७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कृषि एम्बुलेन्स सञ्चालनपछि पनि किसानको पीठ्यूँमा तरकारीको भारी

बर्षादसँगै सडक बिग्रिँदा तरकारी ढुवानीमा समस्या

आलु बोकेर मार्तडी पुगेका एक बालक। तस्बीरः नागरिक

बडीमालिका नगरपालिकाले असार पहिलो साता कृषि एम्बुलेन्स सञ्चालनमा ल्यायो। तामझामका साथ उद्घाटन पनि गरियो। किसानकै बारीमा पुगेर तरकारी ढुवानी गर्ने र पालिका बाहिरका बजारसँग पनि बडीमालिकाका किसानले उत्पादन गरेको तरकारीको उपलब्धता गराउने उद्देश्य थियो।

केही दिन एम्बुलेन्स नियमित किसानको घर पुग्यो, तरकारी संकलन गरेर मार्तडी लगाएका बजार ल्यायो। किसानलले पिठ्यूँमा बोकेर बजार पुर्‍याउनु पर्ने बाध्यता हट्ने आस सहित खुसी व्यक्त गरे । तरकारीको बजार विस्तार पालिका बाहिर हुनेमा आशावादी पनि भए।  

जब बर्षादको झरी थपिदैं गयो, गाउँका सडक बिग्रिन थाले र एम्बुलेन्स तरकारी संकलनको कामबाट बाहिर हुन थाल्यो। सडक बाटो नहुँदा र उद्देश्य राखिएजस्तो गरी सबै किसानलाई समेट्ने योजना प्रभावकारी नहुँदा अहिले पुरानै अवस्था सिर्जना भएको छ।  

किसानहरु बिहानै पिठ्युँमा तरकारी बोकेर बजार पुग्छन्। पसल पसल ढुलाउँछन् र दुख अनुसारको मूल्य नपाए पनि घर फर्किनु पर्ने बाध्यताले सस्तोमा विक्री गर्न बाध्य छन्। कृषि एम्बुलेन्स सञ्चालनले किसानमा पलाएको आस महिना दिन नबित्दै निराशामा परिणत भएको छ।  

हाल एम्बुलेन्स सडक समस्या देखाउँदै किसानको तरकारी ढुवानीमा सक्रिय छैन। बरु किसानहरु पानीमा भिजेरै भएपनि पिठ्युँमा बोकेर मार्तडी पुर्‍याउन बाध्य छन्। बोकेर ल्याएको तरकारी विक्रीका लागि दिनभर सडकमा बस्नुपर्ने र बेलुका बिक्री नभए पनि फिर्ता लिएर वा सस्तोमा दिएर घर फर्किनुपर्ने बाध्यता किसानहरूको छ।  

पालिकाले एक वडाका कम्तीमा ५० जना किसानलाई उत्पादनमा जोड्ने र दैनिक १० क्विन्टल माथिको उत्पादन गाउँबाट बजारमा ल्याउने अवस्थाको ग्यारेन्टी गर्ने लक्ष्य लिएको थियो। बर्षादको समय देखाउँदै हाल उत्पादन गरिरहेका किसानको तरकारी समेत संकलन गरी बजार ल्याउने कार्यमा पालिका असफल भएको छ। पालिकाले ३२ लाखको लागतमा कृषि एम्बुलेन्स खरिद गरेको छ।

किसानसँग जोडिनु नै उत्पादन सँग जोडिनु हो, उनीहरुको जीवनयापन र आर्थिक उपार्जनसँग जोडिनु हो, उत्पादनपछिको बजार र विक्रीको ग्यारेन्टी पालिकाका तर्फबाट गर्ने पवित्र लक्ष्यमा ठेस लागेको अवस्था छ। पहिलो बाधक सडक र दोस्रो कारण एम्बुलेन्स सञ्चालन नीतिले गाउँ तहका किसानसँग जोडिन सकेको छैन। बोकेर ल्याएको तरकारी पनि खुला सडकमा बसेर विक्री गर्नु बाहेकको विकल्प कसिनासँग छैन।  

पालिकाले अन्तर पालिका र जिल्ला समन्वयलाई पनि अघि बढाउने, छिमेकी जिल्ला अछामको मंगलसैन र साँफेबगर, छिमेकी पालिका, बुढीनन्दाको कोल्टी, बुढीगंगाको फालासैन, बाँम्का र बेतालमाडौंलाई समेत लक्षित गरेर एम्बुलेन्स सञ्चालन गरेको हो। बडीमालिका तरकारी उत्पादनका लागि सम्भावना बोकेको पालिका हो।  

जुन उद्देश्य राखेर एम्बुलेन्स सञ्चालन गरियो, त्यो अनुरूप किसानलाई जोड्न नसकिएको तथ्य बिहानै पिठ्युँमा बोकेर मार्तडी पुग्ने किसानको अवस्थाबाट प्रमाणित भएको देखिन्छ। पालिकाका तर्फबाट उपभोक्तालाई सहज र ताजा तरकारी पाउने र किसानलाई सहुलियत बजारी करण गर्ने लक्ष्य राखेको सडक बिग्रिँदा समस्या भएपनि निराशा लिनु पर्ने ठाउँ नभएको कृषि शाखा प्रमुख रमेश विकले बताएका छन्।

सबै किसानले बजारमा पहुँच राख्दैनन्, मूल्यमा एकरूपता हुँदैन, बाहिरको तरकारीसँग प्रतिस्पर्धा गर्न समस्या हुन्छ र समय नै धेरै खर्च गर्नु पर्ने अवस्थाको एम्बुलेन्स सञ्चालन पछि अन्त्य हुने अनुमान र आस किसानको थियो। तर सञ्चालन प्रक्रिया प्रभावकारी नहुँदा किसानलाई विश्वस्त पार्न पालिकाले सकेको छैन।

