२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

६ वर्षदेखि मलेसियामा हराएका छोराको खोजी गरिदिन अपिल

फाइल तस्वीर

वैदेशिक रोजगारीका लागि १८ वर्षअघि मलेसिया गएका मेचीनगर नगरपालिका-६ का गोपाल घिमिरे सम्पर्कविहीन भएपछि खोजी गरिदिन परिवारले अपिल गरेको छ।

राज ओभरसिज मेनपावर कम्पनीमार्फत २०६१ चैत ८ गते घिमिरे ‘प्रोडक्सन अपरेटर’ कामका लागि श्रम अनुमति पत्र पाएर मलेसिया गएका थिए। मलेसिया पुगेको एक सातापछि आफूमाथि ‘गैरकानुनी कामदार’ भएको आरोप लागेको जानकारी घरमा पठाएका उनको त्यसपछिको वास्तविक अवस्थाबारे परिवार समेत बेखबर छ।

‘गैरकानुनी कामदार’ भएको आरोप लागेपछि घिमिरेले सम्पर्क गरेर आफू अप्ठ्यारोमा रहेको पटकपटक जानकारी दिने गरेको र छ वर्षयता सम्पर्क समेत टुटेको उनकी आमा सानी ढकाल घिमिरेले बताइन्। विदेश जाँदा १९ वर्षका घिमिरेको उमेर अहिले ३७ वर्ष पुगिसकेको छ।

‘छ वर्षदेखि छोराको कुनै खुटखबर छैन’, उनले भनिन्, ‘मलेसिया पुगेको सात-आठ दिनमै ‘इलिगल’ भएको आरोप लगायो आमा भनेर फोन गरेको थियो, अहिले मेरो छोरा जे-जस्तो अवस्थामा भए पनि खोजी गरिदिनुपर्‍यो।’

वैदेशिक रोजगारीमा पठाउने मेनपावर कम्पनीको कुनै गल्तीका कारण ‘गैरकानूनी’ कामदारको आरोपमा घिमिरे मलेसियाको कुनै जेलमा हुन सक्ने परिवारको आशंका छ।

उनकी आमाले मेनपावर कम्पनीसँग भएका विभिन्न सम्झौताका कागजपत्र र फोटो बोकेर विभिन्न निकाय तथा जनप्रतिनिधिको ढोका ढक्ढकाइसकेको बताइन्। तैपनि कतैबाट अहिलेसम्म उद्धार एवं खोजीको पहल नभएको उनको गुनासो छ।

‘वडाध्यक्षलाई भेटें,पुलिसलाई भेटें’, उनले भनिन्, ‘सबैले कुरा सुन्नुभयो, कागजपत्र हेर्नुभयो र हुन्छ खोजी गर्न लगाइदिउँला भन्नुहुन्छ, कामचाहिं कसैले पनि गरिदिनु भएन।’

उनले छोराको खोजी गरेर उद्धार गरिदिन नेपाल सरकारसँग अनुरोध गरेकी छन्। मलेसियाको ‘एक्सडी एसडिएन बिएचडी’ नामक कम्पनीमा मासिक आधारभूत सात सय आरएम पारिश्रमिक दिने भनेर राज ओभरसिज प्रालिले घिमिरेलाई मलेसिया पुर्‍याएको रोजगार सम्बन्धी सम्झौतापत्रबाट थाहा भएको छ।

घिमिरेको पासपोर्ट नं २४०१३४७ रहेको छ। रोजगारसम्बन्धी सम्झौतापत्रमा मलेसियाको क्वालालम्पुरस्थित तत्कालीन शाही नेपाली राजदूतावासले प्रमाणित गरी छापसमेत लगाएको छ। श्रम तथा रोजगार प्रवद्र्धन विभागले २०६१ चैत ८ गते दिएको अन्तिम स्वीकृति पत्र अनुसार राज ओभरसिज प्रालिमार्फत झापाका घिमिरे लगायत २९ नेपाली युवा एकै खेपमा मलेसिया गएको पुष्टि छ। ती सबै नेपाली कामदार मलेसियाको एक्सडी एसबी कम्पनीमा काम गर्न भनेर गएका थिए।

घिमिरेसँगै मलेसिया गएका अन्य नेपालीमा भीमबहादुर तामाङ, विनोद लिम्बू, बुद्धबहादुर भारती, छम्मसिंह थापा, धनसिंह विष्ट, गणेश भण्डारी, गौरी भण्डारी, गेदलाल मगर, गौरीप्रसाद थापा, गुरुराज पौडेल, लक्ष्मणप्रसाद कहर, लोकबहादुर रानामगर, मदनसिंह विष्ट, मनोज सुवेदी, मोहनप्रसाद खतिवडा, नवराज वस्ती, नीरबहादुर लिम्बू, ओमबहादुर ढकाल, पदमसुन्दर बुढाथोकी, पौरसिंह विष्ट, प्रकाश भुजेल, रविन राई, राजु गिरी, सन्तबहादुर खड्का, सुदर्शन बस्ताकोटी, सुनिल थापा, तेजबहादुर घर्ती र तीलबहादुर दाहाल रहेको वैदेशिक रोजगार विभागले जारी गरेको अन्तिम स्वीकृति पत्रमा उल्लेख छ।

प्रकाशित: ७ भाद्र २०८० ०८:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App