१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

एयरपोर्ट नबन्ने भएपछि जग्गा फिर्ता गर्न माग

धरानको एयरपोर्ट बनाउने भनिएको क्षेत्रको नक्सा। तस्बिर: रोहित राई

धरान १७ डाँडाघोपामा एयरपोर्ट निर्माण गर्ने भनेर करिब दुई दशकअघि सस्तो दरभाउमा यति इन्र्कोरेट प्रालिलाई जग्गा बिक्री गरेका स्थानीयहरुले सम्झौता वमोजिम जग्गा फिर्ता हुनुपर्ने माग गरेका छन्।

धरान उपमहानगरपालिकामा भएको छलफलमा स्थानीय एवं पुर्वजग्गाधनीहरुले यतिसँगको लिखित सम्झौता वमोजिम एयरपोर्ट नबन्ने भए जग्गा फिर्ता हुनुपर्ने माग गरेका हुन्। स्थानीयले यतिलाई जग्गा बिक्री गर्दा २०६० चैत १८ गते लिखित सहमति गरेका थिए। तत्कालिन धरान नगरपालिका पनि रोहबरमा बसेको उक्त सम्झौतामा योजना असफल भएमा साविक जग्गा बिक्री गरेकै मुल्यमा स्वतः खरिद गर्न पाउने उल्लेख थियो।

यही लिखित सम्झौताको आधारमा पुर्वजग्गाधनीहरुले आफ्नो जग्गा फिर्ता हुनुपर्ने माग गर्दै आएका छन्। ‘एयरपोर्ट बनाउछौं भनेपछि जग्गा बिक्री गरेका हौं, तर निजी कम्पनीलाई एयरपोर्ट बनाउने अधिकार नै छैन रहेछ,’ पुर्वजग्गाधनी जीवन भट्टराईले भने,‘अहिले पनि सहयोग गर्न तयार छौं, तर एयरपोर्ट बन्दैन भने सम्झौता अनुसार हाम्रो जग्गा फिर्ता हुनुपर्छ।’

उनका अनुसार नगरपालिका रोहबर बसेपछि स्थानीयबासीहरुले सस्तो भाउमा एयरपोर्ट बनाउन जग्गा बिक्री गरेका थिए। स्थानीयले यति इन्कर्पोरेट प्रालिलाई जग्गा बिक्री गरेको भएपनि स्थानीयबासीलाई थाहै नदिई १३ कट्ठा १३ धुर जग्गा भने त्यसबेला कुन्दन शम्सेर जबराको नाममा पनि राखिएको थियो। अहिले उक्त जग्गा धमाधम कित्ताकाट गरेर बिक्री भइरहेको खुलेपछि स्थानीयबासीहरु विरोधमा छन्। उनीहरुले उक्त जग्गा किनबेचमा रोक्का गरेर सर्त तथा सम्झौता वमोजिम पुर्वजग्गाधनीहरुलाई नै फिर्ता गराउन पहलको लागि पनि उपमहानगरपालिकालाई आग्रह गरेका छन्।

एयरपोर्टको लागि जग्गा खरिद गर्न सहजीकरण गर्ने तत्कालिन मेयर कुमारबहादुर कार्कीले पनि बुट अन्तर्गत एयरपोर्ट बनाउने भनेर यति आएपछि स्थानीसँग सहजीकरण गरेर लिखित सम्झौता भएको बताए। उनका अनुसार यतिले एयरपोर्ट बनाउन नसके पाइलट प्रशिक्षण गर्ने एयरपोर्ट बनाउने आश्वासन दिएका थिए। ‘त्यो दुईटै भएन भने जुन भाउमा लिएको हो, त्यही भाउमा फिर्ता गर्ने भनेर सम्झौता गरेको छ,’उनले भने,‘त्यो सम्झौता तोडेर जग्गा किनबेच हुदैछ रे। यो कार्य गलत छ। जग्गाधनीलाई खुशी पार्छन् भने केही भन्नुछैन, नत्र जग्गा फिर्ता गर्नुबाहेक उपाय छैन।’

अर्का पुर्वजग्गाधनी इन्द्र कटुवालले पनि एयरपोर्ट बन्ने सम्भावना भए अझै पनि जग्गा नखोज्ने बताए। तर, आफुहरुबाट एयरपोर्टको लागि भनेर खरिद गरेर व्यक्तिको नाममा राखेको १३ कट्ठा १३ धुर जग्गा प्लटिङ भइरहेकोले एयरपोर्ट बन्दैन भन्ने प्रष्ट भएको उनले बताए। ‘हाम्रो अभिभावक नगरपालिका हो। म छु, जग्गा देउ केही हुदैन भनेर लिखित रोहबरमा बसेकोले जग्गा सस्तो भाउमा बेचेका हौं,’उनले भने,‘सम्झौता पत्रमा जे छ, त्यही अनुसार फिर्ता होस् भन्ने हाम्रो माग छ।’

स्थानीयबासीले करिब ७ बिगाह जग्गा यतिलाई बिक्री गरेका थिए। एयरपोर्टकै लागि भनेर नगरपालिकाले पनि थप ७ बिगाह जग्गा यतिलाई दिएको थियो। शुरुमा १८ सिटको ट्विनअटर विमानको लागि एयरपोर्ट बनाउने भनिएपनि नेपालमा निजी कम्पनीलाई एयरपोर्ट बनाउन दिने कानुन नभएकोले काम रोकिएको थियो। धरानको एयरपोर्टको लागि नागरिक उड्यान प्राधिकारले पटक पटक करोडौं खर्चेर सम्भाव्यता अध्ययनसमेत गरेको थियो। केही वर्षअघि यतिको जग्गा प्राधिकरणले खरिद गरेर एयरपोर्ट बनाउने भन्दै चलखेलसमेत भएको थियो।

धरानका मेयर हर्क साम्पाङले एयरपोर्टको जग्गाको बिषयमा स्थानीय सरकारले पनि छानबिन गर्ने बताए। उनले पनि एयरपोर्ट नबन्ने हो भने जग्गा साविककै जग्गाधनीलाई फिर्ता हुनुपर्ने बताए। ‘एयरपोर्टको लागि भनेर किनिएको जग्गा किनबेच हुदैछ भने रोक्का गर्न मालपोतलाई पत्राचार गछौं,’उनले भने,‘जनताको जग्गा फिर्ता हुनुपर्छ।’

प्रकाशित: ७ भाद्र २०८० ११:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App