१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

ताप्लेजुङमा सम्बन्ध विच्छेदका घटना बर्सेनि बढ्दै

 ताप्लेजुङमा सम्बन्ध विच्छेदका घटनाले बर्सेनि नयाँ रेकर्ड कायम गर्न थालेको छ। ताप्लेजुङ जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९।८० मा जिल्ला अदालतमा रहेका कूल मुद्दाको करिब ४७ प्रतिशत सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा रहेका थिए। 

आव २०७७।७८ मा करिब ३४ प्रतिशत सम्बन्ध विच्छेदका मुद्दा रहेकोमा आव २०७८÷७९ मा बढेर करिब ४१ प्रतिशत पुगेको थियो। अघिल्लो आव भन्दा आव २०७९।८० मा सम्बन्ध विच्छेदका मुद्दा ६ प्रतिशत हाराहारीले बढेको पाइएको छ। अदालतका अनुसार आव २०७९।८० मा अघिल्लो आवबाट जिम्मेवारी सरी आएका र नयाँ लगतको रुपमा दर्ता भएका समेत गरी कूल ४ सय ६९ थान मुद्दा थिए। त्यसमध्ये २ सय २० थान मुद्दा सम्बन्ध विच्छेदका थिए।

सम्बन्ध विच्छेदका २ सय २० थान मुद्दा मध्ये अदालतले आव २०७९।८० मा १ सय ७९ थान फर्स्यौट गरेको छ। सम्बन्ध विच्छेदका ४१ थान मुद्दा चालू आवका लागि जिम्मेवारी सरी आएका छन्। चालू आवको पहिलो दुई सातामा अदालतमा ७ थान मुद्दा दर्ता भएका छन्। ती मध्ये २ वटा मुद्दा सम्बन्ध विच्छेदका छन्। यो करिब २९ प्रतिशत हाराहारी हुन आउँछ। नयाँ दर्ता भएका ७ थान मुद्दा मध्ये लेनदेन सम्बन्धीका ३ वटा तथा अभद्र व्यवहार र अंश चलन सम्बन्धका १–१ वटा मुद्दा रहेका छन्। सम्बन्ध विच्छेदलाई पारिवारिक बिग्रहको संज्ञा दिने गरिन्छ।

सम्बन्ध विच्छेदले मानिसको घरबारमा समस्या सृजना हुने,बालबच्चाको भविष्यमा असर गर्ने र पारिवारिक तनाव बढ्ने जस्ता समस्या देखा पर्ने गरेका छन्। ताप्लेजुङ जिल्ला अदालतको पछिल्ला तीन वर्षको तथ्याङ्क हेर्ने हो भने सम्बन्ध विच्छेदका घटना अंक गणितीय हिसावले(हाराहारी ६ प्रतिशतका दरले) बढिरहेको छ। 

प्रकाशित: १४ श्रावण २०८० ०८:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App