१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

भेडा तथा च्याङ्ग्रा किसानले पाए, ‘गोठालो भत्ता’

भेडा चराउँदै एक किसान। बिक्री वितरण तथा सामान बोकाउन भेडा लैजाँदै। तस्बिर : गोविन्द केसी/नागरिक

कर्णाली प्रदेशस्थित चार जिल्लाका भेडा तथा च्याङ्ग्रा किसानहरूले गोठालो भत्ता पाएका छन्। प्रदेश सरकारले कार्यविधि बनाएर गोठालो भत्ता कार्यक्रम बनाएको थियो। मापदण्डमा परेको कर्णालीका ४ सय ३७ किसानले ‘गोठालो भत्ता’ पाएका हुन्।

कर्णाली प्रदेश सरकार, पशुपक्षी विकास निर्देशनालय मार्फत कर्णालीका हुम्ला, मुगु, जुम्ला र डोल्पाका भेडा तथा च्याङ्ग्रा पालन गर्ने किसानहरूलाई भत्ता दिइएको हो। कम्तीमा ५० भेडा तथा च्याङ्ग्रा पाल्ने, लेकमा गोठ भएको लगायतको मापदण्डमा परेका किसानहरूलाई भत्ता दिइएको हो। कार्यविधि अनुसार कम्तीमा ५० वटा भेडा तथा च्याङ्ग्रा पाल्ने प्रति किसान मासिक कम्तीमा १५ सयका दरले भत्ता दिइएको पशुपक्षी विकास निर्देशनालयका निमित्त निर्देशक कृष्ण प्रसाद पङ्गेनीले बताए। 

‘भेडाको संख्या अनुसार भत्ता बढ्छ।’ निमित्त निर्देशक पङ्गेनीले भने, ५० वटा भेडा तथा च्याङ्ग्रा बराबर १५ सय भत्ता दिइने छ। २ सय भए ६ हजार भत्ता पाउने छ। यसरी संख्या बढ्दा भत्ता पनि बढ्छ।’ उनका अनुसार ४ सय ३७ भेडा तथा च्याङ्ग्रा पाल्ने किसानलाई ३९ लाख ७ हजार ६० पैसा रकम वितरण गरिएको हो। जसमा सबैभन्दा बढी किसान जुम्लामा २ सय २५ जना भए पनि हुम्लामा १०९ जनाले धेरै भेडा तथा च्याङ्ग्रा पालेको तथ्याङ्कले देखाउँछ। त्यस्तै मुगुमा ५३ जना र डोल्पामा ५० जना किसानहरू भत्ताका लागि मापदण्डमा परेका थिए। सबैभन्दा धेरै संख्यामा भेडा तथा च्याङ्ग्रा पाल्ने किसानहरू हुम्लामा रहेका छन्।

भेडा तथा च्याङ्ग्रा पाल्ने कर्णालीका चार जिल्लाका किसानहरूलाई प्रोत्साहन स्वरूप प्रदेश सरकारले बनाएको कार्यक्रम अनुसार भत्ता दिन थालिएको हो। भत्ताले गोठालालाई आवश्यक पर्ने सामाग्री खरिद गर्न सहज भएको छ। वर्ष भरी गोठमा (पाटन) जाँदा आवश्यक सामाग्रीहरू किन्नका लागि गोठालालाई प्रदेश सरकारले दिएको भत्ता प्रभावकारी हुने किसानहरूले बताए। कर्णालीमा भेडा तथा च्याङ्ग्राको सम्भावना हुँदाहुँदै पनि किसानहरूको संख्या घट्दै गइरहेको बेला यो कार्यक्रमले मासु उत्पादनमा वृद्धि हुने आशा गरिएको छ। भेडा तथा च्याङ्ग्रा पालन गर्ने किसानहरूको संख्या पनि आगामी वर्षहरूमा बढ्ने छ।

प्रकाशित: १ भाद्र २०८० १०:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App