२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाउँमै मेवा खेतीबाट लाखौं रुपैयाँ

कोरियाबाट फर्केका रामेछापका एक युवाले भने गाउँमा नै  मेवा खेतीबाट लाखौं रुपैयाँ कमाउन सुरु गरेका छन्। उनले आफ्नो व्यवसायमा थप दुई जनालाई रोजगारी समेत दिएका छन्।

रामेछापको खाँडादेवी गाउँपालिकास्थित वडा नं ८ गागलका जनकलाल तामाङले मेवा खेती गरेर मनग्य आम्दानी लिइरहेका छन्। उनको मेवा खेतीले यसबेला जिल्लामा निकै चर्चा कमाइरहेको छ। उनले आफ्नो मेवा फार्ममा पुग्नेलाई प्रतिकेजी ५० देखि ६० रुपैयाँसम्ममा बिक्री गर्छन्। बजारमा मेवाको मूल्य प्रतिकेजी एक सय रुपैयाँभन्दा माथि नै रहेको छ।

व्यवसायी तामाङले भने, ‘सात वर्ष कोरियामा मासिक दुई लाख रुपैयाँभन्दा बढी तलबमा काम  गरें।  कोरोना महामारीको असर परेपछि स्वदेश फर्किएँ। गाउँमै मेवा फार्म दर्ता गरेर घरमै बस्ने निधो गरें। मेवा लगाएँ। डेढ दुई वर्ष भित्रनै उत्पादन दिन थाल्यो।’

पर्याप्त मेवा उत्पादन हुन थालेपछि उनले यतिमा नै  सन्तोष मानेका छैनन्। उनले चकलेट र जुस बनाउने उद्योग गाउँमै स्थापना गर्ने तयारी गर्दै छन्। ‘चाँडै काम भइदियो भने केही महिनामा उद्योग सञ्चालन गर्ने अवस्थामा पुग्छु’, उनले भने, ‘थकाइ मार्दिनँ, आफ्नै माटोमा केही गरेर देखाउँछु।’

तामाङको मेवा खेती गरिएको-८ गागल जिल्ला सदरमुकामबाट झण्डै २५ किलोमिटर पश्चिममा पर्दछ। चकमन्न गाउँको बीचमा पर्ने कालोमाले टोलमा उनले आफ्नो, दाजुको र भाइको समेत गरी ३८ रोपनी जग्गामा मेवा खेती गरेका गरिरहेका छन्। दुई वर्षअघि लगाएका बिरुवाबाट राम्रो फल लागेपछि उनी अझ मेवा खेती विस्तारका लागि हौसिएको छ।

उनले भने, ‘मैले अरूको जग्गा भाडामा लिएर थप ३० रोपनी जग्गामा मेवा खेती गर्ने तयारी गरेको छु।’

दुई वर्षअघि उनले पाँच हजार मेवाको बिरुवा लगाएका थिए। ‘विभिन्न रोग, किरा लगायतको संक्रमणले झण्डै एक हजार दुई सय बिरुवा खेर गए। फार्ममा तीन हजार दुई सय बोट हुर्केका छन्।’

उनका अनुसार बिरुवा खरिददेखि हालसम्म प्रतिबोट आठ सय रुपैयाँ जति खर्च भएको छ।

‘बल भएका बेला विदेशमा गएर काम गर्दा कमाइएला तर वृद्ध अवस्थामा के गर्ने?’ उनले भने, ‘त्यसैले आफ्नै गाउँठाउँमा केही गरेर खान सक्नुपर्छ।’

एउटै मेवा पाँच केजीसम्मको फल्ने गरेको उनले बताए। एकपटक लगाएको बिरुवाले तीन वर्षसम्म राम्रो उत्पादन दिने पनि उनको अनुभव छ।

उनको बगैंचामा ताइवानी हाइब्रिड मेवा फस्टाएको छ। हावाहुरी, शित र रोगकिराका कारण हमेसा क्षति नहुने यस जातको मेवा बाँदरले समेत नरुचाएकाले यसैलाई उनले विस्तार गर्ने सोच बताए। मेवा खेतीमा रमाएका उनले हालसम्म राज्यका कुनै निकायमा अनुदानका लागि आवेदन गरेका छैनन्। सिंचाइ, कीटनाशक औषधि तथा विषादी, बजारीकरण, हार्वेस्टिङ कीट, मल लगायतका सामग्री उनी आफैंले खरिद गर्ने गरेका छैनन्।  

प्रकाशित: १५ श्रावण २०८० ०५:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App