हिन्दू धर्मशास्त्रअनुसार (आज) सोमबार नाग पञ्चमी पर्व मनाइँदै छ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा नेपाल, भारतलगायत विश्वभरि छरिएर रहेका हिन्दू धर्मावलम्बीहरूले ढोकामाथि वा ढोकाको दायाँबायाँ नागको फोटो टाँसेर र कतिपयले नागको स्तोत्र पाठ गरी विधिपूर्वक पूजा गर्ने गर्दछन्।
ज्योतिषीय मान्यताअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता भएकाले पनि यस दिन नागका अष्टकुल (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट र शंख) को पूजा गर्नुपर्ने धार्मिक मान्यता छ। ती नागको प्रतीकस्वरूप फोटो मूल ढोकामाथि वा ढोकाको दायाँबायाँ दूबोसहित गाईको गोबरले टाँसेर पूजा गर्ने परम्परा रहेको छ। यसका साथै अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु, जैमिनिआदि नाम गरेका नागलाई पनि वज्रवारकको रूपमा पुज्ने गरिएको छ। यसरी नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत विषालु जीवको भय नहुने, आगलागी तथा चट्याङ आदि प्राकृतिक प्रकोपबाट सुरक्षित पनि रहन सकिन्छ भन्ने धार्मिक मान्यता छ। वैज्ञानिक मान्यताअनुसार नाग, नागको मूर्ति वा नागको चित्रबाट आउने तरङ्ग (वेब) ले विषालु जीवको प्रभावलाई कम गर्ने र प्राकृतिक प्रकोपलाईसमेत निस्तेज पार्ने भएकाले यस दिन नागको तस्बिर वा मूर्तिलाई घरको मूल ढोकामा टाँसेर अर्चना गर्दै श्रद्धाभाव व्यक्त गर्ने प्रचलन रहेको जानकारहरू बताउँछन्।
नाग रिसाए पानीका मुहान सुक्ने र पानीको हाहाकार हुने मान्यताका आधारमा पनि नागलाई खुसी पार्न पूजा गर्ने शास्त्रीय परम्परा रहिआएको हो। यसै आधारमा हरेक घरको जगमा नागको बास हुने र नाग रिसाए घरको जग नै भासिन्छ वा भत्कन्छ भन्ने मान्यता पनि छ। त्यस्तै, पातालमा नाग देवताको बसोबास हुने र नागपञ्चमीका दिन भूमि खन्दा नागलाई कष्ट हुने भएकाले यस दिन हलो जोत्नु वा घरको जग राख्नु शुभ हुँदैन भनेर शास्त्रमा उल्लेख छ।
हिन्दू धर्मशास्त्रले चराचर जगत्मा साकार रूपमा रहेका सम्पूर्ण प्राणी तथा वनस्पतिको अस्तित्वलाई स्वीकार गर्दै नागको पनि संरक्षणका लागि पूजा गर्नुपर्ने विधान बनाएको हो। ‘वसुधैव कुटुम्बकम्’ (पृथ्वी वा चराचर जगत्का सम्पूर्ण प्राणी आफन्त हुन्) लाई चरितार्थ गर्दै प्रकृति र वातावरणबीचको अन्योन्याश्रित सम्बन्ध वा प्रकृतिमा रहेको पारिस्थितिक प्रणालीलाई अनुकूल बनाइराख्न सहयोग पुगोस् भनेर पनि नागको पूजा गर्ने विधान बनाएको नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापिठ धर्मशास्त्र विभाग प्रमुख प्राध्यापक डा. देवमणि भट्टराई बताउँछन्।
उनका अनुसार यस पर्वले सम्पूर्ण नाग (सर्प) जातिको संरक्षण र नाग बसोबास गर्ने पानीका स्रोत वा मूलको संरक्षणमा सहयोग पु¥याएको छ। नागपञ्चमीका दिन ज्योतिष शास्त्रअनुसार शुभ तथा मांगलिक कार्य गर्न साइत हेर्नुनपर्ने उनी बताउँछन्। ‘कुनै पनि भवन निर्माण गर्दा भूमिमा नागदोष भए यसै दिन वैदिक विधिद्वारा पूजा गरी पन्छाए नागको दोषबाट मुक्त हुन सकिन्छ,’ उनले भने।
सर्वप्रथम नागबारे शुक्लयजुर्वेदले ‘ॐ नमोस्तु सर्पेब्भ्यो ये के च पृथिवी मनु येऽन्तरिक्षे येदिवितेब्भ्यः सप्र्पेभ्यो नमः’ अर्थात् हे सर्पहरू हो, पृथिवी, अन्तरिक्षलगायत भूमण्डलमा जति पनि हुनुहुन्छ, तपाईहरूलाई नमस्कार छ भनेर उपासना गरेको छ। वेदले तिनै सर्पका राजालाई नाग मानेको छ। वेदमै सृष्टिकालमा जलमाथि शेषनाग शड्ढयामा फणाको छातामुनि शयन गरेका विष्णु भगवान्को स्परूप उल्लेख गरिएको छ। त्यस्तै, शिवले गलामा वासुकि नागको माला लगाएका र भगवान् गणेशले हातमा नाग लिएको शास्त्रमा उल्लेख छ। त्रेता युगका श्रीरामका भाइ लक्ष्मण र द्वापर युगका श्रीकृष्णका दाजु बलरामलाई शेषनागको अवतार मानिएको छ। शेषनागले पृथ्वीलाई आफ्नो शिरमा धारण गरी अड्याएको पनि शास्त्रमा उल्लेख छ। वराह पुराणमा यसै दिन नागराज र ब्रह्माको संवाद भएको आधार मानी नागनागिनीको पूजा गर्ने चलन चलेको बताइएको छ। त्यस्तै, महाभारत तथा भविष्योत्तर पुराणमा पनि वासुकि, तक्षक, कालीय, मणिभद्रक, ऐरावत, धृतराष्ट्र, कर्कोटक र धनञ्जय नाम गरेका नागले अभय प्रदान गर्दै प्राणीको रक्षा गर्छन् भनिएको छ।
यस दिन काठमाडौं उपत्यकाका भचाखुसी–स्थित घोडेनाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, गल्कोपाखा ठमेलस्थित हरिनाग, टुँडिखेल सुन्धाराछेउस्थित मीननाग, थानकोटस्थित नागढुंगा, धापाखेलस्थित नागदह, चोभारको टौदह, नक्सालस्थित नागपोखरी र चाँगुनारायण नगरपालिका ८ कलमसीस्थित कल्पेश्वर नाग मन्दिरमा विशेष रूपमा पूजाअर्चना गर्ने प्रचलन छ। साथै यी स्थानमा नागपञ्चमीको अवसरमा मेलासमेत लाग्ने गरेको छ।
प्रकाशित: ४ भाद्र २०८० ०१:३२ सोमबार