१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

फोइमा स्याउ पाक्याे, सडक र कोल्डस्टोरको अभावले किसान चिन्तित

क्याप्शनस्याउ पाकेपछि राताम्मे फोइ ।

कालिकोटको तिलागुफा नगरपालिका अहिले स्याउ पाकेर राताम्मे भएको छ । नगरपालिकाको फोइमहादेवमा किसानले लगाएका स्याउले बगैँचाहरूमा भिडियो र टिकटक बनाउनेहरूको पनि भिड उत्तिकै छ ।  

तिलागुफा—३ का लोकबहादुर शाहीको स्याउ बगैँचामा पुग्ने जोकोही हिजोआज टिकटक तथा भिडियो बनाएर फर्किने गरेका छन् । टाढैबाट उनको बगैँचा राताम्मे देखिन्छ । ‘गत वर्षभन्दा यो वर्ष स्याउ धेरै फलेको र दाना पनि निकै ठूला भएका छन्’ उनले भने, ‘यसपाली धेरै स्याउ फलेको छ र दाना पनि गुणस्तरीय छन् ।’

उनको स्याउ किन्न बगैँचामै व्यापारी आइसकेका छन् । उनी आफ्नो स्याउ बिक्रि गर्ने तयारीमा पनि छन् । बगैँचामा ९ क्विन्टल जति स्याउ उत्पादन हुने उनको अनुमान छ । पहिले उनी गाउँमै स्याउ लगेर बेच्थे । तर, यसपटक बगैँचामै व्यापारी आइपुग्दा खुशी छु ।’

उनले आफ्नो बगैँचामा रोयल र गोल्डेन जातका स्याउ लगाएका छन् । हाल बगैँचामै व्यापारीले प्रतिकिलो ४० रुपैयाँमा स्याउ किनिरहेका छन् । बगैँचामा तीन सय स्याउका बुट्टा छन् । जसमध्ये एक सयले फल दिन थालिसकेका छन् ।  

लोकबहादुर जस्तै फोइमहादेवमा स्याउ खेती गर्ने अन्य किसान पनि खुशी छन् । यो समयमा तिलागुफाको फोइमहादेवको दहचौर, भाणपानीका अधिकांश किसानहरू स्याउ टिप्ने तयारीमा छन् । स्याउ पाकेर किसानका बगैँचा राताम्मे भएपछि स्याउ खान र किन्नका लागि आन्तरिक तथा बाहृय पर्यटकहरू बगैँचामै पुग्ने गरेका छन् ।

फोइमहादेव मा.वि.को बगैँचामा पनि स्याउ पाकेको छ । स्याउको बगैँचाले विद्यालयको आम्दानी बढाउने गर्छ । सडक आसपासमा बगैँचाहरूमा स्याउ फलेको फोटो खिच्ने, टिकटक बनाउने र स्याउको भिडियो बनाउने प्रसस्त भेटिन्छन् ।

‘केही वर्षअघि मात्रै फोइको स्याउ प्रतिकिलो पाँच रुपैयाँमा बिक्रि हुन्थ्यो । सडक नहुँदा पशुलाई खुवाइन्थ्यो’ स्थानीय सुमित्रा शाहीले भनिन्, ‘अहिले स्याउ किन्न व्यापारी नै बगैँचामा पुग्ने गरेका छन् । तर, अधिकांश किसानको बगैँचासम्म पुग्ने सडक नहुँदा उत्पादन भएकामध्ये केही स्याउमात्र बिक्रि हुन्छ अरु सबै खेर जाने गरेका छन् ।’  

स्याउ उत्पादन हुने फोइको दह चौरमा अहिले पनि सडक पुगेको छैन् । त्यहाँ एक जना किसानकै ५ हजारका दरले स्याउका बिरुवा र बगैँचा रहेका  छन् । अझै पनि जिल्लामा बजारीकरणको समस्याले शतप्रतिशत उत्पादित स्याउ बिक्रि हुन सकिरहेको छैन । जसका कारण किसानले घाटा बेहोर्दै आएका छन् ।  

कालिकोटमा उत्पादित स्याउ स्टोरको लागि कोल्डस्टोर नहुँदा यहाँको बजार चीन तथा भारतबाट आयात स्याउले ओगट्ने गरेको छ । स्याउको बजार अभाव, समर्थन मूल्य नतोकिनु, स्याउ भण्डारणका लागि कोल्डस्टोर नहुनु जस्ता समस्या विद्यमान रहेको किसान बताउँछन् । स्याउ ढिलो टिप्दा कुहिने डरले काँचो स्याउ नै बजारमा पुग्ने गरेको छ । अहिले दैलेख, सुर्खेत, नेपालगञ्जका बजारमा कालिकोट र जुम्लाको स्याउको मूल्य प्रतिकिलो एक सयभन्दा बढी छ ।

