१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

सामाखुसी खोला व्यवस्थापन छिट्टै नगरे जोखिम बढ्ने

तस्बिर: उपेन्द्र/नागरिक

काठमाडौं महानगरपालिका भएर बग्ने सामाखुसी खोला किनारमा रामबाबु ठाकुरले सैलुन चलाउँदै आएको २५ वर्षभन्दा बढी भयो। खोलामाथि बनाएको कंक्रिट ढलान हटाउने क्रममा उनको पसल पनि नराम्ररी प्रभावित बन्यो। उनले पसल छाड्नुपर्‍यो।

‘वर्षौदेखि रोजीरोटी कमाएको ठाउँ छाड्दा दुःख त लाग्छ नै’, उनले भने, ‘पछि राम्रो हुने आशामा अहिलेको दुःख भुल्दैछौं।’ अहिले भत्काएको ठाउँ भविष्यमा राम्रो भएको हेर्ने चाहना रहेको उनले बताए।

उनको जस्तै धारणा छ, स्थानीय बेन्जु सिटौलाको पनि। खोलाको भेल शनिबार कोठामा छिरेपछि उनी दुखी देखिन्थिन्। खोला छोपेको कंक्रिट ढलान खोल्दा राम्रो लागेको बताउँदै उनले अब व्यवस्थापनमा पनि उत्तिकै ध्यान पुर्‍याउनुपर्ने सुझाए। ‘छोपिएको ढलान भत्काउने मात्र हैन, खोला व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनुपर्छ,’ उनले भनिन्, ‘व्यवस्थापनमा ध्यान नदिए वर्षायाममा घरघरमा बाढी पसेर दुर्घटना हुन सक्छ।’

तस्बिर: उपेन्द्र/नागरिक

खोला खोल्ने क्रममा सरसफाइमा ध्यान नदिए बाढी बस्तीमा छिर्ने उनले बताइन्।

काठमाडौं महानगरपालिकाले साउनदेखि थालेको सामाखुसी खोलामाथिको कंक्रिट संरचना हटाउने कार्य अहिले अन्तिम चरणमा पुगेको छ। बसुन्धराबाट सुरु भएको काम रेर्डन क्याम्पस क्षेत्रसम्म आइपुगेको छ।

महानगरले केही दिनमै मैह्पी मन्दिरस्थित विष्णुमती नदी जोड्ने ठाउँसम्म खोलामाथिका संरचना हटाउने योजना बनाएको छ। झन्डै अढाई किलोमिटर लामो यो संरचना भत्काउनेक्रममा कतिपय ठाउँमा महानगरले विरोधको समेत सामना गर्नुपरेको छ।

 ‘हामीलाई घर जाने बाटोसमेत नराखी आँगन भत्काइएको छ,’ ७५ वर्षीया सुतली कपालीले भनिन्, ‘ओहोरदोहोर गर्नसमेत समस्या परेको छ।’ वर्षौंदेखि बसोबास गर्दै आएको स्थानमा वर्षाको समयमा बाढीजस्तै गरेर सरकार पसेको उनले बताइन्। ‘हाम्रोबारेमा पनि केही सोच्नुपर्ने हो,’ उनले भनिन्, ‘नसोच्दा हामीलाई दुःख लागेको छ।’

काठमाडौं महानगरपालिकाले साउनदेखि थालेको सामाखुसी खोलामाथिको कंक्रिट संरचना हटाउने कार्य अहिले अन्तिम चरणमा पुगेको छ। बसुन्धराबाट सुरु भएको काम रेर्डन क्याम्पस क्षेत्रसम्म आइपुगेको छ।

कतिपयले सामाजिक सञ्जालमा महानगरको कार्यशैलीको विरोध गरेका छन्। ‘काठमाडौं–३ मा पर्ने सामाखुसीको यो क्षेत्रमा जे भयो, त्यो भोग्न नपर्नेजतिका लागि कीर्तिमानीको विषय बनेको छ भने भोग्नेजतिका लागि पीडाको विषय बनेको छ,’ सामाजिक सञ्जालमा रन्जु दर्शना लेख्छिन्, ‘मापदण्डविपरीत कसरी नक्सा पास भएर घर निर्माण भए पहिला नक्सा पास गर्नेहरूलाई समेत कारबाहीमा ल्याउनुपर्छ।’

यो फोहोरी खुला खोलाछेउ कसरी मानिस बस्न सक्छन् त भन्दै उनले अबको उपाय के भन्दै प्रश्न पनि गरेकी छिन्। ‘उनीहरू पनि त यही नगरका बासिन्दा हुन्,’ उनले लेखेकी छिन्, ‘जुहारी खेलेर हुँदैन, उचित समाधान खोज्नैपर्छ।’

महानगरपालिका भने समस्या समाधानको उचित बाटोमा हिँडेको बताउँछ। महानगरभित्रका खोलाखोल्सीको संरक्षण गर्ने नीतिअन्तर्गत छोपिएका खोला खोलेको महानगरको भनाइ छ।

 ‘खोलाको बीच भागबाट दायाँबायाँ १३–१३ फिट फराकिलो बनाएर सामाखुसीमा सफा पानी बगाउने योजना छ,’ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर भन्छन्, ‘खोलामा घरको ढल मिसाउन नदिन दायाँबायाँ ढल र करिडोर निर्माण गर्ने योजना छ।’

जोखिम हट्ने कि बढ्ने?

यही साउन ७ गते सामाखुसी खोलामा खसेका १३ वर्षीय बालकका कारण पनि यो खोला निकै चर्चाम आयो। बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर ११ दिनपछि दक्षिणकाली नगरपालिका–७ भुल्काको वाग्मती नदी किनारमा मृत फेला परेका थिए।

खोलामा अहिले हुँदै गरेको कामसँग यो घटना प्रत्यक्ष नजोडिए पनि धेरैले यसलाई जोडेर समेत आफ्नो राय राखेका छन्। कतिपयले खोला खुला छाड्दा दुर्घटना हुने बताएका छन्। ‘बस्ती छेउको खोला खुला राख्दा अर्को दुर्घटना हुन सक्छ,’ स्थानीय बन्दना कपाली भन्छिन्, ‘जोखिम कम गर्न तुरुन्तै सुरक्षाबार लगाउन जरुरी छ।’

खोलामा अहिले हुँदै गरेको कामसँग यो घटना प्रत्यक्ष नजोडिए पनि धेरैले यसलाई जोडेर समेत आफ्नो राय राखेका छन्। कतिपयले खोला खुला छाड्दा दुर्घटना हुने बताएका छन्।

कतिपय खोला कंक्रिटको ढलानले नछोपेर खुला छाडिएको भए त्यसमा खसेका बालकको समयमै उद्धार हुन सक्थ्यो भन्ने तर्क गर्छन्। ‘खोला छोपिएका कारण एम्बुसजस्तो बन्यो,’ प्रभा बस्नेत भन्छिन्, ‘खुला भैदिएको भए धेरैले बालकलाई देख्थे र जीवन जोगिन सक्थ्यो।’

प्रकाशित: २२ श्रावण २०८० ०२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App