१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

‘बाढीले कोख रित्याइदियो, यस्तो अरु कसैलाई नहोस्’

बाढीले घर भत्किदा तीन छोरी गुमाएका राप्तीसोनारी गाउँपालिका–४ निवासी कमिलाल थारु । तस्बिर : अर्जुन ओली

बैजापुर – बाढीले भत्काएका घर पुनःनिर्माणमा छिमेकीहरु जुटिसकेका छन् ।  कमिलाल थारु भने अहिले पनि शोकमै छिन् । बाढीले कोखै रित्याइदिएपछि ३२ वर्षीया उनकी श्रीमती फुलकुमारी आफन्त कहाँ विछिप्त अवस्थामा छिन्, भने कमिलाल भत्केको घरको वरिपरी टोलाएर समय बिताउँछन् । ‘श्रीमतीलाई दिदीसासुको घरमा राखेको छु, म चाँहि यताउता गरिरहन्छु,’ ३६ वर्षीय कमिलालले नागरिकसँग भने ‘छिमेकीले घरभित्र पुरिएका सामान निकाल्न थालिसके, मैले त आँट्न सकेको छैन्, घरतिर आउँदा मन रुन्छ ।’

एक महिनाअघि असार ९ गते  मात्र १३ महिने कान्छी छोरीको बिरामी परेर मृत्यु भएको थियो । त्यसको पीडा सेलाउन नपाउँदै साउन अन्तिम साता शुक्रबार आएको बाढीले घर भत्काउँदा कक्षा ६ मा पढ्ने जेठी छोरी अन्जु, कक्षा ४ मा पढ्ने माइली छोरी सरिता र कक्षा २ मा पढ्ने साइली छोरी सुस्मिताले पनि अकालमा ज्यान गुमाए । 

राप्तीसोनारी गाउँपालिका वडा नम्वर ४ लालपुरमा त्यसदिन राती करिव १ बजेतिर राप्तीको बाढी पसेर गाउँभरी वितण्डा मच्चायो । छोरीको शिक्षा दिक्षा र परिवारको खर्च टार्न कमिलाल ज्याला मजदुरीका लागी पोखरा गएका थिए । साउन १८ गते मात्र उनी श्रीमती फुलकुमारीलाई घरको जिम्मा लगाएर गाउँका साथीहरुसँग कामका लागी पोखरा गएका थिए । गाउँमा बाढी पसेको कुरा शुक्रबार राती ४ बजेतिर मात्र उनले थाहा पाए । ‘बिहान ४ बजेतिर साथीको फोनबाट खबर पाए, घरमा छोरीहरु सबै पुरिएको कुरा सुनेपछि म छांगाबाट खसेझै भए,’ कमिलालले भने। 

गाउँमा आउँदा बाढीको केही अवशेष बाँकी थियो । घरतिर जाने प्रयास गरेपनि जताततै बाढी थियो । ‘म गाउँमा पुग्दा श्रीमतीलाई दिदीसासुको घरमा लगिसकेका रहेछन, तीन छोरीलाई दाहसंस्कार गरिसकेका कारण मैले मुख देख्नै पाईन्,’ कमिलालले सुनाए । पति घरमा नभएको समयमा बाढी आयो । बाढीले पुरै गाउँ डुबाएको थियो। फुलकुमारीले छिमेकीसँग गुहार मागेपनि कसैले सुनेनन्। कमिलालले थपे, ‘सायद म घरमा हुन्थ्ये भने तीन छोरीको ज्यान जोगाउन सक्थ्ये होला, घरमा नभएको मलाई पछुतो छ, बाढीले हाम्रो कोख नै रित्याइदियो, यस्तो अरु कसैलाई पनि नहोस्।’

बाढीले लालपुर अधिकांस ध्वस्त भएको छ । राप्ती नदीले गाउँ नजिकै कटान तिव्र पारेकाले बाढीको थप जोखिम बढेको छ । सरकारले हरेक वर्ष पीडित परिवारलाई राहत वितरण गर्नुभन्दा सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गरिदिनुपर्ने उनी बताउँछन् । बाढीले आफ्नो कोख रित्याइदिएको पीडा एकातिर त छदैछ, अर्कोतिर भत्केको घर कसरी ठड्याउने भन्नेमा कमिलाललाई अर्को चिन्ता छ । सम्पत्तिको नाममा उनीसँग २ कठ्ठा जमिन मात्र छ । काम नगरेर वर्षभरी खान पुग्दैन । बाढीले भत्काइदिएको घर एक्लो प्रयासले बनाउन आँट गर्न सकेका छैनन्।

सरकारले कमिलालको परिवारलाई राहत स्वरुप ६ लाख रुपैयाँ उपलब्ध गराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले केहीदिन अघि बाढी प्रभावित क्षेत्रमै पुगेर पीडित कमिलाललाई चेक हस्तान्तरण गरेका थिए । ‘कसैको ज्यानलाई पैसासँग तुलना गर्न मिल्दैन, पीडितलाई राहत बाँड्नु भन्दा सरकारले कतै राम्रो बासको व्यवस्था गरिदिनुपर्छ ।’ सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गरिदिए फेरीपनि कसैले अकालमा ज्यान गुमाउनु नपर्ने उनको भनाई छ। 

प्रकाशित: ३ भाद्र २०७४ ०८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App