८ असार २०८१ शनिबार
image/svg+xml
समाज

नाटकीय ढंगबाट बच्चा बेपत्ता पार्ने बुवा र डाक्टर पक्राउ

विराटनगर–९ मा रहेको ग्रीनक्रस अस्पतालबाट नाटकीय ढंगबाट बच्चा बेपत्ता बनाएको आरोपमा अस्पतालका डाक्टर र बच्चाका बुवालाई प्रहरीले पक्राउ गरेको छ।

सिनेमामा मात्रै देख्न पाइने यस्तो घटना वास्तविकतामा ढल्किएको छ। बच्चाकी आमालाई थाहा नै नदिई अस्पतालका डाक्टर र बच्चाका बुवाले नाटकीय ढंगबाट बच्चा बेपत्ता बनाएको प्रहरीले जनाएको छ। साउन १४ गते अविवाहित युवतीबाट ग्रीनक्रस अस्पतालमा जन्मिएको बच्चा अस्पतालबाटै बेपत्ता भएपछि घटना बाहिरिएको हो।

बच्चा बेपत्ता बनाएको आरोपमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर तापेश्वरलाल कर्ण र भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई पक्राउ परेका छन्।

दुवै जनालाई अस्पतालमा जन्मिएको बच्चा अस्पतालबाटै बेपत्ता पारेको आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। पक्राउ परेका डाक्टर कर्ण विराटनगरको कोशी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (मेसु) हुन् भने गोविन्द बच्चाका बुवा हुन्। युवती र गोविन्दबिच विवाह भएको छैन। उनीहरु प्रेमी प्रेमिका हुन्।

गोविन्द र युवतिबिच २ वर्षदेखि प्रेम सम्बन्धमा रहँदै आएका थिए। प्रेम सम्बन्धकै कारण उनीहरुबीच शारीरिक सम्पर्कबाट युवती गर्भवती भएकी बताइएको छ। २६ वर्षीया युवतीले अस्पतालमा नवजात शिशु (छोरी) लाई जन्म दिएकी थिइन्। असार १३ गते दिउँसो अस्पतालमा भर्ना भएकी युवतीले भोलिपल्टै (असार १४ गते) ‘नर्मल डेलिभरी’ मार्फत छोरीलाई जन्म दिएको प्रहरीले जनाएको छ।

गर्भवती प्रेमिकालाई लिएर प्रेमी गोविन्द विराटनगर आएका थिए। दुवै जना विराटनगर आएपछि ग्रीनक्रस अस्पताल नजिकै रहेको डाक्टर कर्णको दीपेश मेडिकल क्लिनिकमा पुगे। त्यहाँ डाक्टर कर्णले युवतीको परीक्षण गरेपछि थप उपचारका लागि नजिकै रहेको ग्रीनक्रस अस्पतालमा भर्ना गरेको बताउँदै, डिएसपी दाहालले भने, ‘उनीहरु दुवै जनाले आफ्नो वास्तविक परिचय लुकाएर नक्कली परिचय दिएर भर्ना गरेका रहेछन्।’

अनुसन्धानका क्रममा उनीहरुले अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङका साथै ठेगाना सुनसरीको रामधुनी–११ लेखाएका रहेछन्। १४ गते दिउँसो अस्पतालले बिदा दिएपछि बच्चा बिनै गोविन्दले आफूलाई इटहरी लगेको युवतीलाई उद्धृत गर्दै प्रहरीले बताए।

इटहरी बसपार्क नजिककै रहेको एक होटलमा लगेर राखेपछि बच्चा खोइ भन्दा अस्पतालमै छ उहाँले (गोविन्द) भन्नु भयो। युवतीले भनिन्। काम छ भन्दै असार १६ गते होटलबाट हिँड्नु भएको बताउँदै, युवतीले भनिन्, ‘होटलमा अलपत्र छाडेर गएपछि गोविन्द फर्किएनन्। होटलबाट निस्कनुअघि गोविन्दले दिएको खर्च ८ दिनपछि सकियो र होटल छाडे। त्यसपछि सुनसरीको सोनापुरमा डेरा लिएर बस्न थालेँ।’

‘गोविन्दले बिहेको प्रलोभनमा पारेर आफू सुत्केरी हुँदा छाडेर अलपत्र पा¥यो। न मसँग बच्चा नै छ न त प्रेमी गोविन्द नै,’ युवतीले भनिन्। उसकै आग्रहमा अस्पताल आएर बच्चा जन्माएको बताउँदै, युवतीले भनिन्, ‘मेरो बच्चा कहाँ के अवस्थामा छ थाहा छैन। मैले जिउँदो छोरीलाई जन्म दिएकी थिएँ। छोरी जन्मसाथ नर्सहरुले लिएर गए। त्यसपछि अहिलेसम्म बच्चा समाउन त हैन देख्नसमेत पाएको छैन। बच्चा जन्मँदा अस्पताललाई ३५ हजार रुपैयाँ तिरेका छौं।’

