गत नोभेम्बर २२ मा मानव जनसंख्याले ८ अर्ब नाघेको छ। मानिसले अहिले पृथ्वीमा आधिपत्य जमाएको छ र मानवीय क्रियाकलापका कारण प्राकृतिक सन्तुलन बिथोलिँदा कैयौं जीवजन्तु लोप भएका छन्। तर पृथ्वीमा एकछत्र राज्य गरिरहेका आधुनिक मानवका पूर्वजहरू कुनै बेला झन्डै विलुप्त हुने संघारबाट गुज्रिएको चिनियाँ वैज्ञानिकहरूले गरेको एक अध्ययनले देखाएको छ।
आधुनिक मानवका ३ हजार नमुनाको आनुवंशिक उपक्रम (जिनोम सिक्वेन्स) अध्ययनले ९ लाख ३० वर्षअघि प्रतिकूल वातावरणीय अवस्था, जलवायुमा आएको अकस्मात् परिवर्तनलगायत अन्य कारणले पृथ्वीमा प्रजननयोग्य मानव पूर्वजको जनसंख्या १२ सय ८० मा खुम्चिएको वैज्ञानिक जर्नल साइन्समा गत साता प्रकाशित प्रतिवेदनमा उल्लेख छ। यो नतिजामा पुग्न वैज्ञानिकहरूले समान प्रजातिमा जनसांख्यिक उद्विकास कसरी भयो भनेर समीक्षा गर्न राइट फिसर मोडलका आधारित रहेको कोएलेसेन्ट विधिको अवलम्बन गरेका थिए।
हजारौं वर्षअघि भएको जनसंख्यागत उतारचढाव आधुनिक मानवको आनुवंशिक उपक्रममा मुखरित हुने आधारमा चिनियाँ वैज्ञानिकले यो अध्ययनका लागि जनसंख्या आकलन गर्ने ‘फिटकोल’ नामक अनुसन्धात्मक उपकरणको सहायता लिएका थिए। अध्ययनका क्रममा १० फरकफरक खाले अफ्रिकी जनसंख्या र ४० गैरअफ्रिकी जनसंख्याका ३ हजार आनुवंशिक नमुनाको समीक्षा गरिएको थियो। उद्विकासका विभिन्न चरणमा समयक्रमसँगै वंशाणुमा हुने उत्परिवर्तन (म्युटेसन) को सम्भावना र सम्भावित जनसंख्याका आकारलाई मध्यनजर गरेर वैज्ञानिकले उक्त समीक्षात्मक अध्ययन गरेका थिए।
‘हाम्रो अध्ययनले अत्यधिक बोटलनेक प्रभावले मानव पुर्खा विलुप्त हुने संघारमा पुगेको र वर्तमान मानव प्रजातिको आनुवंशिक विविधतालाई सम्पूर्ण रूपमा नयाँ आकार दिएको देखाएको छ,’ युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सका अनुसन्धानकर्ताले प्रतिवेदनमा भनेका छन्। वैज्ञानिकले बोतलको घाँटी सानो हुने तथ्यसँग तुलना गर्दै यसलाई ‘बोटलनेक असर’ भनेका छन्।
अध्ययनका अनुसार ९ लाख ३० हजार वर्षदेखि ८ लाख १३ हजार वर्षअघिको अवधिमा प्रजननयोग्य मानव पूर्वजको जनसंख्या त्यसअघिको १ लाखबाट घटेर मात्र झन्डै १ हजारमा खुम्चेको थियो र अर्काे १ लाख वर्षसम्म यही संख्याको हाराहारीमा त्यो जनसंख्या रहेको अध्ययनले देखाएको छ। ‘त्यो अवधिसम्म झन्डै ९८.७ प्रतिशत मानव पुर्खा विलुप्त भएका थिए,’ अध्ययनमा सहनेतृत्व गरेका युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सका जनसंख्या आनुवंशिकीविद् हाइपेङ लीलाई उद्धृत गर्दै नेचर अनलाइनले बताएको छ।
९ लाख ५० हजार वर्षदेखि ६ लाख ५० हजार वर्षअघिसम्मको मानव पुर्खाको जीवाश्म अभिलेख अस्पष्ट भएको चर्चा गर्दै उनले यो नतिजाले कालक्रमिक अन्तराललाई प्रस्ट पार्ने उनको दाबी छ। सो अध्ययन एकेडेमीका वैज्ञानिक वाङजी हुको नेतृत्वमा रहेको वैज्ञानिकहरूले गरेका थिए।
