७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

सहरी मन्त्रालय करार कर्मचारी भर्ती केन्द्र

एक हजार दरबन्दी सिर्जना गर्न प्रस्ताव तयार

सहरी विकास मन्त्रालयले १ हजारदेखि १२ सयसम्म अस्थायी दरबन्दी सिर्जना गर्न प्रस्ताव तयार गरेको छ। नयाँ आर्थिक वर्ष लागु हुनेबित्तिकै मन्त्रालयले हरेक वर्ष यसरी नै अस्थायी दरबन्दी सिर्जना गर्छ। यसबाट सहरीमातहतका आयोजना तथा कार्यालय अस्थायी तथा करार कर्मचारी भर्ती केन्द्र बनेको छ।

मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठका अनुसार एकदुई दिनमै अस्थायी दरबन्दी सिर्जना गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिनेछ। ‘प्रस्ताव तयार भएको छ, अब मन्त्रिपरिषद्मा लाँदैछौं,’ उनले भने। उनका अनुसार मन्त्रालयमातहतका देशभरिका आयोजना र विभिन्न निकायमा अस्थायी दरबन्दी संख्या १ हजार हाराहारीमा छ। यिनै दरबन्दीमा अस्थायी र करारमा कार्यरतलाई निरन्तरता दिन हरेक वर्ष नयाँ प्रस्ताव मन्त्रिपरिषद्मा लगिन्छ।

मन्त्रालयका आयोजनालाई मन्त्री, सचिव तथा उच्च कर्मचारीले आफूनिकट कर्मचारी भर्ती गर्ने केन्द्र बनाउँदै आएका छन्। मन्त्री तथा सचिव फेरिएपछि अस्थायी र करार कर्मचारी भर्ना गरिन्छ। आफूनिकटलाई अस्थायी र करारमा नियुक्त गर्न मन्त्रालयका उच्च कर्मचारीमातहतका निकायमा नयाँ संगठन तथा व्यवस्थापन (ओएनएम) गर्न चाहँदैनन्। नयाँ ओएनएम गरेमा कर्मचारीको दरबन्दी थपघट हुन सक्छ।

मन्त्रालयमातहतका देशभरका आयोजना, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, केन्द्रीय आयोजना कार्यान्वयन, एकाइ र काठमाडौं उपत्यका विकास प्राधिकरण (केभिडिए) मा मन्त्रालयले आफैं दरबन्दी सिर्जना गर्छ भने नगर विकास कोष, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा राष्ट्रिय आवास कम्पनीमा भने सम्बन्धित बोर्ड बैठकले दरबन्दी सिर्जना गर्छन्। अघिल्लो वर्षको भदौ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सहरी विकासमातहत सञ्चालित योजना तथा निकायमा अस्थायी दरबन्दी सिर्जना गरेको थियो।

शाखा अधिकृत र त्यसभन्दा माथिल्लो तहका कर्मचारीका हकमा अस्थायी दरबन्दी सिर्जना गर्नुपरेमा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजान्छ भने शाखा अधिकृतभन्दा मुनिका कर्मचारीको हकमा मन्त्रालय आफैंले दरबन्दी सिर्जना गर्छ।

अस्थायी प्रकृतिका आयोजनामा हरेक वर्ष अस्थायी दरबन्दी सिर्जना गरिएको मन्त्रालयको भनाइ छ। तर स्थायी प्रकृतिकै आयोजनाबाहेक वाग्मती सभ्यता, काठमाडौं उपत्यका विकास प्राधिकरणजस्ता कार्यालयमा पनि दर्जनौं अस्थायी र करार कर्मचारी छन्। वाग्मती सभ्यता विकास आोजनामा ज्यालादारी र करारका कर्मचारी भर्नामा हानथाप हुने गरेको छ। वाग्मतीमा १ सय ४ जना कर्मचारी करार र २६ जना स्थायी कर्मचारी छन्। बाँकी सबै अस्थायी छन्। यसैगरी राष्ट्रिय आवास कम्पनीमा कर्मचारीको दरबन्दी संख्या ७३ छ, जसमध्ये चारजना मात्र स्थायी छन्। बाँकी सबै अस्थायी र करार छन्। कम्पनीमा ५६ कर्मचारी करारका छन्।  