सुत्केरी अवस्थामा छाडेर हिँडेका प्रेमी गोविन्दले अस्पतालसँग मिलेर बच्चालाई अस्पतालबाटै बेपत्ता बनाएको युवतीले बताइन्। उनीहरु दुवै मिलेर मेरो बच्चा बेपत्ता बनाएर कहाँ पुर्‍याए थाहा नभएको बताउँदै युवतीले भनिन्, ‘अहिलेसम्म न मेरो बच्चा नै पाएँ न प्रेमी गोविन्द नै सम्पर्क गर्न आए। दुवै बेपत्ता भएपछि खोजतलासका लागि प्रहरीलाई भने। प्रहरीले मलाई सहयोग गर्दै बच्चा र प्रेमी दुवैको खोजी गरिरहनु भएको छ।’

साउन ३२ गते बिहीबार युवतीले प्रेमी गोविन्द र उपचारमा संलग्न डाक्टर कर्णविरुद्ध मोरङ प्रहरीमा ‘व्यक्ति बेपत्ता पार्ने’ कसुरमा किटानी जाहेरी दिएकी थिइन्। युवतीको जाहेरी परेपछि गोविन्द र डाक्टर कर्णलाई शुक्रबार साँझमा पक्राउ गरिएको बताउँदै, डिएसपी दाहालले भने, ‘पक्राउपछि उच्च रक्तचाप र मधुमेहको समस्या देखाएर डाक्टर कर्ण उपचारका लागि कोशी अस्पताल भर्ना भए। डाक्टर अस्पतालमा भर्ना भएपछि घटनाको अनुसन्धान गर्न समस्या भएको छ।’

घटनाको अनुसन्धानमा डाक्टर कर्णले असहयोग गर्दै आएको बताउँदै, डिएसपी दाहालले भने, ‘डाक्टरलाई सोधपुछका लागि बोलाउँदा उनी प्रहरी कार्यालय नआई अदालतमा पुगेर निषेधाज्ञाको मुद्दा दर्ता गराए। शुक्रबार साँझ अस्पतालमा प्रहरी पुग्दा उनी अप्रेसन गर्न व्यस्त थिए। प्रहरी पुगेको थाहा पाएपछि उनी बिरामी भए र त्यही अस्पतालमा उपचार थाले। त्यहाँ केही समय उपचारपछि थप उपचार कोशीमा गर्न ल्यायौँ।’

डाक्टर कर्णको कोशी अस्पतालमा भर्ना भएर उपचार गराइरहेको हुँदा उनले सामान्य कुरा मात्रै भने, थप सोधपुछ गर्न नसक्दा घटनाको वास्तविकता बाहिर आउन नसकेको डिएसपी दाहालले बताए। 

उनका अनुसार डाक्टर कर्णले बच्चा अभिभावकलाई बुझाएको बताएका छन्। गोविन्द र युवतीले बच्चा आफूहरूसँग नरहेको बताउँदै आएका छन्। उपचार गर्न आउँदा युवतीलाई व्यथा लागेकाले तत्कालै बच्चा निकाल्नुपर्ने अवस्था रहेको डाक्टरले बताए। बच्चा जन्मिएपछि बुवालाई नै दिएको दाबी डाक्टरले गरेका छन्। प्रेमिकालाई मात्रै अस्पतालबाट लिएर गएको हुँदा आफूले बच्चा जिम्मा नलिएको गोविन्दले बताउँदै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको डिएसपी दाहालले बताए।

ग्रीनक्रस अस्पतालका अध्यक्ष कृष्ण खवासले कम तौलको बच्चा जन्मिएको हुँदा स्वास्थ्य अवस्था नाजुक थियो। बच्चाको थप उपचार एनआइसियूमा राखेर गर्नुपर्ने भएकाले यहाँबाट अन्यत्र अस्पतालमा थप उपचार गर्न रेफर गरियो। अस्पतालले बच्चालाई रेफर गरेर अभिभावकको जिम्मा लगाइएको अध्यक्ष खवासले बताए। उनले त्यसपछि रेफर गरेको बच्चा कहाँ लगे थाहा नभएको बताए।

‘व्यक्ति बेपत्ता पारेको’ कसुरमा गोविन्दलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ भने डाक्टर कर्ण प्रहरी नियन्त्रणमा उपचारमा रहेको हुँदा म्याद थप गर्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ भाद्र २०८० १४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App