११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

उद्दारमा पाँच हेलिकप्टरसहित ७ हजार नेपाली सेना परिचालन

झापाको केचनाकवलमा बाढी पीडितको उद्वार गर्दै नेपाली सेता। तस्बिर: सैनिक जनसम्पर्क निर्देशनालय

काठमाडौं- नेपाली सेनाले बाढी र पहिरो पीडितको उद्वारको लागि पाँच वटा हेलिकप्टर र सात हजार सैनिक परिचालन गरेको छ। अहिलेसम्म सेनाले ४५ सय जनाको स्थल र ११ सय जनाको हवाई उद्वार गरेको जनाएको छ।  

सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार सोमबार दिउँसो सम्म सेनाले पाँचथरको हिलिहाङ गाउँपालिका गुँरासेमा आएको पहिरोबाट अवरुद्ध भएको बाटो खुलाउने कार्य गर्नुको साथै सोही जिल्लास्थित फालेलुङ गाउँपालिकामा पहिरोले पुरेको एक जनाको शव निकालेको छ। त्यसैगरी, झापामा उद्धार टोलीले डुवानमा परेका ११० जनालाई सुरक्षित स्थानमा सार्ने कार्य गरेको छ। सुनसरीमा बुढिखोला इलाकामा ढुवानमा परेका ३० घर परिवारको सामान सुरक्षित स्थानमा सार्ने कार्य गर्नुको साथै, सोही जिल्लाको विभिन्न स्थानमा डुवानमा परि मरेका ८४ चौपायाहरुलाई पुर्ने कार्य समेत गरेको छ। मोरङमा गछिया खोलाले कटान गरेको स्थानमा १३ वटा ग्याविन जालीमा ढुङ्गा भरी बाढी रोकथाम गर्ने कार्य गरेको छ।

सर्लाहीमाको रामनगरमा बागमती खोलाले कटान गरेको स्थानमा बाँध निर्माणमा सहयोग गर्नुको साथै, सोही जिल्लाको हरकटुवा इलाकामा डुवानमा परेका १० घर परिवारको समानहरु सुरक्षित स्थानमा सारी लालबन्दी इलाकामा पानी निकास गर्न सहयोग गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। त्यसैगरी, धनुषामा उद्धार टोलीले जनकपुर उ.म.न.पा. ४ कदमचोक इलाकामा डुवानमा परेका ७० घरका २०० जनालाई सुरक्षित स्थानमा सार्ने कार्य गर्नुको साथै, नवलपरासी जिल्लामा तैनाथ युनिटले कावासोती न.पा. अमलटारी ईलाकामा डुवानमा परेका ३५० जनाको उद्धार कार्यमा सहयोग गरेको छ।

बाँकेमा उद्धार टोलीले टिकुलीपुर, शम्शेरगञ्ज, वेलबासा र राजापुर इलाकमा १९५ तथा राप्ती सोनारी ईलाकामा डुवानमा परेका ४९६ जना र हेलिकप्टरबाट २०१ जनालाई सुरक्षित स्थानमा सार्नुको साथै, बाढीमा परी मरेका जनावरहरुलाई गाड्ने कार्य समेत गरेको छ। बर्दियामा सेनाले गुलरिया न.पा. २, ५, १०, ११, १२ र ठाकुरबाबा न.पा. २ इलाकामा बाढीबाट डुवानमा परेका करिव १४०० जनालाई मोटरबाट चल्ने डुंगाको सहायताले तथा ३५० जनालाई हेलिकप्टरद्वारा सुरक्षित स्थानमा सार्ने कार्य गर्नुको साथै, ४० जिवित चौपायाहरुलाई समेत सुरक्षित स्थानमा सारेको छ। 

खोज तथा उद्धारकै क्रममा नेपाली सेनाले स्थानीय प्रशासनसँगको समन्वयमा देशको विभिन्न स्थानमा बाढी तथा पहिरोमा परेका व्यक्तिहरुलाई स्थल तथा हवाई मार्गबाट राहत वितरण गर्ने कार्य समेत गरिरेहको जनाएको छ।

 

 

प्रकाशित: ३० श्रावण २०७४ १०:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App