यसैगरी सहरी विकास तथा भवन निर्माण विभाग र यसमातहतका आयोजनामा अस्थायी प्रकतिका दरबन्दीको संख्या ७ सयको हाराहारीमा रहेको बताइएको छ।

नयाँ सहर आयोजनाले देशभर २७ ठाउँमा ‘नयाँ सहर’, १० ठाउँमा ‘हिमाली सहर’ र १७ ठाउँमा ‘स्मार्ट सिटी’ को अवधारणासहित काम गरिरहेको छ। आयोजनामा हाल कम्प्युटर अपरेटर ६ जना, कार्यालय सहयोगी तीनजना, हल्का सवारीचालक तीनजना तथा इन्जिनियर पाँचजना करारमा छन्।  

नेपाल–भारत सीमा एकीकृत जाँच चौकी विकास आयोजनाको कार्यालय काठमाडौंमा छैन। यस आयोजनाले विराटनगर, वीरगन्ज, नेपालगन्ज र भैरहवामा सहरी क्षेत्र विकासका काम गरिरहेको छ। तर केन्द्रका लागि भनेर कम्प्युटर अपरेटर दुईजना, हल्का सवारीचालक एकजना र कार्यालय सहयोगी एकजना करारमा राखिएको छ। भवन विभागमातहत सहरी योजना तथा विकास केन्द्र अस्थायी प्रकृतिको कार्यक्रम हो। यसको पनि छुट्टै कार्यालय छैन। तर यस आयोजनाका लागि भनेर काठमाडौंमा कम्प्युटर अपरेटर दुईजना, हल्का सवारीचालक एकजना र कार्यालय सहयोगी एकजना करारमा भर्ना गरिएको छ।

यसैगरी सुरक्षित आवास आयोजना पनि भवन विभागबाटै सञ्चालित अस्थायी प्रकृतिको कार्यक्रम हो। यस आयोजनाका लागि भनेर काठमाडौंमा कम्प्युटर अपरेटर दुईजना, हल्का सवारीचालक एकजना तथा कार्यालय सहयोगी एकजना करारमा राखिएको छ। एकीकृत सहरी तथा पूर्वाधार योजनामा कम्प्युटर अपरेटर ६ जना, हल्का सवारीचालक दुईजना र कार्यालय सहयोगी चारजना करारमा कार्यरत छन्। यो पनि सहरी विकास तथा भवन निर्माण विभागमातहत सञ्चालित अस्थायी कार्यक्रम हो।

त्यस्तै भवन निर्माण संहिता तथा सरकारी भवन निर्माण आयोजनामा कम्प्युटर अपरेटर पाँचजना, इन्जिनियर ६ जना, हल्का सवारीचालक तीनजना र कार्यालय सहयोगी दुईजना करारमा कार्यरत छन्। बन्चरेडाँडा काठमाडौं उपत्यका फोहोरमैला व्यवस्थापन आयोजनामा कम्प्युटर अपरेटर दुईजना, सामाजिक परिचालक एकजना, हल्का सवारीचालक एकजना, कार्यालय सहयोगी दुईजना र समाजशास्त्री एकजना करारमा छन्।

सहरी क्षेत्र करिडोर आयोजनामा इन्जिनियर एकजना, कम्प्युटर अपरेटर दुईजना, कार्यालय सहयोगी एकजना तथा हल्का सवारीचालक दुईजना कार्यरत छन्। विशेष भवन निर्माण आयोजनामा कम्प्युटर अपरेटर चारजना, हल्का सवारीचालक दुईजना, सब–इन्जिनियर तीनजना, हल्का सवारीचालक तीनजना तथा कार्यालय सहयोगी तीनजना करारमा कार्यरत छन्। नेपाल सहरी शासकीय क्षमता तथा पूर्वाधार आयोजनामा कम्प्युटर अपरेटर ६ जना, इन्जिनियर तीनजना, हल्का सवारीचालक तीनजना तथा कार्यालय सहयोगी चारजना करारमा कार्यरत छन्।

प्रकाशित: २५ श्रावण २०८० ००:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App