अध्ययनमा सहभागी नभएका नेचुरल हिस्ट्री म्युजियम लन्डनका प्यालियोएन्थ«ोपोलोजिस्ट क्रिस स्ट्रिन्गरले यो ‘बोटलनेक’ प्रभाव धेरै अवधिसम्म कायम रहेकाले त्यो अवधिमा मानव पुर्खा विलुप्त हुने संघारमा पुगेको देखिएको स्मिथोसोनियन म्यागेजिनलाई बताएका छन्।
आनुवंशिकविद्हरू यो थोरै जनसंख्याका कारण सजातीय प्रजनन बढेको र मानव वंशाणुको विविधता क्षयीकरण भएको बताउँछन्।
यसैगरी यही जनसंख्यागत ‘बोटलनेक’ प्रभावका कारण नयाँ मानव प्रजातिहरूको विकास भएको तर्क कतिपयको छ। मानव उद्विकासको स्थापित समयसारिणीअनुरूप नै भौगर्भिक हिसाबले प्लेस्टेसिन युगको अन्त्यताका देखिएका नेयनडरथल, डेनिसोभान्स र आधुनिक मानव प्रजातिको साझा पुर्खा यही बोटलनेक अवधिमा विकास भएको हुन सक्ने मानिएको छ। पछिल्ला यी तीन मानव प्रजातिको साझा पुर्खा ५ देखि ७ लाख वर्षअघिका रहेको मान्दा हालसम्म भएका आनुवंशिक प्रमाणसँग यो नतिजा मिल्ने देखिन्छ।
यसरी अकस्मात् मानव पुर्खाको जनसंख्या किन घट्यो भन्नेमा यकिन उत्तर नभए पनि त्यो अवधिमा पृथ्वी चिसिएका कारण हिमवत् क्षेत्रको आकार बढेको, समुद्र चिसिएको, लामो समयसम्म खडेरी परेको तथा कडा मनसुनको अवस्था रहेको वैज्ञानिक तर्क छ। अफ्रिका र युरेसियाका वन्यजन्तुका प्रजातिमा यो अवधिमा ठुलो परिवर्तन आएको मानिन्छ।
अध्ययनले लामो समयसम्म प्रतिकूल अवस्थामा पनि थोरै संख्यामा मानव पुर्खा बाचेको र कालान्तरमा अनुकूल वातावरण सिर्जना भएपछि पुनः जनसंख्यामा बढोत्तरी भएको देखाएको छ। अध्ययनअनुसार ८ लाख १३ हजार वर्षअघि अध्ययनमा समेटिएका अफ्रिकी जनसंख्या २० गुणाले बढेको पाइएको छ। गत साता सार्वजनिक नतिजालाई थप अध्ययनले प्रमाणित गर्नुपर्ने विस्कन्सिन विश्वविद्यालयका जनसंख्या आनुवंशिकविद् आरोन ¥याग्सडेएल ठान्छन्। ‘अध्ययनमा अवलम्बन गरिएको फिटकोल विधिले प्रजननयोग्य जनसंख्याको आकलन गरेकाले सही जनसंख्या त्योभन्दा ठुलो हुन सक्छ,’ ¥याग्सडेयललाई उद्धृत गर्दै स्मिथोसियन म्यागेजिनले लेखेको छ। हालसम्मको अध्ययनका आधारमा मानव उद्विकासका क्रममा २१ भन्दा बढी मानव प्रजाति रहेको मानिन्छ।
मानव पूर्वजका अध्ययनलाई वैज्ञानिक आधार दिन डिएन विधि आधिकारिक मानिने भए पनि अहिलसम्म संकलन भएको मानव पुर्खाको डिएन ४ लाख वर्ष मात्र पुरानो रहेको छ। मानव उद्विकासको केन्द्र मानिने अफि«काको प्रतिकूल मौसमका कारण मानव जीवाश्ममा डिएन सुरक्षित रहन कठिन हुन्छ। मानव पुर्वजले प्रयोग गर्ने औजार, भाँडाकुँडा, उत्खनन भएका हाडहरूलगायतको अध्ययनका आधारमा पुर्खाको आहार, आनीबानी, हिँडडुल, संस्कृतिलगायत विषयमा वैज्ञानिकहरूले प्रमाण जुटाउने गर्छन्।
प्रकाशित: १८ भाद्र २०८० ००:५३ सोमबार





