२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

७८ औँ हिरोसिमा–नागासाकी स्मृति दिवस मनाइयो

जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले पारमाणविक बम प्रहार गर्दा भएको नरसंहारको ७८ औँ स्मृति दिवस मनाइएको छ।

अफ्रो–एशियाली जनएकता सङ्गठन (आपसो) नेपालको आयोजनामा आज दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा बम प्रहार गर्दा भएको त्रासदीपूर्ण घटनाको स्मरण गरिएको हो।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं पूर्वमन्त्री डोलप्रसाद ९डिपी० अर्यालले विश्वलाई युद्धको आवश्यकता नभएकाले अब विचारको युद्ध अगाडि बढाउनुपर्ने बताए। ‘बुद्ध जन्मभूमिका हामी नेपालीले विश्वलाई शान्तिको सन्देश दिनुपर्छ’, उनले भने।

सांसद अर्यालले संसारका अरु देश कसरी विकास भइरहेका छन् त्यसबाट नेपालले पाठ सिक्नुपर्ने उल्लेख गरे। उनले नेपाल र जापानबीचको सम्बन्ध प्रगाढ भएकाले यसलाई निरन्तररूपमा अगाडि बढाउनुपर्ने धारणा राखे।

त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रीय विभागका प्राडा मोतीलाल शर्मा भुसालले विश्वका धेरै देशबीच आणविक हातहतियार बनाउने होडबाजी चलेको भन्दै यसले विश्वलाई फाइदा नगर्ने बताए। रुस र युक्रेनबीचको पछिल्लो युद्धले विश्वमा समस्या हुँदै गएको उनको भनाइ थियो।

प्राडा भुसालले भारतको हिमाञ्चल प्रदेश, पाकिस्तानको बलुचिस्तान र चीनको तिब्बतमा आणविक केन्द्रहरू रहेकाले त्यसको पाँच सय वर्गकिलोमिटर क्षेत्रभित्र नेपाल रहेकाले हामी आणविक हतियारको बारेमा गम्भीर हुनुपर्ने बताए।

संस्थाका सहअध्यक्ष प्राडा प्रदीपकुमार खड्काले हतियार र परमाणु बमले मानव सभ्यतामाथि नै चुनौती थपिँदै गएको बताए।

कार्यक्रममा संस्थाका उपाध्यक्ष प्राडा श्रीधर गौतम, महासचिव प्राडा गोपाल पोखरेल ‘विवश’, डा सविता श्रेष्ठलगायतले हिरोसिमा र नागासाकी आक्रमण मानव सभ्यताको कालो दिन भएको बताएका थिए।

सन् १९५८ मा इजिष्टको कायरोमा सम्पन्न एशिया र अफ्रिकाका मुलुकको साझा प्रयासबाट अफ्रो–एसियाली जनएकता सङ्ठन स्थापना गरी नवउपनिवेशवाद, साम्राज्यवाद र विस्तारवादको विरुद्धमा काम गरिँदै आएको छ। उक्त सङ्गठन एसिया, अफ्रिका, ल्याटिन अमेरिकालगायतका ९० भन्दा बढी देशमा विस्तार भइसकेको छ।

सन् १९४५ अगष्ट ६ तारिखको दिन बिहान ८ बजेर १५ मिनेटमा अमेरिकी बमवर्षक विमानले हिरोसिमाको आकाशबाट पारमाणविक बम ‘लिटिल बोय’ खसालेको थियो। बम खसेको केही समयमा नै हिरोसिमा खण्डहर बनेको थियो। लाखौँले ज्यान गुमाए, हजारौँ घाइते, अङ्गभङ्ग भए। भौतिक संरचना ध्वस्त भए। हिरोसिमामा मात्र दुई लाख मानिसको मृत्यु भएको थियो।

हिरोसिमा तहसनहस भएको तीन दिनपछि अगष्ट ९ तारिखका दिन बिहान ११ बजेर २ मिनेट जाँदा नागासाकी सहरमा पनि अर्को पारमाणविक बम ‘फ्याट म्यान’ खसालियो। नागासाकी निवासीले पनि हिरोसिमाकै नियति व्यहोर्न बाध्य भए। नागासाकीमा मात्रै एक लाख ४० हजारभन्दा बढी मानिसले ज्यान गुमएका थिए।  

प्रकाशित: २० श्रावण २०८० १४:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App