१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पहिरो पीडितलाई साढे १६ लाख रुपैयाँ राहत

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले ताप्लेजुङका पहिरो पीडित तथा प्रभावित परिवारलाई साढे १६ लाख रुपैयाँ राहत प्रदान गरेको छ।

सिदिङ्वा गाउँपालिका,सिरिजङ्गा गाउँपालिका र मैवाखोला गाउँपालिकाका पहिरो पीडित तथा प्रभावित परिवारलाई उक्त रकम प्रदान गरेको केन्द्रले जनाएको छ।

सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठका अनुसार सबैभन्दा बढी प्रभावित सिदिङ्वा गाउँपालिकाका पीडित तथा प्रभावितलाई ८ लाख ६७ हजार रुपैयाँ वितरण गरिएको छ। सिरिजङ्गा गाउँपालिकाका पीडित तथा प्रभावितलाई ५ लाख ८१ हजार रुपैयाँ बितरण गरिएको छ भने मैवाखोलाका प्रभावितका लागि स्थानीय विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरी केन्द्रले २ लाख १ हजार रुपैयाँ पालिकालाई हस्तान्तरण गरेको जनाएको छ।

केन्द्रले तीनवटा पालिकामा गरी कूल १६ लाख ४९ हजार रुपैयाँ वितरण भएको जनाएको छ। सिदिङ्वाका मृत्यु र बेपत्ता परिवारलाई जनही १२ हजारका दरले ७२ हजार,बिस्थापित २७ परिवारलाई प्रति परिवार २५ हजारका दरले ६ लाख ५० हजार रुपैयाँ बराबरको चेक तथा नगद हस्तान्तरण गरेको सरोकार केन्द्रका महासचिव सन्तोष मादेनले जानकारी दिए। सिदिङ्वा गाउँपालिकाको वडा नं ६ मेहेलेस्थित भालुखोप र मुकुभञ्ज्याङमा गएको पहिरोमा परी ३ जनाको मृत्यु भएको थियो भने एकाघरका ३ जना बेपत्ता छन्। यस्तै सो पालिकाका त्यस्तै उच्च जोखिम २० परिवारलाई प्रतिपरिवार ६ हजार रुपैयाँका दरले १ लाख २० हजार रुपैयाँ, घाइते दुई जनालाई जनही १० हजारका दरले २० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। पहिरो पीडित यादवबहादुर बुढाक्षेत्रीलाई भने ४१ हजार रुपैयाँ सहयोग गरिएको छ। बुढाक्षेत्रीका श्रीमति,बुहारी र नाति बेपत्ता छन्। ३ बेपत्ता सदस्यका आफन्तले ३६ हजार रुपैयाँ पाउनुपर्नेमा उनलाई केन्द्रले ५ हजार थपेर राहत रकम दिएको छ।

यस्तै सिरिजङ्गा गाउँपालिकाका पहिरो पीडित तथा प्रभावित परिवारलाई सरोकार केन्द्रले ५ लाख ८१ हजार रुपैयाँ राहत रकम बितरण गरेको छ। केन्द्रका उपमहासचिव तथा राहत रकम सहयोग संकलन समिति संयोजक डण्डु लामाका अनुसार सो पालिकाका पूर्ण रुपमा विस्थापित ५ परिवारलाई जनही २५ हजारका दरले र आंशिक क्षति व्यहोर्ने ७६ घरलाई ६ हजार रुपैयाँका दरले राहत रकम वितरण गरिएको हो। मैवाखोलाका पहिरो पीडितका लागि सरोकार केन्द्रले एकमुष्ट २ लाख १ हजार रुपैयाँको चेक स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक एवम् पालिका अध्यक्ष विजयप्रकाश वनेमलाई हस्तान्तरण गरेको केन्द्रले जनाएको छ।  

प्रकाशित: २३ श्रावण २०८० ०७:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App