१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

नेपालगन्जका कार्यबहाक वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अनुदानको रकम प्राप्त गराइदिने भन्दै सेवाग्राहीबाट घुस लिएका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-१३ का तत्कालीन कार्यबहाक वडाध्यक्ष दिलावर कवडियाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिगो रकम र कैद सजायको माग गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।

वडा सदस्यसमेत रहेका कवडियाले अनुदानको लागि सिफारिस गरिदिएबापत सेवाग्राहीसँग नौ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारले असार १ गते उनीसँगै कार्यालय सहयोगी गंगाराम पासीलाई पक्राउ गरेको थियो। अनुसन्धानका बखत उनीहरुलाई हाजिरी जमानतमा छाडिएको थियो।

अनुसन्धानपछि तत्कालीन कार्यबहाक वडाध्यक्ष तथा वडा सदस्य कवडियाविरुद्ध मात्र आरोप पत्र दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जका सूचना अधिकारी झलक केसीले जनाए।

पशु फर्म निर्माण कार्य सम्पन्न भएपछि अनुदान रकम प्राप्त गर्नका लागि वडा कार्यालयबाट सिफारिस गरिदिएबापत उनले सेवाग्राहीसँग घुस लिएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो नौ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगोबमोजिम जरिवानाको सजायसमेत हुन मागदाबी लिई विशेष अदालतमा आरोप पत्र दायर भएको उनी बताउँछन्।

भ्रष्टाचार आरोपमा पक्राउ परेका तत्कालीन कार्यबहाक वडाध्यक्ष तथा वडा सदस्यलाई निलम्बन गरिएको वडाध्यक्ष सुरेशसिंह ठाकुरले जनाकारी दिए।

प्रकाशित: १४ भाद्र २०८० १२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App