पवित्र उद्देश्य र किसानलाई नै राहत दिने, कृषि उत्पादन बढाउने गरी एम्बुलेन्स सञ्चालन गरिएको हो। यसमा किसान र कृषि क्षेत्रका जानकारहरु पनि खुसी छन्। बर्साद बाटो र अन्य प्राविधिक कठिनाई हुँदा कति कुरा नमिल्ने अवस्था आए पनि समग्रमा दीर्घकालीन उद्देश्य राम्रो हुनेमा कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनप्रसाद जैशीको तर्क छ।  

एम्बुलेन्स सञ्चालन पछि सहज तरकारी ल्याउने, ठगिने समस्या नहुने, मूल्यमा समानता हुने र विक्रीमा सहजता भएको रजालीका किसान रणबहादुर खड्काले बताएका छन्। खड्काले आफ्नो तरकारी एम्बुलेन्स मार्फत नै ढुवानी हुने गरेकोमा खुसी व्यक्त गरेका छन्। तर थोरै उत्पादन गर्ने र सडक दुरीबाट केही पहुँच बाहिर रहेका किसानहरुका हकमा भने एम्बुलेन्स सेवा सहज उपलब्ध हुने सकेको छैन।

सानो मात्रामा तरकारी उत्पादन गर्ने र परिवार पाल्ने खेती किसानी गर्ने किसानसँग कृषि एम्बुलेन्स सेवा जोडिन नसकेको गुनासो बढिरहेको छ। पीठ्यूमा बोकेरै मार्तडी पुर्याउने पर्ने बाध्यता नहटेको ती किसानहरूको साझा गुनासो हो।

घरबाटै भारी बोकेर बजारसम्म कृषि उत्पादन ल्याउनु परेको दुख बडीमालिका ७ का सुनिल नेपालीको छ। उमेरले १३ वर्ष कटेका नेपालीले ३० केजी आलुको भारी बोकेरै मार्तडीको लोकतान्त्रिक चोकमा पुर्‍याए । एम्बुलेन्स छ, बोकेर किन ल्याउनु पर्‍यो भन्ने प्रश्नमा नेपालीले केहीका लागि होला, हामीले सधैँ बोकेरै मार्तडी ल्याउनु परेको गुनासो गरे।

प्राय सबैजसो दिन बडीमालिका २ की नन्दा कार्की पनि डोकोमा तरकारी र फलफूल बोकेर मार्तडी पुग्ने गरेकी छन्। उनलाई पनि कृषि एम्बुलेन्स छ, ढुवानी गर्छ, भन्ने जानकारी पाएको, तर गाउँमा गएर कहिल्यै खबर नगरेको बताइन्। 

‘नत गाउँमा एम्बुलेन्स पुग्छ न हामीले खबर नै पाएका छौं, खबर पाए पनि ठुला बडा र चिनजानका मान्छेको त होला बोक्ने, हामीले पिठ्युँ फटाउनु बाहेक अर्को विकल्प नै छैन, नन्दाले लजाउँदै गुनासो सुनाइन्।’

बडीमालिका ६ कोर्धकी किरी साउँद पनि केराका भारी बोकेरै मार्तडी पुग्छिन्। जीपमा आउँदा केराको मूल्य भन्दा बढी भाडा लाग्छ, परिवार पाल्न, छोरा छोरीको कापी किताब गर्न दुख गर्नै पर्‍यो, बोकेर मार्तडी पुर्याउने र विक्री गरेर घर फर्किने गरेको दुख किरी साउँदलाई छ।  

यता नगर प्रमुख अमर खड्का भने कृषि एम्बुलेन्स सञ्चालन पछि तरकारी बजारमा सहज आउन थालेको दाबी गर्छन्। साउन यता ग्रामीण सडक बर्षादले बिग्रँदा गाउँमा एम्बुलेन्स जान नसक्ने हुँदा ढुवानी कार्य रोकिए पनि पिठ्युँमा बोकेर मार्तडी पुर्‍याउनु पर्ने बाध्यता हटाउनकै लागि एम्बुलेन्स सञ्चालनमा ल्याएको बताउँछन्।

‘तरकारी ढुवानीमा साना ठुला भन्ने कुरै छैन, बढी उत्पादन गर्ने किसानले नियमित एम्बुलेन्सको माग गर्लान्, कम उत्पादन हुनेलाई हप्तामा एक दिन मात्रै आवश्यक हुन सक्छ, तर कृषि एम्बुलेन्सको सेवामा सानो ठुलो र कम बढी हुँदैन’, नगर प्रमुख खड्काले भने। 

कार्यविधि नै बनाएर जाने, बर्साद पछि सडक सुधार गरेर सबैको टोल बस्ती र बारीमै पुगेर एम्बुलेन्सले तरकारी ढुवानी गर्ने दाबी खड्काको छ।  

बडीमालिकाको नौ वटै वडा कार्यालयमा सडक पहुँच पुगेको भएपनि सबै बस्तीसम्म पुग्न सकेको छैन। गाउँमा एक ठाउँमा संकलन गर्ने र एम्बुलेन्स मार्फत ढुवानी गर्ने नीति पालिकाको हो। त्यो पुरा हुन सके किसानलाई हौसला मिल्ने र उत्पादनमा वृद्धि हुने अवस्था देखिन्छ।  

प्रकाशित: १३ श्रावण २०८० ०८:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App