१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धार्मिक सद्भाव र सहिष्णुता कायम राख्न अपिल

विश्व हिन्दू धर्ममा आस्था राख्ने धार्मिक सम्प्रदायहरूले कसैको धार्मिक तथा सांस्कृतिक आस्थामा आँच आउने गरी क्रियाकलाप नगर्न र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। मंगलवार विश्व हिन्दू महासंघद्धारा आयोजित ‘धार्मिक सद्भाव तथा सहिष्णुता’ विषयक प्रवचन गोष्ठीका सहभागी धार्मिक गुरु तथा विद्धानहरूले यस्तो आग्रह गरेका हुन्।

उनीहरूले एक साताअघि धरानमा गोरु मारिएको कदमले करोडौ हिन्दू धर्ममा आस्थावान् नागरिकहरूको आस्थामा खलल पार्ने कदम भएकोमा गुनासो व्यक्त गरेका छन्। बहुभाषाी, बहुधर्मी, बहुसांस्कृतिक नेपाली समाजमा एक अर्काको आस्थामा सदभाव कायम रहेकोमा पछिल्लो समय सद्भाव खलबलिने गतिविधि बढ्दै गएको औल्याए। उनीहरूले गाई संविधानमै व्यवस्था भएअनुसारको राष्ट्रिय जनावर र हिन्दूहरूको आस्थाको प्रतिक गौमाता भएकाले नेपालमा गाई काटिने विषयले धार्मिक द्वन्द्व निम्ताउने सम्भावना बढेकोमा चिन्ता प्रकट गरे। ‘गाईको सम्बन्ध मानवको रक्षादेखि उत्पादनसम्म भूमिका रहेकाले हिन्दूहरूले गाईको पूजा गर्दै आएको देखिन्छ’ विश्व हिन्दू महासंघका उपाध्यक्ष तथा पूर्वमन्त्री दीनबन्धु अर्यालले भने।  

सनातन हिन्दू धर्मालम्वीको वसोवास रहेको देशमा सदियौदेखि बहुधर्मी र बहुसांस्कृतिक समूहहरू बिचमा सदभाव कायम रहँदै आएकोमा अबका दिनहरूमा पनि धैर्यपूर्वक त्यही सम्बन्ध र सदभाव कायमै राख्नुपर्ने संस्कृतिविद् तथा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले बताए।

शिव, बुद्ध, भृकुटी, शिव, राम, गोरखनाथ, देवर्षि र महर्षी जस्ता मानव र सम्पूर्ण प्राणी जगतबारे चिन्तन गर्ने साधकहरूको  भूमिबारे बझाइ नपुगेर अहिले नेपालमा अनेक गतिविधि अघि बढेको र त्यसको वास्तविक शिक्षा आम मानिसमा पु¥याउन आवश्यक देखिएको डा. गुरुङले बताए।

‘वेद, पुराणमा ज्ञान मार्गदर्शन उच्च तहको छ, तर त्यसको विषयमा धेरैले बुझ्न पाएका छैनन’ उनले भने। गुरुङले पाश्चत्य जगतमा कार्लमार्क्सले वर्गसंघर्षबाट वर्गविहीन समाज निर्माण गर्न  सकिन्छ भन्ने विषयलाई पूर्वीय दर्शनमा समन्वयवादी चिन्तनबाट समतामुलक समाज निर्माण गर्न सकिन्छ भन्ने दर्शन बोकेको छ’ उनले भने।

‘वेदमा ब्राम्हण हुनु भनेको असल चरित्र हुनेले मात्र पाइन्छ भनेको हो,बाहुन भएर जन्मिंदैमा ब्राम्हण बन्दैन, असल चरित्र पालना नगर्ने स्वत: राक्षण हुन’ उनले भने।

सबै जातजाति, क्षेत्रले अपनाउने  सांस्कृतिक अभ्यास एउटै भए पनि पद्धति मात्र फरक रहेको गुरुङले  औल्याए। ‘पदार्थ मात्र भिन्नै हो,पद्धति एउटै हो’ उनले भने।

सोही क्रममा  विश्व हिन्दू महासंघकी  कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले हिन्दू धर्मको रक्षाको लागि अपिल गरिन्।

‘हामीले पूजा गर्दै आएका गौमाता र हाम्रो धर्ममाथि अनास्था फैलाउने जुन क्रियाकलाप भइरहेका छन्, उनीहरूलाई पनि सदबुद्धि आओस् भन्ने प्राथना गर्दछु’ उनले भनिन्।

भण्डारीले  क्षमाशील भएर अघि बढ्नका लागि हामी हाम्रो वेद, गीतावाट ज्ञान प्राप्त गरेको हुनाले संयमित भएर अघि बढ्न अपिल गरिन्। ४२ वर्ष अघि विश्व हिन्दु महासंघ स्थापना भएको अहिले औचित्य पुष्टि भएको बताउँदै अहिले पनि विश्व हिन्दू महासंघ  सामाजिक सद्भाव र धामिर्क सहिष्णुताको भावनाले अघि बढ्ने प्रतिबद्धता जाहेर गरिन्।

कार्यक्रममा बोल्दै सांसद् तथा र्पूर्वमन्त्री पशुपति समशेर जवराले धेरै क्रषिमुनिहरूले साधना गरेको देश नेपालमा कुनै पनि अशान्ति फैलाउने खालका गतिविधि नगर्न आग्रह गरे।

‘बुद्ध, सीताको जन्मभूमि रहेको यो देशमा कुनै पनि सामाजिक सद्भाव खलबलाउने गतिविधि रोकिनुपर्छ’ उनले भने।

राम जानकी धाम मन्दिरका उत्तरधिकारी महन्थ रामरोशन दासले नेपाल अनेकतामा एकता भएको देश भएकाले सामाजिक सद्भाव खलबलाउने गतिविधि नगर्न अनुरोध गरे। ‘ओमकार परिवारको धरोहर गाई गोरु काट्न सुरु भएको छ,सबैमा सहिष्णुताको सद्बुद्धि आओस, पशुपति नाथको क्षेत्रबाट प्राथना गर्दछु’ उनले भने।

सोही क्रममा विश्व हिन्दू महासंघले जजमान गुरुङलाई नेपाल क्रषिको उपाधिले सम्मानित गर्नुको साथै विश्व हिन्दू महासंघको वरिष्ठ सल्लाहाकारमा नियुक्ति गरेको छ। कार्यक्रममा हिन्दू धर्ममा आस्थावान् विभिन्न सम्प्रदायका दर्जनौ समूह सहभागी थिए। कृष्ण प्राणामी, जैन, राम,बौद्ध  लगायत विभिन्न धार्मिक समुहका गुरुहरूले कसैको धार्मिक आस्था माथि खलल पुग्ने गरी व्यवहार नगर्न अनुरोध गरेका छन्।

प्रकाशित: १३ भाद्र २०८० ०७:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App