१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

इटहरीदेखि तरहरासम्म सद्भाव र्‍याली

प्रहरी परिचालन गरी तरहराको पानीपियामा रोकियो र्‍याली

हिन्दुवादी धार्मिक संस्थाको अगुवाइमा इटहरीबाट तरहरासम्म निकालिएको सद्भाव र्‍ याली। तस्बिरः अमर/नागरिक

धरानमा शनिबार तय भएको शान्ति र सद्भाव र्‍याली इटहरी वडा नं. २० पानीपियामा रोकियो। धरानमा तय भएको कार्यक्रम स्थानीय प्रशासनले २४ घण्टे निषेधाज्ञा जारी गरेसँगै इटहरीमा भेला भएका प्रदर्शनकारीहरू सङ्गठित भएर र्‍यालीसहित धरानतर्फ गएकोमा वडा नं. २० को तरहराको पानीपियामै प्रहरीले रोकेको हो।

इटहरी मुख्य चोकबाट नाराबाजी गर्दै अघि बढेको र्‍याली पाँच किलोमिटर पार गरेर तरहराको पानीपियामा पुगेपछि प्रहरीले रोकेको हो। प्रहरीले र्‍याली धरानतर्फ अघि बढ्न नदिएको क्षेत्रमा शनिबार राति १२ बजेसम्म निषेधाज्ञा तोकिएको छ।

र्‍यालीमा सहभागीले ‘गौ हत्या गर्न पाइँदैन, धर्म परिवर्तन गर्न पाइँदैन, गौ हत्या गर्नेलाई कारबाही गर, गृहमन्त्री राजीनामा दे’ जस्ता नाराबाजी गरे। र्‍याली तरहराको पानीपियाबाट प्रहरीले अघि बढ्न नदिएपछि हिन्दुवादी धार्मिक अगुवाले सम्बोधन गरेर कार्यक्रम टुङ्ग्याए। 

सो क्रममा जगतगुरु बालसन्त मोहनशरण देवचार्यले गौ हत्या गर्नेको पक्षपोषण सरकारले गर्नु अत्यन्त अमानवीय तथा कुर कार्य भएको जिकिर गरे।

‘कुनै पनि धर्म र शास्त्रमा गौ हत्या गर्नुपर्छ भनेर भनिएको छैन,’ उनले भने, ‘तर, गौ हत्या गर्नेलाई सरकारले कुनै कारबाही गर्न सकेन, यो अत्यन्त कुर कार्य हो।’

सो क्रममा श्री निवासाचार्यले गौ हत्या गर्ने विरुद्धको अभियान सुरुवात मात्र भएकाले अब देशभर आन्दोलन चर्काउने उद्घोष गरे। धार्मिक अगुवा राधिका दासीले गौ हत्या गर्नेलाई कारबाही नभएसम्म आन्दोलन नरोकिने बताइन्।

‘हाम्रो आन्दोलन सुरुवात भयो, अन्त्य कहिले हुन्छ ? त्यो सरकारलाई थाहा छ।’

हिन्दु जागरण अभियानका अभियन्ता रामकृष्ण उपाध्यायले धरानमा अहिले निर्माणाधीन चर्च स्थानान्तरण र गौ हत्या गर्नेलाई कारबाही नभएसम्म कुनै पनि हालतमा आन्दोलन नरोकिने जिकिर गरे।

धरानमा सद्भाव खल्बलिने भन्दै हिन्दुवादी धार्मिक संघसंस्थाहरूले तय गरेको कार्यक्रम तत्काल नगर्न सुनसरी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा शुक्रबार बसेको सर्वपक्षीय छलफलले अपिल गरेको थियो।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरेबाहेक सामूहिक रुपमा धार्मिक, राजनीतिक, सभा, र्‍याली–भेलालगायतका कार्यक्रम नगर्न–नगराउन निषेधाज्ञा जारी गरेसँगै धरान प्रवेश गर्ने सबै नाकामा ठुलो संख्यामा प्रहरी परिचालन गरेको हो। जसमा सबैभन्दा ठुलो संख्यामा पहिलो घेरामा जनपथ र दोस्रो घेरामा सशस्त्र प्रहरी इटहरी वडा नं. २० तरहराको पानीपियामा परिचालन गरिएको जानकारी दिइयो।

धरानमा धार्मिक एवम् सामाजिक गतिविधि खल्बलिन नदिन शुक्रबार सद्भाव र्‍याली प्रदर्शन गरिएको थियो। धरान सबै जातजाति, भाषा, धर्मको साँझा फूलबारी भएको जनाउँदै सदियौँदेखि धार्मिक र सामाजिक सद्भाव कायम रहेकाले त्यसलाई थप मजबुत बनाएर लैजाने सन्देश प्रवाह गर्दै सद्भाव र्‍याली प्रदर्शन गरिएको थियो।

शुक्रबार सद्भाव र्‍याली प्रदर्शन गर्नुअघि धरानमा क्रियाशील राजनीतिक दल तथा सम्बन्धित पक्षबिच वृहत् छलफल समेत भएको थियो। छलफलपछि १३ स्थानीय राजनीतिक दलहरुले सामाजिक तथा धार्मिक सद्भाव भड्किन नदिने निष्कर्ष समेत निकालेका थिए।

पछिल्लो समय धरान वडा नं. १४ विजयपुरमा रहेको बालगोपाल मन्दिर अगाडि बनेको चर्चको विषय र एक साताअघि सांस्कृतिक अभियान भन्दै धरान वडा नं. ११ मंगलबारे चौकको सार्वजनिक स्थलमा गोरु काटेर सामूहिक भोज गरी भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट भएपछि धार्मिक र सामाजिक सद्भाव बिथोलिएर उत्कर्षमा पुगेको हो।

प्रकाशित: ९ भाद्र २०८० १२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App