१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बुबाआमा भागेपछि बालबालिकाको बिचल्ली

बेवारिसे अवस्थामा तीन बालबालिका फेला परेका छन्। कालिकोटको पलाँता गाउँपालिका— ८ घर बताउने वर्ष १३ का मदन बम, वर्ष १० का भूपेन्द बम र वर्ष ७ की दर्पना बम दैलेखको डुंगेश्वरमा फेला परेका हुन्। विगत एक वर्षदेखि सुर्खेतस्थित मामा घर बस्दै आएका उनीहरू घरमा कोही नभएपछि बिचल्लीमा परेका हुन्।

चार वर्षपहिले बुबा जयलाल बम दोस्रो विवाह गरेर भारतमै बसेको बालक मदन बमले बताए। उनले भने, ‘बुबा भारतबाट घर फर्किएपछि आमाबालाई पनि लिएर जानुभयो। आमा केही समयपछि सुर्खेत फर्कनुभयो। हामीलाई सुर्खेतमै छाडेर बुबा फेरि भारतमा पैसा कमाउन जानुभयो। दुई वर्ष बित्दा पनि फर्केर नआएपछि आमा मायादेवी बुबालाई खेज्न भन्दै भारत जानुभयो। आमा गएको पनि चार महिना भयो। फर्केर आइनन्।’

कोठा भाडा तिनुपर्ने, स्कुलमा पढ्नुपर्ने, कोठामा खाना खानुपर्ने अवस्थामा पुगेपछि हामी तीन दाजुभाइ आफ्नो सामान बोकेर हिँडेको मदन बमले बताए। उनले भने, ‘सुर्खेतबाट २ गते हिँड्यौं। बाटोमा मागेर खाँयौं। जंगलमा बास बस्यौं। १२ दिन लाग्यो। बाटोमा धेरै पीडा भोगियो।’अहिले पनि घर कतिखेर पुग्ने भनेर चिन्ताले सताउने गरेको उनले बताए।

कालिकोटको घरमा आफन्त भएको बताउने उनीहरूलाई डुंगेश्वर प्रहरीले कालिकोटका नेत्रबहादुर शाहीसँग गाडीमा राखेर कालिकोट पुर्याएको छ। उनीहरूलाई सामाजिक सेवा केन्द्र सोसेक नेपालले राखेको छ। उनीहरू आमाबुबा हुँदाहुदै बेवारिसे बन्न पुगेका हुन्।

स्थानीयका अनुसार यी बालबालिका सुर्खेतमा मामाका घरमा बस्दै आएका र मामाका घरकाले केही गाली गरेपछि भागेर हिँडेका हुन्।

यी बालबालिकाका साथमा पहिले दिदी बस्ने गरेको र दिदी पनि आफन्त फुपूसँग उपचारका लागि भारत गएको बालक भूपेन्द बमले बताए। उनले भने, ‘आमी दिदी पनि उतै गएकी छन्। सुर्खेतमा बस्न सक्ने अवस्था भएन। हामी हिँडेर आएका हौं। पछि डुंगेश्वर प्रहरीकहाँ पुगेपछि हामीलाई सजिलो भयो।’शरीरमा एकसरो कपडा मात्र लगाएका उनीहरूका खुट्टामा चप्पल पनि छैन।

कपडा सहयोग

एक सरो कपडा र खाली खुट्टामा कालिकोट पुगेका उनीहरूलाई कपडा सहयोग गरिएको छ। तीनजना बालबालिकालाई लगाउने कपडा र चप्पल सहयोग गरिएको हो। पत्रकार पुष्पराज भट्टराई र ललित विष्टको समन्वयमा व्यापारी उद्धव बराल, नेता लक्ष्मणबहादुर बम, मेडिकल सञ्चालक तुलाराज विष्ट, इन्जिनियर कम्मर शाहीलगायतले सहयोग गरेका थिए। अहिले पनि उनीहरूका आफन्त सम्पर्कमा छैनन्। प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित: १६ श्रावण २०८० ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App