१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

तीन जिल्लाका साना किसानको सारथी फिस्लिङ तरकारी केन्द्र

धादिङको बेनिघाट रोराङ गाउँपालिका १० स्थित जोगिमाराका लोकनाथ डल्लाकोटीले व्यवसायीक रुपमा तरकारी खेत गर्न थालेको २० वर्ष पुग्यो। डल्लाकोटीले २ रोपनी बारीमा मौसम अनुसारको तरकारी लगाउँछन्। यतिखेर उनको बारीमा सिमी तयारी रहेका छन्। तर, उनलाई बजारीकरणको भने समस्या छ। आफूले उत्पादन गरेको तरकारी बेच्नका लागि चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित फिस्लिङ बजार नै झर्नुपर्छ।

‘विगतमा नारायणगढ बजारसम्म लैजानु पर्दथ्यो। त्यसपछि पाँच वर्ष मुग्लिन बजारमा बेच्ने गरेँ। अहिले फिस्लिङमा तरकारी संकलन केन्द्र स्थापना भएपछि केही सजिलो भएको छ,’ फिस्लिङ बजारमा सिमी जोख्दै गर्दा भेटिएका डल्लाकोटीले भने, ‘त्यहाँ पनि एक घण्टा बोलेरोमा आउन लाग्छ।’ तर, तरकारी बिक्री गर्नका लागि हिजोआज धेरै सहज भएको उनले बताए। ‘हामी यहाँ आउन पनि पर्दैन। बोलेरोमा पठाएपछि, यहाँ जोखेर राखिदिनुहुन्छ,’ उनले भने, ‘कहिलेकाहीँ हिसाब गर्न आए पुग्छ।’

बेनीघाट रोराङका विष्णु प्रजाको तरकारी बिक्री गर्ने बजार पनि फिस्लिङ नै हो। एक हल बारीमा तरकारी खेती गर्दै आएका प्रजाले उत्पादन हुना साथ फिस्लिङ बजार ल्याउँछन्। फिस्लिङमा तरकारी तथा फलफूल संकलन केन्द्र स्थापना भएपछि व्यवसायीक तरकारी खेत गर्न थालेका प्रजा खुसी  छन्। ‘पाँच वर्ष भयो व्यवसायीक रुपमा तरकारी खेती गर्न थालेको छ। अहिले बारीमा सिमी छन्। केरा, सुन्तला पनि लगाएको छु,’ खुसी हुँदै उनले भने, ‘आजभोलि घर चलाउन सजिलो भएको छ।’  कहिलेकाहीँ मूल्यमा उतारचढाव आउँदा समस्या हुने गरेको उनले बताए।

गाउँका किसानले व्यावसायिक रूपमा लगाएको तरकारीबाट मनग्य आम्दानी लिन थालेका छन्। गोरखा, धादिङ र चितवनको विकट गाउँमा हाल तरकारीले क्रान्ति नै ल्याएको छ। व्यावसायिक रूपमा तरकारी लगाउने किसानको संख्या बढ्दै गएको छ। उनीहरू आफ्नो उत्पादन फिस्लिङ ल्याउने गर्छन्।

इच्छाकामना गाउँपालिका ३ तल्लो टुडेका ज्ञान बहादुर प्रजा तरकारीले नै जीवनमा परिवर्तन ल्याएको अनुभव सुनाउँछन्। ‘मकै र कोदो लगाउँदा त्यति आम्दानी हुँदैन थियो,’ उनले भने, ‘हाल तरकारीबाट राम्रो आम्दानी भएको छ।’ उनको ३ कठ्ठा जमिनमा यतिखेर टमाटर छ।

अहिले गाउँ गाउँमा यातायातको सुविधा पुगेको छ। गाडीमार्फत नै किसानहरू तरकारी पठाउँछन्।  सरकारले अनुदानमा कृषि समूहलाई एउटा गाडी उपलब्ध गराउने हो भने किसानहरूलाई सहज हुने उनी बताउँछन्। ‘मनकामनाबाट भाडामा ल्याएर बोलेरो चलाएका छौँ। हाम्रो कृषि समूह छ, उनले भने ‘समूहलाई आधा रकम उपलब्ध गराउने हो भने हामी किन्ने थियौँ।’

इच्छाकामना गाउँपालिकाले तरकारी संकलन केन्द्रका लागि भवन समेत बनाइदिएको छ। किसानले संकलन केन्द्रलाई प्रतिकिलो २ रुपैयाँ दिने गर्छन्।

यहाँको तरकारी नारायणगढ, पोखरा, काठमाडौं, बुटवलदेखि लहानसम्म जान्छ।अहिले सिजनमा यस तरकारी संकलन केन्द्रबाट २० ट्रक तरकारी बिक्री हुने वडा नम्बर ३ का वडा अध्यक्ष नरबहादुर नेपाल बताउँछन्। ‘यस क्षेत्रका मानिसहरूलाई कृषिले जिविको पार्जनमा धेरै सहयोग पुराएको छ। ‘विगतमा मकै र कोदो मात्र लगाउँदा त्यति आम्दानी हुँदैनथ्यो। आजभोलि राम्रो भएको छ,’ उनले भने ‘यहाँ सिजनमा २० र अफसिजनमा कम्तीमा ५ ट्रक तरकारी उत्पादन हुन्छ।’ यहाँका किसानले सुन्तला, नासपाति, कागती लगायतका फलफूल समेत यहाँ नै ल्याएर बेच्छन्। चितवन, गोरखा र धादिङका २० हजारभन्दा बढी किसानले उत्पादन गरेको तरकारी यहाँ आउने गर्दछ। मासिक ५० लाखभन्दा बढीको कारोबार हुने उनले बताए।

गाउँपालिकाले वडा नम्बर २मा तरकारी सङ्कलनका लागि कृषि एम्बुलेन्स समेत उपलब्ध गराएको छ। ७ नम्बर वडा बाहेक सबै वडामा कृषि एम्बुलेन्स खरिद गर्ने योजनामा गाउँपालिका रहेको छ। यहाँ साढे ३ करोड लगानीमा सुविधा सम्पन्न संकलन केन्द्र निर्माण हुँदैछ। त्यहाँ सित भण्डार समेत हुनेछ। यसले मध्यस्त कर्ताले राख्ने प्रतिकिलो २ रुपैयाँलाई घटाउन सकिने इच्छाकामना गाउँपालिकाका प्रवक्ता समेत रहेको नेपालले बताए। ‘सहकारी मार्फत ५० पैसामा झार्ने लक्ष्य राखेका छौँ,’ उनले भने ‘यो काम दुई महिना भित्र गर्दछौँ।’ फिस्लिङ बजार तरकारीको संकलन केन्द्रको रुपमा परिचित हुँदै गएको छ।

प्रकाशित: २४ श्रावण २०८० १४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App