१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

नेपालमै पहिलो पटक पानीमा चल्ने साइकल संचालनमा

नेपालमै पहिलो पटक भक्तपुरमा ‘वाटर साइकल’ संचालनमा ल्याइएको छ। भक्तपुर नगरपालिका वडा नम्बर १ मा रहेको नः पुखुः (पोखरी) मा पानीमा चल्ने साइकल ‘वाटर साइकल’ संचालनमा ल्याइएको हो।

वाटर साइकल नेपालका लागि टिएन एड्भेन्चर्सले भक्तपुर नगरपालिकासँग सहकार्य गरी पानीमा चल्ने साइकल संचालनमा ल्याउन सफल भएको हो।

सञ्चालक संस्थाका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले यसले देशमै विदेशको मनोरन्जन र एड्भेन्चर्स प्राप्त गर्न सकिने जानकारी दिए। वाटर साइकललाई पहिलो पटक नेपाल भित्राउने अवसर दिएकामा उनले भक्तपुर नगरपालिकालाई धन्यवाद ज्ञापन गरे।

भक्तपुरको नःपुखु पछि सर्लाहीको बागमती नगरपालिकासंगको सहकार्यमा त्यहाँस्थित भरत तालमा यो संचालन गर्ने सहमति भैसकेको उनको भनाइ छ।

संचालक संस्थाका सदस्य सुजन तिमिल्सिनाले जनाए अनुसार नः पुखुमा सेवाका लागि आधा दर्जन वाटर साइकल तयारी अवस्थामा राखिएका छन्। एउटा वाटर साइकलमा एक पटकमा २ जना चढ्न मिल्ने उनले जनाए।

एक पटक चढ्नलाई प्रत्येक साइकल चालकले २ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको उनले जनाए। दुर्घटना जोखिम हुन नदिन वाटर साइकलबारे जानकार जनशक्ति र रेस्क्यु टिम राखिएको तिमिल्सिनाले बताए।

भक्तपुर नगरपालिकाका खेलकुद समितिका संयोजक एवं पोखरी रहेको भक्तपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका अध्यक्ष तपेन्द्र तिमिल्सिनाले वाटर साइकलको शनिबार संयुक्त रुपमा उद्घाटन गरेका थिए।

कार्यक्रममा वडाध्यक्ष श्यामकृष्ण खत्रीले यसले आन्तरिक एवं बाह्र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। साहसिक खेलसंगसमेत जोडिएको वाटर साइक्लिङ्ग स्वास्थ्यको लागि पनि लाभदायक हुने उनको भनाइ छ।

वडाध्यक्ष खत्रीले भक्तपुर नगरपालिकाले देशमै पहिलो पटक वाटर साइकल सुरु गर्न सकेकामा गौरवान्वित भएको बताए।

उद्घाटन कार्यक्रमका विशेष अतिथि सुनकोशी गाउँपालिकाका प्रमुख तपेन्द्र तिमिल्सिनाले पर्यटनलाई जनजीविकासँग जोड्न पर्नेमा जोड दिँदै भक्तपुर नगरपालिकाले वाटर साइकल संचालन गरी पोखरीलाई पर्यटन, रोजगारी र आम्दानीसँग जोड्न सकिने उदाहरण पेश गरेको प्रतिक्रिया दिए।

विदेश पलायन हुने युवा शक्तिलाई देशमै रोक्न यस्ता सृजनात्मक अवसरहरुले सहयोग गर्ने बिचार उनले व्यक्त गरे। गाउँपालिका अध्यक्ष तिमिल्सिनाले युवा शक्तिलाई विश्वास गर्न सके देश र समाज संवृद्ध हुन सक्ने बताए।

कहाँ छ नः पुखुः ?

भक्तपुरको दुधपाटीस्थित सिद्ध पोखरी हुँदै भक्तपुर नगरतर्फ अघि बढ्दा करिब सय मिटरमै इताछें टोलमा रहेको छ नः पुखु। भक्तपुरको एक्सप्रेस बसपार्कसंगैको प्रवेश गेटसँग जोडिएर नः पुखु सुरु हुन्छ। भक्तपुरको नःपुखु पुग्न जिल्ला सरकारी वकिलको कार्यालय र ज्ञान विजय आधारभूत विद्यालयको लोकेसन म्याप हेरेर पनि आइपुगिन्छ।

खेती किसानीबाट साँझ घर पस्नुअघि नःपुखुमा आफ्नो र चौपायाको शरीर तथा औजार पखाल्ने स्थानीयको आँखा कै सामुन्ने नःपुखुले पहिचान फेर्दै गएको छ। केही वर्ष अघिसम्म फोहोर र दुर्गन्धित पोखरी यति बेला देशकै पहिलो वाटर साइकल संचालन गरिने सफा एवं पर्यटकीय गन्तव्यस्थल बन्दै गएकाेमा स्थानीयले खुसी व्यक्त गरेका छन्।

प्रकाशित: ९ भाद्र २०८० ०९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App