४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको भीड

सौरमास अनुसार साउनको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ।

साउनको सोमबार भक्तजनको बिहानैदेखि भीड लाग्ने भएकाले आज बिहान ३ बजेदेखि चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले बताए।

साउनको तेस्रो सोमबार आज सुन्दरीजलबाट शुद्ध जलसहित बोल बम यात्रा गरी पशुपतिनाथ मन्दिरमा चढाउने भक्तजनको पनि भीड बढेको उनले सुनाए। बोल बम काँवरिया संघको आयोजनामा आज सुन्दरीजलबाट पशुपतिनाथसम्म बोल बम यात्रा गर्ने भक्तजनको भीड लागेको हो।

साउनको सोमबार पशुपतिनाथ लगायत शिवालयमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ। साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले यस दिन उनको पूजा आराधना तथा शुद्ध जल अर्पण गर्नाले आशुतोष भगवान् खुसी हुने विश्वास गरिन्छ। भक्तजनको भीड लाग्ने भएकाले साउनको सोमबारका अवसरमा पशुपति क्षेत्रमा तीज र महाशिवरात्रिको जस्तै तयारी गरिएको कोषले जनाएको छ।

साउनको सोमबार पशुपतिनाथ लगायत शिवालयमा विशेष पूजा आराधना गर्ने भक्तजनको पनि भीड लाग्ने गर्छ। यस वर्ष भने साउनमा अधिक मास रहेकाले साउनको सोमबारको व्रत गर्नेले व्रत गर्नु हुने वा नहुनेमा मतान्तर रहेको छ। साउनमा प्रत्येक वर्ष भगवान् शिवको पूजा आराधना गरिने नित्य कर्म भएकाले गर्न हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर भएको हो।

साउनको तेस्रो सोमबार आज पनि पशुपतिनाथ लगायत शिवालयमा भेला भएका भक्तजनमध्ये धेरैजसो वर्तालु महिला रहेका छन्। साउनको सोमबारका अवसरमा आज राजधानीको गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव लगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ।

प्रकाशित: १५ श्रावण २०८० ०७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App