१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बंगलादेशी नागरिक काठमाडौंमा बन्धक

दुई नेपाली युवतीसहित सात जना पक्राउ, आठ जनाको उद्धार

नेपालको बाटोबाट वैदेशिक रोजगारीमा पठाइदिने भन्दै बंगलादेशबाट काठमाडौं बोलाई बन्धक बनाएर फिरौती रकम असुल्ने सात जनाको गिरोह प्रहरीको फन्दामा परेको छ। पोल्यान्ड पठाइदिने भन्दै ठगी धन्दामा सक्रिय सो गिरोहमा पाँच बंगलादेशी र दुई नेपालीको संलग्नता पाइएको छ। पाँच बंगलादेशीमा एक महिला छिन् भने नेपाली दुवै महिला हुन्।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अप्रेसन ‘ब्राभो किलो’ सञ्चालन गरेर गिरोहबारे पत्ता लगाई त्यसका सदस्यहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा बंगलादेशी नागरिक ४७ वर्षीय अमिर हुसेन, ३७ वर्षीय एमडी मोसिउर रहमान, ३८ वर्षीय सलिम मियाँ, २१ वर्षीय जहागिर आलम र २१ वर्षीया तहमिना बेगम छन्। पक्राउ पर्ने नेपाली युवतीमा सिन्धुपाल्चोक घर भएकी २७ वर्षीया तारा नेपाली र इलामको चुलाचुली–४ की रोशनी राई छन्। प्रहरीले उक्त गिरोहको बन्धकमा परेका आठ बंगलादेशी नागरिकको उद्धारसमेत गरेको छ। यसरी उद्धार भएकाहरूमा एमडी मोहसिन, एमडी इयासिन, इब्राहिम हुसेन, एमडी अल अमिन, राजोन, फरहाद होसेन, सपना र रुमाक्तर छन्।

दुईको खोजी गर्दा भेटिए आठ बन्धक

पोल्यान्ड पठाइदिने प्रलोभन दिएर नेपाल बोलाइएका आफ्ना आफन्तलाई बन्धक बनाएर फिरौती रकम लिएको भन्दै बंगलादेशी नागरिक अबु बकार सिद्दिकीले साउन २४ गते पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपमा निवेदन दिएका थिए।

निवेदनमा पीडितका आफन्तबाट बंगलादेशबाटै १० लाख टका (बंगलादेशी करेन्सी) लिइसकेको, थप २० लाख टका मागिरहेको र सो रकम नदिए ज्यानसमेत लिने धम्की दिइरहेको व्यहोरा उल्लेख छ। सोही निवेदनका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय आफ्नो अनुसन्धान सुरु गरेको थियो।

पोल्यान्ड पठाइदिने प्रलोभन दिएर नेपाल बोलाइएका आफ्ना आफन्तलाई बन्धक बनाएर फिरौती रकम लिएको भन्दै बंगलादेशी नागरिक अबु बकार सिद्दिकीले साउन २४ गते पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपमा निवेदन दिएका थिए।

पीडितका परिवारबाट प्रहरीले अपहरणकारीले प्रयोग गरेका केही मोबाइल नम्बरसमेत फेला पारेकोमा ती सबैको स्विच अफ गरिएको थियो। यस्तोमा अपहरणकारी भनिएका व्यक्तिले प्रयोग गरेको सिममा अर्को सिमबाट पनि फोन आदानप्रदान भइरहेको प्रहरीले पत्ता लगायो। त्यो सिम एक महिलाको थियो। तिनै महिलालाई प्रयोग गरेर प्रहरी अपहरणकारीसम्म पुग्न सफल भयो। यद्यपि ती महिलाको परिचय भने प्रहरीले खुलाएको छैन।

अपहरणकारी भने अमिर हुसेन थिए। यसरी अनुसन्धानको मेसो पत्ता लगाएपछि प्रहरीले साउन २६ गते काठमाडौंको कालीमाटीमा रहेको मेमोरियल गेस्ट हाउसमा हुसेन बसेको पनि पत्ता लगायो। त्यहाँ जाँचबुझ गर्दा दुईजनाको खोजीमा गएको प्रहरीले चारजना बन्धक फेला पार्‍यो। ती चारजना बन्धक एमडी मोहसिन, एमडी इयासिन, इब्राहिम हुसेन र एमडी अल अमिन हुन्।

पीडितका परिवारबाट प्रहरीले अपहरणकारीले प्रयोग गरेका केही मोबाइल नम्बरसमेत फेला पारेकोमा ती सबैको स्विच अफ गरिएको थियो।

‘सबै जनालाई नेपाल हुँदै पोल्यान्ड लैजान भनेर नेपाल ल्याइएको रहेछ। यहाँ ल्याएर बन्धक बनाएर फिरौती रकम मागिरहेका रहेछन्,’ अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक मनोज केसीले भने। अपहरणकारीले उक्त होटलमा दुई कोठा लिई बन्धक बनाइएको खुल्न आयो। त्यही होटलबाट पक्राउ परेका अपहरणकारी अमिर हुसेनको बयानका आधारमा प्रहरीले अरू पनि बन्धक रहेको सूचना पाएको थियो।

अमिरले आफ्नै गिरोहका अन्य साथीहरूले ललितपुर हरिसिद्धिस्थित एक घर भाडामा लिएर दुई बंगलादेशी नागरिक राजोन र फरहाद होसेनलाई बन्धक बनाएर राखेको र दुई बंगलादेशी महिला सपना र रुमाक्तरलाई एमडी मोन्टिन मियाले लिएर गएको बताएका थिए। सोही बयानका आधारमा प्रहरीले साउन २६ गते हरिसिद्धिस्थित केदार श्रेष्ठको घरबाट राजोन र फरहादको उद्धार गरेको थियो।

खोजी गर्दै जाँदा काठमाडौंको नक्सालस्थित रोशनी राईको केटिसी ब्युटी पार्लरको मसाज सेन्टरमा बन्धक रहेको अवस्थामा सपना र रुमाक्तरको भेटिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ र संगठित अपराध निवारण ऐन २०७० बमोजिमका कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रकाशित: २९ श्रावण २०८० ०२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App