रौतहट- रौतहटको दूर्गा भगवती गाउँपालिका ४ मा रहेको एउटा दलित बस्ती नै बाढीले बगाएको छ। करिब पाँच सय घरपरिवार रहेको बडहर्वा गाउँमा करिब चार सय घरपरिवारलाई घरविहीन बनाइदिएको छ।
दुसाध जातिको बस्ती रहेको बडहर्वाका विस्थापितहरु बागमती नदीको तटबन्धमा लहरै त्रिपालमा गुजारा गरिरहेका छन्। घरसँगै सम्पूर्ण सम्पत्ति बगाएपछि बालबच्चासहित तटबन्धमा सानो त्रिपालमा बस्न बाध्य भएको सुरेन्द्र हजारीले जानकारी दिए। 'सरकार, केही गरी बास देऊ। एउटै त्रिपालमा घरका सबै सदस्य र बाख्रा पनि सँगै राखेर पशुजस्तै सुत्नु परेको छ,' उनले भने।
त्रिपालको जिन्दगी महिलाहरुको लागि अझ कष्टकर भएको सिरिया पासवानको भनाइ छ। सुत्न, लुगा फेर्न र अन्य नित्य कर्म महिलालाई निकै कठिन भएको व्यथा सिरियाले पोखिन्। 'एउटै त्रिपालमा परिवारका सारा सदस्यको ओछ्यान, खाने, लाउने र अन्य बन्दोबस्तीको सामान राखेर दिउँसोको गर्मीमा गुम्सिनु कसैलाई नपरोस्,' उनले भनिन्। उनले सरकारले आफ्नो पुरानो ठाउँमा बासको व्यवस्था मिलाइदिन आग्रह गरे।
बाढीले दलित बस्तीको विनाश गरेकाले पुनर्निर्माण हुनुजत्तिकै व्यवस्थापनको आवश्यकता रहेको स्थानीय समाजसेवी वीरेन्द्र साहले बताए। बाढी प्रभावित बहडर्वामा राहत अपुग रहेको उनको भनाई छ।
निजी क्षेत्रको प्रयासमा शुक्रबार एक सय सत्तरी बोरा चामल, चिउरा, चाउचाउ, बिस्कुट लगायतको सामग्री पीडितलाई वितरण गरिएको छ। राहत पीडितको अनुपातमा राहत निकै कम आउँदा बाढी पीडितमा आक्रोश पनि देखिएको छ। कम्तीमा हरेक पीडित परिवारमा एक पोका राहत दिनुपर्ने पीडितको माग छ।
प्रकाशित: ३ भाद्र २०७४ ०६:३८ शनिबार