तिलागुफा नगरपालिकाका मेयर शंकरप्रसाद उपाध्यायले तिलागुफामा स्याउ उत्पादन धेरै हुने गरेपनि स्याउ खेतिमा किसानको चासो नदेखिएको बताए ।  

उनले भने ‘स्याउले बजार नपाउने अवस्थाले गर्दा किसानको खासै लगाव देखिँदैन । अहिले यहाँको स्याउ बिक्रिका लागि तयार छन् । तर, बजारसम्म पुर्याउन उचित व्यवस्था नहुँदा समस्या भइरहेको छ ।’  

उनले स्याउ उत्पादनमा जोड दिँदै नागरिकलाई आम्दानीको स्रोत बढाउने स्याउ उत्पादन र काटछाटका विषयमा तालिम दिने बताए ।  उनले भने यो स्याउ  बजारीकरणको लागि नगरपालिकाले पहगर्नगरी योजना बनाएको बताए ।  

यस्तै जिल्लाको पचालझरना गाउँपालिका र पलाँता गाउँपालिकामा पनि स्याउ उत्पादन बढेको छ । सडकको अभाव र स्थानीय पालिकाको लापरवाहीले गर्दा अहिले किसानले उत्पादन गरेका स्याउ बजारसम्म पुर्याउन नसकिएको किसानको भनाइ छ ।

पहुँचको भरमा कोल्डस्टोर निर्माण  

वास्तविक किसानले कोल्डस्टोरको सुविधान पाउन सकेका छैनन् । पहुँचको भरमा निर्माण गरिएको कोल्डस्टोरका कारण वास्तविक किसानलाई समस्या हुने गरेको छ । कृषि विकास कार्यालय कालिकोटले कोल्डस्टोर निर्माणका लागि स्थानीयलाई जिम्मा दिएपछि स्थानीयनले मान्मस्थित एक घरमाथि कोल्डस्टोर राखेका छन् । जहाँ वास्तविक किसान पुग्न सकेका छैनन् । कोल्डस्टोर अभावका कारण किसानले उत्पादन गरेका स्याउ खेर गइरहेको किसानको दुखेको छ । स्याउ उत्पादन धेरै हुने ठाउँ तिलागुफाको फोइ महादेवमा कोल्डस्टोरको आवश्यक रहेको तर, वास्तविक किसानको पहुँचमा कोल्डस्टोर नहुँदा समस्या भइरहेको छ ।  

 कृषि विकास कार्यालय कालिकोटले जिल्लामा स्याउ उत्पादनको अवस्थाबारे हालसम्म कुनैपनि  तथ्याङ्क सङ्कलन गर्न सकेको छैन । किसानले कुनैपनि राहत रकम पनि पाउन सकेका छैनन् । जिल्लामा रहेको कृषि विकास कार्यालयले स्याउ बीमा, स्याउ काटछाटका लागि औजार, स्याउ स्टोरको लागि कोल्डस्टोर जस्ता सेवा सुविका उपलब्ध नगराएको तिलागुफा नगरपालिका —३ का वडा अध्यक्ष सुर्य बहादुर शाहीको भनाइ छ ।  

उनले भने ‘पहुँचको भरमा वितरण गरिने सामग्रीले अहिले पनि वास्तविक किसान सेवाबाट बञ्चित  छन् । तिलागुफामा आवश्यक कोल्डस्टोर निर्माण गरिएको छ । अहिले फोइमा विद्युत लाइन पनि विस्तार भएको छ । तर, फोइ महादेवमा कोल्डस्टोर नहुँदा किसानका स्याउ कुहिदै गएका छन् ।’  

स्थानीय किसानले पनि स्याउलाई कुहिन नदिनका लागि फोइ महादेवमा कोल्डस्टोरको आवश्यकता रहेको बताएका छन् । कोल्डस्टोर अभावका कारण किसानलाई समस्या हुँदा उनीहरूले पाउनुपर्ने मूल्य पनि नपाउने चिन्ता बढेको छ ।

प्रकाशित: ११ भाद्र २०८० ०५:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App