२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धरानमा इटहरीकी महिलाको हत्या

लेनदेनको विषयले हत्या भएको प्रहरीको अनुमान

यशोदा श्रेष्ठको हत्या भएको धरान १७ स्थित टेकबहादुर दर्जीको घर (दायाँ) र ससुराली घर (बायाँ)। तस्बिर: रोहित राई/नागरिक

आर्थिक लेनदेनको विवादमा धरानमा एक महिलाको हत्या भएको छ। धरान-१७ स्थित साउने बस्तीमा इटहरी-२ की ४४ बर्षीया यशोदा श्रेष्ठको गए राती हत्या भएको हो। 

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार धरानका टेकबहादुर दर्जीले श्रेष्ठको हत्या गरेको र अनुसन्धानको लागि उनलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेका दर्जीले मृतकको शव लुकाउन प्रयास पनि गरेको पाइएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानको लागि प्रहरीले मुख्य आरोपितका २ जना सालोलाई पनि नियन्त्रणमा लिएको छ। घटनामा उनीहरुको संलग्नता भने खुलिसकेको छैन।

‘प्रारम्भिक अनुसन्धानमा लेनदेनको विषयले हत्या भएको भन्ने देखिएको छ। थप विवरण विस्तृत अनुसन्धानपछि मात्र आउँछ,’ उनले भने, ‘शवको मुचुल्का उठाएर पोष्टमार्टमको लागि वीपी हस्पिटल लगेका छौं। जाहेरी पनि परिसकेको छ।’

मृतक श्रेष्ठ हत्या आरोपित दर्जीको घरमा कसरी पुगे भन्ने पनि प्रष्ट भइसकेको छैन। दुबैबिच आर्थिक लेनदेन भएको र सोही विवादमा हत्या भएको हुनसक्ने अनुमान छ। पक्राउ परेका दर्जीले मृतक श्रेष्ठले आफ्नो पैसा फिर्ता दिन धेरै पटक आनाकानी गरेकोले हत्या गरेको बयान दिएका छन्।

‘पैसा लिनुपर्ने थियो भने किन हत्या गरेको हो ? ती महिलाले पो लिनुपर्ने थियो कि ? अनुसन्धान गर्दैछौं,’ डिएसपी मल्लले भने।

स्थानीय जय बि.कका अनुसार हत्या आरोपी दर्जीलाई ससुराले नै छोरी ज्वाँईलाई घरमा बस्न दिएका थिए। छोरी ज्वाँई र ससुरा बस्ने घर जोडिएको छ। राती करिब ११ बजेतिर ससुरा डिल्लीमान दर्जी आफ्नो घरमा आएर आपत् पर्‍यो भन्दै जानकारी दिएपछि मात्र प्रहरीलाई जानकारी दिएको उनले बताए। घटना भने साँझ करिब ६ बजेतिर भएको थियो।

‘मैले मान्छे मारेकै हो, तपाईँहरू चिन्ता नलिनु भन्दै थियो। कान्छा सालोले नै कोठामा थुनिदियो,’ उनले भने, ‘घरमा हेर्दा कपडाले पोको पारेर राखेको थियो। पछि प्रहरी आएर हेर्दा टाउकोमा चोट देखियो।’

हत्या आरोपी दर्जी २ वर्षदेखि मात्र साउने बस्तीमा ससुरालीले दिएको घरमा बस्न थालेका हुन्। मृतकले आफ्नो पैसा चलाएको र पटक पटक माग्दा पनि नदिएको दर्जीले बताएको छिमेकी बि.कले बताए।

बजारमा मृतकलाई भेटेको र घरमा ल्याएर कुरा गर्दा हिर्काएको र धेरै चोट लागेको देखेर हत्या गरेको बताएको पनि उनले बताए।

प्रकाशित: १४ भाद्र २०८० ११:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App