्चो गर्ने ग्यारेन्टी गरेपछि गोडियाले औषधि किनेर प्रयोग गरेका थिए।
गोडियालाई औषधि दिने डाक्टर नामका तीनजना एजेन्टलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरी छाडेको छ। प्रहरी अनुसन्धानबाट सामान्य औषधि दिएर बढी मूल्य लिएको खुलासा भएको छ। नेटवर्किङ बिजनेसलाई नेपाल सरकारले प्रतिबन्ध लगाए पनि सर्वसाधारणसँग गिरोहले रकम असुल गरिरहेको पाइएको छ। स्रोतका अनुसार पश्चिम क्षेत्रका भारत र नेपालासँग सीमा जोडिएका दर्जनभन्दा बढी गाउँमा नेटवर्किङ बिजनेसबारे प्रचार–प्रसार गरी गिरोह रकम उठाउन सफल भएको छ। भारतीयले नेपाली युवायुवतीलाई नाम चलेका होटलमा राखेर प्रशिक्षण दिने गरेको छ।
प्रकाशित: १८ भाद्र २०८० ०१:३८ सोमबार