१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

आकर्षणको केन्द्र हिमताल

यहाँको हिमशृंखला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्यमा रमाउन पर्यटक आउने गर्दछन्। विशेषगरी यहाँ आउने पर्यटक हिमतालमा रमाउने गरेको पाइन्छ।

यहाँका अग्ला डाँडाकाँडा, छहरा, झरनामा पर्यटकले मोहित हुँदै मनाङ प्रवेश गर्छन्। यहाँका सफा, स्वच्छ झरना, छहराका पानीले मोहित पारेको पर्यटक बताउँछन्। यहाँको हिमनदीबाट झरेर बनेका तालमा रमाउँदै यहाँको मजा लिने गरेको उनीहरूको भनाइ छ।

जिल्ला प्रवेश गरी पहिलो दिन तालबस्तीमा देखिएका स्वच्छ झरनाबाट नै यहाँ अझ कस्तो होला भन्दै लोभ्याउने गरेको उनीहरू बताउँछन्। कजिनसारा ताल, ड्रोना ताल, गंगापूर्ण ताल, क्लिन लेक, ग्रिन लेक, ढुकुर पोखरी, आइसलेक, पोङ्कर ताल, तिलिचो ताल लगायत छन्।

यी तालले पर्यटकलाई आकर्षित गरेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए। उनले भने, ‘यहाँ आउने पर्यटकले विशेष गरी ताल, हिमशृंखला, झरनाले आकर्षित गरेको बताउँछन्, यहाँका ताल, झरनामा रमाउने र सहज रूपमा पुग्ने बनाउन लागिपरेका छौं।’

झरना र तालतलैयामा सहज पुग्ने विकास निर्माण र नयाँ तालको खोजीमा गाउँपालिका जुटेको उनले बताए।

‘नयाँ ताल खोजी, भएका तालमा पूर्वाधार निर्माणका लागि बजेट नै छुट्याएका छौं, हाम्रा गहनाको हामीले नै संरक्षण गर्ने हो’, उनले भने। चामे गाउँपालिकामा कजिनसारा, ड्रोना ताल पर्दछन्।

मनाङ ङिस्याङ गाउँपालिकामा जिल्लाकै सबैभन्दा बढी ताल रहेको छ। यहाँ ढुकुर पोखरी, ग्रिन लेक, क्लिन लेक, गंगापूर्ण ताल, तिलिचो ताल, आइसलेक, पोङ्कर ताल पर्दछन्। यहाँका तालसम्म पुग्ने बाटो बनाउने र तालसम्म पुग्ने पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेटको व्यवस्थापन गरेको छ।

यहाँका तालतलैयासम्म पुग्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पनि सघाउँदै आएको छ। तालसम्म पुग्ने बाटामा गाउँपालिकासँगै एक्यापले विभिन्न चिह्न राख्ने काम गरेको जनाएको छ।

मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले यहाँका ताललाई सुरक्षित र संरक्षणका लागि बजेट छुट्याएको बताए। यहाँ धेरै ताल रहेकाले कति ताल अझै गुमनाम रहेको उनले बताए।

हिमालबाट लुकेर आएको पानी नै यहाँ अधिकांश ताल बन्ने गरेका छन्। यहाँको विकासका लागि पर्यटकको आगमनले अझै उत्साहित बनाउने गरेको पर्यटन व्यवसायी विनोद गुरुङले बताए।

पर्यटनको हबका साथै मनाङलाई फिल्म छायांकनको क्षेत्र समेत बनाउने गरी विकास गर्नुपर्ने उनको भनाइ छ।

दुई याममा पर्यटक यहाँ घुम्न आउने गर्दछन्। ती यामको छुट्टाछुट्टै रकम तिर्नुपर्ने प्रावधान निर्धारण गरिएको छ। पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ, कोही पोखरा जान अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन्। अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेंसीशहर नगरपालिका-७ मनाङे चौतारामा रहेको छ।

अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ। काठमाडौंबाट बेंसीशहरसम्म सवारीसाधन मार्फत पर्यटक आउने गर्दछन् र पदमार्गबाट मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन्।

प्रकाशित: २१ श्रावण २०८० ०४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App